प्रकृति संरक्षणमा हाम्रो दायित्व

0
962

पूर्णबहादुर कटुवाल,

अनुकूलन गर्न महत्वपूर्ण भूमिका खेल्ने सिमसार क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले आज विश्वभर सिमसार दिवस मनाइँदैछ । सन् १९७१ मा इरानको रामसार शहरमा रामसार महासन्धी भएयता आजकै दिनदेखि यो दिवश विश्वभर मनाउन शुरु गरिएको हो । सन् १९८७ मा नेपाल पनि यसको सदस्य राष्ट्र भएपछि सन १९९१ देखि नेपालमा यो दिवश औपचारिक रुपमा मनाउन थालिएको छ ।

मानवजीवन प्रकृति, वातावरण, जलवायु र पारिस्थिकीय प्रणालीसँग सिमसारको अत्यन्त घनिष्ठ सम्वन्ध रहेको छ । नेपालको सीमसार नीति २०५९ ले पानी जमेको वा वगेको स्थायी वा अस्थायी प्राकृतिक रुपले बनेको दलदल क्षेत्रलाई सिमसार क्षेत्र भनि परिभाषित गरेको छ । त्यसैले प्रकृतिजन्य, दलदल,धाप, तालतलैया, पोखरी, दह, कुण्ड, नदीनाला, बाढक्षेत्र, धानखेत, घाँसे मैदान, ओसिलो जंगल क्षेत्र एवम् पानी जमेको ओसीलो मनमोहक र प्राकृतिक रुपले रमणीय स्थलहरु नै सिमसार क्षेत्र हुन् । सिमसार अत्यन्त उत्पादनशील र पारिस्थितिकीय प्रणाली हो । जलवायु, भौगोलिक स्वरुप, भू–गर्भ र जलपरिचालन लगायत भौतिक एवम् राशायनिक प्रक्रियाले सिमसारमा वनस्पति र जीवजन्तुको बढीभन्दा बढी विविधता पाइन्छ । सिमसारभित्र जल परिचालन र शुद्धिकरण प्रक्रिया निरन्तर चलिरहने हुनाले समेत मानवजीवन र जगतका लािग पनि यसको ठूलो महत्व रहेको छ ।

सिमसारले जलवायु परिवर्तन, भू–विनासको असरलाई न्यूनीकरण गरि पर्यावरणीय असर कम गर्न ठूलो मद्दत गर्छ । जैविक विविधताको दृष्टिकोणले समेत सिमसारको महत्पूर्ण स्थान रहेकोछ । अन्तर्राष्ट्रिय महत्व बोकेको, अति संकटापन्न, संवेदनशील र खतारापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय प्रणालीलाई आश्रय दिने विश्वका सिमसार क्षेत्र रामसार सूचीमा दर्ता हुनेक्रम जारी रहेको छ । हालसम्म विश्वका १६९ देशका २२२५ वटा क्षेत्र रामसार सूचीमा सूचीकृत भइसकेका छन् । यसरी दर्ता गरी संरक्षण गर्न विश्वका विभिन्न देशले आफ्नो सिमसार क्षेत्रको पहिचानलाई समेत तीव्रता दिएका छन् ।

नेपालमा हालसम्म १० वटा सिमसार क्षेत्रहरु पोखराका नौ वटा तालहरु, कोशी टप्पु वन्यजन्तु आरक्षण, घोडाघोडी ताल, माइपोखरी, गोक्यो ताल, गोसाइकुण्ड, फोक्सुण्डो ताल, रारा ताल, चितवन राष्ट्रिय निकुञ्ज, जगदीशपुर जलाशय रामसार सूचीमा सृचीकृत भएका छन् । नेपालको कूल भू–भागको पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालको तराई क्षेत्रमा १६३ र पहाडी तथा हिमाली क्षेत्रमा ७९ वटा सिमसार क्षेत्रहरु रहेका छन् ।

पछिल्लो समयमा बिना योजनाका विकास निर्माण कार्य र स्रोतमाथि अनियन्त्रित उपयोगका कारण सिमसार क्षेत्र नष्ट अुने क्रमले तीव्रता पाएको छ । अत्यधिक चरन, जथाभावी जडीबुटी संकलन, वन विनास, पानीको दुरुपयोग, फोहोरमैला, विषादीको प्रयोग आदि कारणले सिमसार क्षेत्र मासिनेक्रम बढेको छ । यसले वायु, जल र जमिन प्रदुषण समेत बढ्न गई जलवायु परिवर्तनको तीव्र प्रभाव मानव जीवनमा पर्दै आएको छ । यसका साथ विभिन्न प्रकारका चराचुरुंगी र माछाका प्रजाति समेत लोप हुने खतरा बढ्दै गएको छ । खासगरी विश्वका अति विकसित राष्ट्रबाट हुने कार्बन उत्सर्जनको प्रभाव समेत नेपाल जस्ता अल्पविकसित मुलुकमा पर्नु पनि सिमसार क्षेत्रको अप्रत्यक्षरुपमा परेको प्रभाव पनि जलवायु परिवर्तनको कारक बनेको छ ।

विज्ञान र प्रविधिको विकास र विस्तारले मानव जीवनलार्ई भौतिक रुपमा सहज बनाइदिएको छ । आधुनिकीकरण मानिसका लागि अपरिहार्य प्रक्रिया हो, तर आधुनीकिकरण र प्रत्यक्ष सम्बन्ध प्रकृतिसँग जोडिएको छ । मानिस आधुनिक जीवन पद्धतिसँगै मनोरञ्जन पनि चाहन्छ । भौतिक मनोरन्जनभन्दा प्राकृतिक मनोरञ्जन मानिसका रोजाइका विषय हुन् । मानिस आधुनिक जीवनशैलीसँग प्राकृतिक वातावरणमा समेत रमाउने हुनाले पर्यटन गर्नु, घुमफिर गर्नु, हिमाल पहाड तराई, तालतलैया, वनजंगल जीवजन्तु आदिको अवलोकन गर्नु दिनचर्या भएका छन् । अहिले विश्वमै पर्यटन पहिलो प्राथमिकतामा परेको छ । देश–विदेश घुमफिर गर्नु र भौतिक तथा प्राकृतिक वस्तुहरुको अवलोकन गर्नु हरेक मानिसको रोजाई भएको छ ।

हरेक राष्ट्रले आफ्नो पर्यटन व्यवसायलाई आर्थिक र मनोरञ्जनात्मक दृष्टिकोणले अग्रपंक्तिमा राखेर समृद्धिको सपना देखेका छन् । कमजोर बन्दै गएको विश्व जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै मानवजीवनलाई अझ सहज बनाउन विश्व समुदाय नै अग्रसर भइरहेको बेलामा पर्यावरणलाई सुरक्षित बनाउनु मानव समुदायको महत्वपूर्ण कर्तव्य भएको छ । यसका लागि पनि हरेक समृद्धि र सपना साकार पार्न पनि मानवजीवनसँग प्रत्यक्ष जोडिएको प्रकृतिलाई जीवन्त राख्न परेको छ । त्यसैले विश्व वातावरणलाई दीर्घकालीन बनाउन समेत सिमसार क्षेत्रको संरक्षण र सम्वद्र्धनमा लाग्नु पहिलो कर्तव्य भएको छ ।

सिमसार क्षेत्रको बचाउ अभियानमा मुलुक जति लागि परेको छ, यो त्यति पर्याप्त छैन । अहिलेसम्म नीति–निर्माण तहले औपचारिकता मात्र देखाएको । वातावरणको मुटु मानिने सिमसार क्षेत्रको संरक्षणमा । फेब्रुअरी २ तारिखको दिन विशिष्ट पदाधिकारीले शुभकामना दिएर र कागजीरुपमा नीति–निर्माण गरेर मात्र सिमसार दिवस मनाएको सार्थक हुँदैन । अहिलेसम्मको प्रक्रिया त्यो भन्दा माथि उठ्न सकेको छैन । कागजीरुपमा बनाइएकोे नीति–नियमले मात्र जलवायु परिवर्तनको संवाहकको रुपमा रहेको सिमासार क्षेत्र संरक्षण हुन सम्भव छैन । अनियन्त्रित रुपमा प्राकृतिक सम्पदाको दोहन भइरहेको छ । विकासका नाममा भू–क्षयीकरण भइरहेको छ । प्राकृतिक विनास भइरहेको छ । यसलाई समयमै नसोचिए भोलि विकराल दिन आउँदैन भन्न सकिँदैन ।

राज्य अहिले नयाँ परिवेशबाट अघि बढिरहेको छ । अहिलेसम्मका नीति–नियम र विनियम परिमार्जन गर्दै सिमसार क्षेत्रको संरक्षण र सम्वद्र्धनमा राज्य अघि बढ्नुको विकल्प पनि छैन । खासगरी जुन वर्ग र समुदाय सिमसार क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित छ, त्यो वर्ग र समुदायसम्म राज्य पुग्न सकिरहेको छैन । तीन वटै तहको सरकार बनेर नीति–निर्माण र कार्यान्वयनको क्षणमा रहेका अवस्थामा स्थानीय सरकारको अधिकारको कुरा मात्र होइन, प्रत्यक्षरुपमा सिमसार क्षेत्र संरक्षण अभियानमा जुट्नुपर्छ ।

स्थानीय सरकार मार्फत स्थानीय नागरिकको साझेदारीमा नै सिमसार क्षेत्रको पहिचान, संरक्षण र प्रचार–प्रसार सम्भव छ । जसले स्थानीय क्षेत्रको विकास मात्र नभई सिंगो प्रकृति प्रतिको संरक्षणको महाअभियान हुनसक्छ । यसलाई माननवजीवनको अभिन्न अंगको रुपमा लिई सिमासार क्षेत्रको परिचय, महत्व र नागरिक दायित्व विषयमा स्थानीय पाठ्यक्रममा समेत समेटिनु जरुरी छ । आजैका दिनबाट सरकारले यस विषयप्रति गम्भीर भई राष्ट्रिय अभियानमा जुट्न सकेमात्र अन्तर्राष्ट्रिय सिमसार दिवस मनाएको सार्थक हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here