अस्तित्वको आधार सिमसार

0
562

सम्पादकीय

अंग्रेजी सम्वत् अनुसार आज २०२० को फेबु्रवरी २ तारिख । आजको दिनलाई विश्व सिमसार दिवसका रुपमा मनाइन्छ । सिमसार पानी र जमिन मिश्रित दलदलयुक्त क्षेत्र हो जहाँ बाह्रै महिना पानी सुक्दैन, हिलो कायम रहन्छ । विश्वको पर्यावरणमा सिमसारको महत्वपूर्ण भूमिका रहेको छ किनकि यही क्षेत्रले पृथ्वीको फोहोर पानी र पानीमा मिसिएका रसायनलाई छानेर स्वच्छ र निर्मल बनाइ दिन्छ । त्यसैले पनि सिमसार क्षेत्रको सुरक्षा र संरक्षण पृथ्वीको पर्यावरणका लागि मात्र होइन मानव जातिको अस्तित्व रक्षाका लागि समेत आवश्यक छ ।

बढ्दो जनसंख्या र जनघनत्वका कारण सिमसार लगायतका क्षेत्रहरु अतिक्रमणमा पर्दै गएका छन् । सिमसार क्षेत्र पर्यावरणीय दृष्टिले मात्र होइन जीवनको अस्तित्व रक्षाका लागि समेत उत्तिकै महत्वको छ । किनकि विश्वभरका मानिसले बाँच्नका लागि खाने चामलको उत्पादन यही हुन्छ । सिमसार क्षेत्र नै त्यस्तो क्षेत्र हो जसले बाढी–पहिरो, अतिवृष्टि र अनावृष्टिलाई पनि प्राकृतिक ढंगले सुरक्षा प्रदान गर्छ । त्यसैले सिमसार क्षेत्र मानव जीवनको रक्षाका लागि अत्यावश्यक छ र वातावरणीय सन्तुलन कायम राख्न र मानवद्वारा उत्सर्जित प्रदुषणलाई शुद्धीकरण गर्दै पृथ्वीलाई बस्नयोग्य ठाउँ बनाउन अनिवार्य छ ।

सिमसार क्षेत्रको यही महत्वका आधारमा यसको संरक्षण आवश्यक रहेको सन् १९७१ मा रामसार महासन्धि गरिएको थियो । त्यसकै आधारमा अहिले विश्वका १६९ देशहरु सन्धिमा सामेल भएका छन् । सन् १९८७ मा नेपाल सो महासन्धिमा सामेल भएपछि सिमसारको संरक्षणका लागि पहिलोपटक वि.सं. २०५९ मा नीति निर्माण गरियो । त्यसको दश वर्षपछि सो नीतिलाई परिमार्जन र स्वीकृत गरी सिमसार क्षेत्र संरक्षणको कार्य औपचारिक रुपमै प्रारम्भ गरिएको छ । अनि पनि नेपालमा रहेका सिमसार क्षेत्रहरु अतिक्रमणको चपेटामा छन् र अस्तित्वको जोखिममा छन् ।

हाम्रा ठूला ताल र पोखरी भएको पोखरा उपत्यकामा रहेको जलाधार क्षेत्र आफै संकटमा छन् । त्यसकै उदाहरण हो कि फेवा, वेगनाश लगायतका तालतलैयाहरु वषैपिच्छे खुम्चिँदै गएका छन् । अतिक्रमणको शिकार भएका सिमसार लगायतका जलाधार र वन क्षेत्रलाई जोगाउने दूरदृष्टि नहुँदा हामी सम्पूर्ण मानव जातिको दीर्घकालीन क्षति व्यहोर्नुपर्ने निश्चित छ । भावी पुस्तालाई सुन्दर, स्वच्छ र सुरक्षित संसार हस्तान्तरण गर्नु अगुवाहरुको कर्तव्य हुनुपर्दछ । नीति निर्माणले होइन कार्यान्वयनको दृढताले मात्र दोषीलाई निरुत्साहित गर्न सकिन्छ । अन्यथा न मानव जाति रहन्छ न त साझा वासस्थान पृथ्वीको सुरक्षित हुन्छ । आजको दिनले सबैलाई सिमसार क्षेत्रको संरक्षण गर्न उत्प्रेरीत गरोस्, शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here