झापा,
सन् २००१ को सर्वेक्षणमा झापामा हात्तीपाइले रोगीको संख्या २४ प्रतिशत थियो । २०१५ को सर्वेक्षणमा यो दर घटेर ४.१६ प्रतिशतमा झरेको र सन् २०१७को तथ्याङ्क अनुसार झापामा हात्तीपाइले रोगीको संख्या २.४ प्रतिशतमा झरेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

नियमित औषधि सेवनका कारण यो रोगको संक्रमण फैलिन नपाएका कारण झापामा हात्तीपाइले रोगीको संख्या घढ्दो अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाँईले जानकारी दिए । यो वर्ष पनि माघ २५ गतेदेखि हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाइने कार्यक्रम रहेको चम्लगाँईको भनाइ छ । फागुन ५ गतेसम्म झापाका १५ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामार्फत झापाका आठलाख २६ हजार ५ जनालाई हात्ती पाइले विरुद्धको औषधि खुवाउन लागेको हो । जसका लागि जिल्लाभर ६ सय ३१ जना स्वास्थ्य स्वयम्सेविका, ४ सय १६ जना स्वास्थ्यकर्मी परिचालन गर्दै औषधि खुवाउन लागेको कार्यक्रम संयोजक चम्लागाँईले बताए ।
गत वर्ष झापामा ६ लाख ४८ हजार ५ सय ४३ जनाले हात्तीपाइले बिरुद्धको औषधि सेवन गरेका थिए । ७ लाख ४४ हजार ३ सय ५८ जनालाई औषधि खुवाउने स्वास्थ्य कार्यालयको लक्ष्य रहेकोमा ७२ प्रतिशतले औषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।
हात्तीपाइले रोग निवारणका लागि आइतवार झापाको बिर्तामोडमा भएको पत्रकार सम्मेलनमा बोल्दै जनस्वास्थ्य प्रमुख पौडेलले भने– झापामा हात्तीपाइले रोगको दर घट्दो अवस्थामा छ, यसपटक औषधि सेवन गराइसकेपछि यो रोग झापाबाट निवारण हुने अपेक्षा गरिएको छ ।
नौ लाख २० हजार ८ सय ९५ जनसंख्या मध्ये ७० वर्षभन्दा माथिका, २ वर्षभन्दा मुनिका र गर्भवती महिला तथा सात दिने सुत्केरी महिलाले यो औषधि सेवन नगर्दा पनि हुने कार्यालयका फोकल पर्सन वेदप्रसाद घिमिरेले बताए । उनले त्यस्ता व्यक्ति झापामा एक लाख १८ हजार २ सय ९० जना रहेको जानकारी दिए ।
झापामा गत वर्ष ५ सय ५४ जनामा यो रोग देखा परेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । जसमा खुट्टा सुन्निएका ३० महिला सहित ७२ जना हाइड्रोसिलका बिरामी ३ सय ७२ जना र हात तथा स्तन सुन्निने ११० जना रहेको बताइएको छ । हात तथा स्तन सुन्निने महिलाहरु ३८ जना रहेका छन् भने ७२ जना पुरुषमा पनि यो रोग देखा परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
चालू आर्थिक वर्ष हात्तीपाइले रोग निवारणका लागि झण्डै अढाई करोड रुपैयाँ झापामा खर्च हुने अनुमान गरिएको छ ।































