डाका प्रभावित क्षेत्रमा सशस्त्रको भवन

0
720

भद्रपुर ।

भारतीय डाकाको त्रासमा रहेका दक्षिणी झापाबासीलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको भवन धमाधम बन्न थालेको छ ।

प्रदेश १ नम्बर आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्राप्त बजेटबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट घेराबारी र पृथ्वीनगरमा नवनिर्मित भवनको आइतवार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल, प्रदेश १ बराह बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले उद्घाटन गरे । प्रधामन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको उपस्थितिमा सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले विओपी पृथ्वीनगरमा निर्मित तीन वटा भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले प्रदेश सरकारको बजेटबाट पूर्व क्षेत्रका सीमा नाकामा विओपी भवनको धमाधम निर्माण भइरहेको बताए । विओपी निर्माणमा जग्गा प्राप्तिको समस्या रहेको बताउँदै उनले भने– ‘विओपी निर्माण गर्नलाई स्थानीयले जग्गा उपलब्ध गराउनु भएमा सीमामा १०÷१० किलोमिटरमा विओपी स्थापना गर्न सकिन्छ ।’ विओपी स्थापनाले सुरक्षाको प्रत्याभूति स्थानीय नागरिकले गर्न पाउन सकेको उनको भनाइ छ ।

भारतीय डाका समूहको आक्रमणबाट पृथ्वीनगरको हिमालीमा एक व्यक्तिको मृत्यु भएपछि स्थानीयले सशस्त्र प्रहरीको माग गरे अनुसार साविक पृथ्वीनगर गाविस हाल भद्रपुर–१का समाजसेवी देवीबहादुर कार्कीले निःशुल्क ५ कठ्ठा र स्थानीय नागरिकको आर्थिक सहयोगमा ५ कठ्ठा गरी १० कठ्ठा जमिनमा २०७३ साल असार २९ गते सशस्त्रको एलआरपी पोष्ट स्थापना गरिएको थियो ।

२०७५ पुस ४ गते विओपीको रुपमा स्तरोन्नति भएको थियो । विओपीमा स्तरोन्नति भएपछि प्रदेश सरकारको ६८ लाख ५७ हजार ६ सय ८२ रुपैयाँमा निवास, कार्यालय, आइरन गेट र ५६ लाख ४५ हजारमा बाउण्ड्रीवाल, फेन्सिङ्ग वायर र ड्युटी पोष्ट निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक कमल थानीले जानकारी दिए । उद्घाटन कार्यक्रममा जग्गादाता देवीबहादुर कार्कीलाई कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा १ नम्बर वडाध्यक्ष दशरथ प्रधान, ३ नम्बर वडाध्यक्ष कमला थुलुङ, नेकपाका नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेस मनप्रसाद कोइराला लगायतले मन्तव्य राखेका थिए ।

उता पाँच जना जग्गादाताले आठ कठ्ठा जमिन उपलब्ध गराएपछि २०७० साल चैत २३ गते घेरावारीमा स्थापना भएको सशस्त्रको विओपीमा एक करोड ६४ लाख ७१ हजारमा निवास, अफिस, तीन वटा व्यारेक, भान्सा र ४४ लाख ७८ हजार ८ सयमा भान्सा भवन, बाउण्ड्रीवाल, फेन्सिङ्ग वायर र ड्युटी पोष्ट निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटका सशस्त्र प्रहरी निरीक्षक पर्शुराम थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here