सामुदायिक बाख्रा स्रोत विकास केन्द्रको प्रथम सभा सम्पन्न

0
879

अर्जुनधारा,

झापाको अर्जुनधारा नगरपालिकामा रहेको सामुदायिक बाख्रा स्रोत विकास केन्द्रको प्रथम साधारण सभा सोमबार सम्पन्न भएको छ ।
केन्द्रका अध्यक्ष भीमप्रसाद नेपालको अध्यक्षता र भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र झापाका प्रमुख डा.गंगाराम यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष सन्तोषकुमार राईले गरेका थिए ।


कार्यक्रममा अध्यक्ष नेपालले गत आर्थिक वर्ष ०७५÷०७६को आम्दानी–खर्च विवरणसहितको संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाले आगामी दिनमा नगर क्षेत्रभित्र सञ्चालित परम्परागत बाख्रापालन व्यवसायलाई आधुनिकिकरण गरि व्यवसायिकतातर्फ अग्रसर गराउने, उन्नत जातको बोयर बाख्रापालनलाई प्रोत्साहित गर्न बोयर जातको बोका खरिद गरि ‘प्रति गोठ एक बोयर’को लक्ष्य पुरा गर्ने, कृत्रिम गर्भाधानलाई प्रोत्साहित गरि सय प्रतिशत नश्लको व्यवस्थापन गर्ने कार्यक्रमहरु उल्लेख गरिएको छ ।

त्यसैगरि अन्य कार्यक्रमहरुमा स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरि बाख्रा संकलन केन्द्रको स्थापना गर्ने, नगरपालिकालाई बोयर बाख्रा पकेट क्षेत्रकोरुपमा अगाडि बढाउने, बाख्राहरुमा लाग्ने रोग तथा परजिवी नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने, वार्षिकरुपमा कृषकहरुलाई तीन–चार पटक बाख्रापालन सम्बन्धि तालिम तथा गोष्ठीको आयोजना गर्ने, हिँउदे, वर्षे र बहुवर्षे घाँसको बिउ विजन र बिरुवा खरिद गरि कृषकहरुलाई वितरण गर्ने तथा आफ्नै खेतबारी र कान्लामा घाँस उत्पादन गर्न प्रोत्साहन गर्नेलगायत रहेको छ ।

त्यस्तै संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी सात लाख २७ हजार ९३ रुपैयाँ ३३ पैसा, जम्मा खर्च सात लाख दुई हजार पाँच सय र जम्मा बचत २४ हजार पाँच सय ९३ रुपैयाँ ३३ पैसा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । सोही सभाको अवसरमा संस्थामा आबद्ध कृषकहरुलाई बाख्रापालन व्यवसाय सञ्चालनको लागि प्रबद्र्धन गर्न सहयोग गर्ने नगर पशपन्क्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राई र उत्कृष्ट बाख्रापालक कृषककोरुपमा अर्जुनधारा–९ आरके कृषि फर्मका सञ्चालक कमल कडरियालाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा आचार्य, सम्मानित व्यक्तित्व नगर पशुपन्क्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख राई, बाख्रा व्यवसायी संघ झापाका अध्यक्ष हर्कबहादुर तामाङ, केन्द्र अन्र्तगत रहेको कालिका बाख्रा पालन समूहकी सदस्य देवकला प्रसाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सदस्य सुबोध ढुंगेलले गरेका थिए ।
तीन वर्ष अघिदेखि सञ्चालन भई गत आर्थिक वर्षमा विधिवत दर्ता भएको संस्था अन्र्तगत हाल सात वटा समूहमा ७५ जना बाख्रापालक कृषक आबद्ध रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here