सुरेन्द्र भण्डारी
बिर्तामोड,
कृषि पेशामा आत्मनिर्भर बनाउन बिर्तामोड नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेपछि नगर क्षेत्रका कृषक अहिले कृषि कर्मप्रति आर्कषित भएका छन् ।

मेयर पकेट कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिकाले सहयोग गरेपछि अहिले विभिन्न पाँच वालीमा कृषकले ९८ विगाह क्षेत्रफलमा सामुहिक खेती शुरु गरेका छन् । बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाका अनुसार नगरको सहयोगमा आलू, राजमा, तोरी, सूर्यमुखी र फापर खेती सामुहिक रुपमा गरिएको छ । आलू दुई वटा समूहले पाँच ÷पाँच विगाह क्षेत्रफलमा लगाईएको छ भने तोरी २० विगाह क्षेत्रफलमा लगाइएको छ । त्यस्तै राजमा २२ विगह, फापर २० विगाह, सूर्यमुखी झण्डै ३० विगाह क्षेत्रफलमा लगाइएको कडरियाले बताए ।
नगरपालिकाले वीऊ र मल अनुदान दिएपछि कृषकले व्यवसायिक खेती गरेका हुन् । बिर्तामोड– ४,७ र १० नम्वर वडाका कृषकले धेरै मात्रामा सामुहिक खेती गरेको बताइएको छ ।
ननगरले साना सिँचाई कार्यक्रम अन्तरगत गत वर्ष ४२ वटा र यो वर्ष ९० वटा गरी १३० वटा मोटर वोरिङ्ग वितरण गरेको छ । यान्त्रिकीकरण तर्फ ८५ प्रतिशत लागत अनुदानमा गत वर्ष ८ वटा र यो वर्ष १० वटा गरी १८ वटा कृषक समूहलाई पावर टिलर वितरण गरेको छ ।
त्यस्तै गत वर्ष २० वटा र यो वर्ष २० वटा गरी ४० वटा समूहलाई मकै छोडाउने मेसिन वितरण गरिएको छ भने यो वर्ष १० वटा समूहलाई धान काट्ने मेसिन प्रदान गरिएको कडरियाले जानकारी दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत २ वटा समूहलाई धान पकेट कार्यक्रम, एउटा समूहलाई तरकारी पकेट कार्यक्रम र १ वटा समूहलाई कृषि फर्म च्याउ पकेट कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
मेयर विषदि मुक्त कार्यक्रममा गत वर्ष ५० जना कृषकहरुलाई र यो वर्ष ६५ जन कृषकलाई छनौट गरी विषादि रहित तरकारी उत्पादन सम्वन्धि तालिम प्रदान गरेपछि अधिकांशले च्याउ खेती शुरु गरेका छन् भने धेरैले तरकारी खेती शुरु गरेका छन् ।
कृषि प्रसार कार्यक्रम अन्तरगत पाँच÷पाँच हजार आँप, लिची , कागती, तेजपत्ता, र २० हजार फलफूलका विरुवा वितरण गरिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषदले सिफारिस गरेका विभिन्न ६ जातका ४ सय मिनी किट कृषकलाई उपलब्ध गराएको छ । नगर क्षेत्र भित्रका गत वर्ष ३ वटा र ५ वटा समूहलाई आइपीएम तालिम प्रदान गर्दै विषदि रहित तरकारी खेती तर्फ प्रोत्साहन गरिएको छ । गत वर्ष नगरमा मत्य विकास कार्यक्रम अन्तरगत २३ कठ्ठा क्षेत्रफलमा नयाँ पोखरी निर्माण गर्दै माछा पलन शुरु गरिएको छ भने एउटा माछाको भूरा उत्पादन केन्द्र र एउटा माछा विक्री स्थापना गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
नगरले सञ्चालन गरेको मेयर विषदि मुक्त कार्यक्रममा सहभागी बनेका होमप्रसाद घिमिरेले तालिम लिएर आफूले धनिया , टमाटर, रायो, बन्दा कोपी, फूल कोपी विक्री गरेर गरेर मात्रै दैनिक एक हजार रुपैयाँ आम्दानी गर्ने गरेको बताएका छन् । रेखा नगर कृषक समूहका अध्यक्ष समेत रहेका उनले आफ्नो समूहमा २० विगाह क्षेत्रफलमा सामुहिक खेती गरिएको बताए । नगरपालिकाले आफूहरुलाई कृषि पेशाका लागि चाहिने आवश्यक ज्ञान सहित प्रविधि र उपकरण दुवै दिएकाले कृषकले कृषि पेशावाट जीवन सहज बनाएको बताए ।
यता हाम्रो कृषक समूहका अध्यक्ष प्रदीप खनालले आफूहरुले पाँच विगाह क्षेत्रफलमा सामुहिक आलू खेती गरेको र यो वर्ष ९३ मन आलू रोपेको बताएका छन् । उनले एक कक्षा क्षेत्रफलमा १५ मनसम्म आलू उत्पादन गर्ने बताएका छन् । १६ जना कृषक समूहमा आवद्ध भएपनि १२ जनाले व्यवसायिक रुपमा खेती गरेको खनालको भनाई छ । ४ विगाह क्षेत्रफलमा उन्नत जातको र एक विगाह क्षेत्रफलमा स्थानीय जातको आलू लाल गुलब रोपिएको बताए ।
यता बिर्तामोड नगरपालिकाको सहयोगमा व्यवसायिक च्याउ खेती शुरु गरेका बिर्तामोड ४ का भक्तिप्रसाद तिवारीले एक विगाह क्षेत्रफलमा व्यवसायिक च्याउ खेती गरेका छन् । च्याउ खेतीवाट उनले वर्षेनि मनग्य आम्दानी गरिरहेका छन् ।































