ताप्लेजुङ।
कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवत–जावत बन्द गराएको हो ।
यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवत–जावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवत–जावतमा रोक लगाउन अनुरोध भएको उनले बताए ।
‘आफ्नो देशमा कोरोना भाइरसको संक्रमण फैलिएको र आवत–जावतका कारण अन्यत्र समेत फैलन सक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवत–जावतमा रोक लगाइ दिन भनेर रिउ प्रशासनबाट अनुरोध भएको छ र हाल आवत–जावत पनि भएको छैन’–अध्यक्ष शेर्पाले भने ।
नाका बन्द हुँदा एक÷दुई महिनासम्म कुनै समस्या नहुने तर त्यो भन्दा पछि बर्खाको समयमा पनि बन्द नै रहे समस्या हुने गाउँपालिकाका प्रवक्ता समेत रहेका शेर्पाको भनाइ छ ।
वर्र्षायामको समयमा याङ्मा, थुदाम, ओलाङचुङ्गोला र तोक्पेगालाबासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँ बजारकै भरमा रहने गरेका छन् । बर्खामा बाढीपहिरो लगायतका कारण त्यहाँका बासिन्दा सदरमुकाम फुङ्लिङसम्म आइपुग्न सक्दैनन् ।
‘अहिले सीमाक्षेत्रमा हिउँ परेकाले रिउ बजारमा ओहोरदोहोर पनि हुँदैन । तर, बर्षायाममा भने बाढीपहिरोका कारण सदरमुकाम लगायत नजिकका नेपाली बजारमा आउन जान नसकिने हुनाले सो समयमा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानका लागि रिउ बजारकै भर पर्नुपर्छ’ –प्रवक्ता शेर्पाले भने । उनका अनुसार विशेषगरी याङ्मा र थुदामका बासिन्दा बर्खाभर चिनियाँ बजारकै भरमा रहने गरेका छन् ।
सीमावर्ती क्षेत्रका बासिन्दाले रिउ बजारबाट याक र चौँरीलाई बोकाएर सामान ढुवानी गर्ने गर्छन् । आफूले उत्पादन गरेका गलैँचा लगायतका सामग्रीको मुख्य बजार रिउ नै रहेकाले र ढुवानीका हिसाबले पनि सहज हुने भएकाले रिउलाई मुख्य बजारका रूपमा लिने गरिएको बताइएको छ । सदरमुकाम फुङ्लिङबाट ओलाङचुङगोला पुग्न झण्डै दुई दिनको समय लाग्छ । यता याङ्मा, थुदाममा पुग्न भने त्यो भन्दा बढी समय लाग्छ ।































