बिर्तामोड।
टावर टेम्पल माध्यमिक विद्यालय विर्तामोड–५को आयोजनामा बुधवारबाट प्रदेश १ अन्तरविद्यालय छात्र वास्केटवल प्रतियोगिता शुरु गरिएको छ ।
विद्यालयको २३औं वार्षिकोत्सवको अवसर पारेर विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बिद्यालयका निर्देशक राजिव धिमालले जानकारी दिए ।
टावर टेम्पल माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष नरेशमान धिमालको अध्यक्षता तथा प्याव्सनका केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका खेल संयोजक विवेक धिमालले स्वागत गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल तेजप्रसाद भट्टराईले औचित्यमाथि प्रकाश पारेका थिए भने विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, अर्जुनधारा नगर खेलकुद समितिका अध्यक्ष अर्जुन मेचे, झापा बास्केटवल संघका अध्यक्ष प्रकाश लिङ्देन, नेपाल जेसीजका उपाध्यक्ष विशाल थापा, झापा जिल्ला नृत्य कलाकार संघका अध्यक्ष एलसी श्रेष्ठ, छठ समाज सेवा समितिका अध्यक्ष घनश्याम चौधरी, बिर्तामोड–६का वडासदस्य एनवीन्द्र खत्री, गौरवशाली सहकारीका अध्यक्ष लवकुमार चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष गणेशकुमार कन्दङ्वा, मिक्की कार्की, बुद्ध तामाङ, खगेन्द्र महतो, खेम अधिकारी, प्रवीन खड्का लगायतले प्रतियोगिताका खेलाडी र कोचलाई शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक यामनाथ घिमिरेले गरेका थिए ।
प्रदेश १ अन्तर बिद्यालय छात्र वास्केटवल प्रतियोगितामा झापा र सुनसरीका गरी छ वटा विद्यालयको सहभागिता रहेको खेल संयोजक विवेक धिमालले जानकारी दिए । प्रतियोगितामा झापाका टावर टेम्पल माध्यमिक विद्यालय, बाल्मीकि एजुकेशन फाउण्डेशन, लिटल फ्लावर्स स्कूल, तारापुञ्ज इङ्लिस स्कूल, देवी मावि र डिपोट इङ्लिस स्कूल धरानको सहभागिता रहेको उनले बताए ।
प्रतियोगिता अन्तर्गत बुधवार टावर टेम्पल माध्यमिक विद्यालय र तारापुञ्ज इङ्लिस स्कूल वीच भएको खेलमा टावर टेम्पल विजयी भएको थियो भने लिटलफ्लावर्स स्कूल र देवी माविबीच भएको अर्को खेलमा लिटल फ्लावर्स स्कूल बिजयी भएको खेल संयोजक विवेक धिमालले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत विहीवार पहिलो खेल देवी मावि र डिपोट इङ्लिस स्कूल र अर्को खेल टावर टेम्पल माध्यमिक विद्यालय र वाल्मीकि एजुकेशन फाउण्डेशनबीच हुने उनले बताए । प्रतियोगिताको फाइनल आगामी माघ २९ गते गरिने र त्यही दिन सांस्कृतिक कार्यक्रम समेत गरिने बिद्यालयका निर्देशक राजीव धिमालले जानकारी दिए ।


























