दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि शनिश्चरे माविलाई

0
928

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयले महारानीगञ्ज बाल क्लबद्वारा आयोजित दोस्रो वडाध्यक्ष कप नगर विद्यालयस्तरिय फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयको ६२औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा अर्जुनधारा–६स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई ४–० गोलले पराजित गर्दै शनिश्चरे माविले उपाधि जितेको हो ।

शनिश्चरेको जितको लागि खेलको पहिलो हाफ र दोस्रो हाफमा समान २–२ गोल भएको थियो । खेलको ५औँ मिनेटमा दिपेश रायाले, १०औँ मिनेटमा निखिल तामाङले, ३४ औँ मिनेटमा पुजन श्रेष्ठले र ४४ औँ मिनेटमा केशव खतिवडाले गोल गरेका थिए ।

प्रतियोगिताको बेस्ट डिफेन्स मनिष मगर(शनिश्चरे मा.वि.), बेस्ट गोलकिप्पर सन्दीप लिम्बू(शनिश्चरे मा.वि), बेस्ट फरवार्ड सागर मगर(लक्ष्मी मा.वि.), राइजिङ प्लेयर राकेश चौधरी(महारानीगञ्ज मा.वि.) र म्यान अफ दी म्याच निखिल तामाङ(शनिश्चरे मा.वि.) घोषित भएका थिए ।

प्रतियोगिताको विजेता र उपविजेता हुने विद्यालयले क्रमश नगद पुरस्कार १५ हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । क्लबकी अध्यक्ष सलमा भारतीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख आतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, उपाध्यक्ष मनेष दाहाल, अर्जुनधारा–११ वडा समितिका अध्यक्ष भैरवबहादुर खड्का, वडा खेलकुद विकास समितिका संयोजक मोसेस खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहीतमान ढकाललगायतले उक्त पुरस्कारहरु प्रदान गरेका थिए ।

वार्षिकोत्सव अन्र्तगत तीन दिनसम्म सञ्चालन भएको सदनस्तरिय प्रतियोगिताको विभिन्न विधाका विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक मनबहादुर लिम्बूले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here