खुल्ला मैदानमा दिसा गर्नेको नाम वडाले टाँसेपछि…

0
908

आत्माराम राजवंशी / गौरीगञ्ज।

गौरीगञ्ज गाउँपालिका वार्ड नं. ४ ले खुल्ला मैदानमा दिसा गर्ने घरधुरीको नाम वडा कार्यालयमा टाँस गरी सार्वजनिक गरेको छ ।

कार्यालयले चर्पी भए पनि चर्पीमा घेराबेरा नभएका र चर्पी भएर पनि खुल्ला मैदानमा शौच गर्ने घरधुरीको नामावली कार्यालयमा टाँस गरेको हो । कार्यालयले आफ्नो वडाका वडाबासीहरूलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने बेलामा चर्पी नभएका घरधुरीको यकिन गरी चर्पी बनाउने सामग्रीहरु विपन्न तथा दलित धरधुरीलाई निःशुल्कमा वितरण गरेको थियो ।

तर, चर्पी निर्माण गर्न वितरण गरिएका सामग्रीहरू रिङ्ग, पाइप र पेना वार्ड कार्यालयबाट विपन्न तथा दलित घरधुरीले निःशुल्कमा लगे पनि उनीहरूले उपयोग नगरी चर्पी कतिपयले बनाएका छैनन् भने कतिपयले चर्पी बनाए पनि खुल्ला मैदानमा शौच गर्दै आएका छन् । वार्ड कार्यालयले चर्पी नभएका, चर्पी भए पनि घेराबेरा नभएका र चर्पी भएर पनि खुल्ला मैदानमा शौच गर्ने करिब दुई सय ५० घरधुरीको नामावली कार्यालयको भित्तामा टाँस गरेको छ । सरकारी तथ्यांक अनुसार वार्ड नं. ४ मा एक हजार ५० घरधुरी रहेका छन् ।

यस वार्डमा राजवंशी, ताजपुरिया, गिरी, महतो, सतार, गन्गाई, माली, मुसहर समुदायका मानिसहरूको बसोबास रहेको छ । गौरीगञ्ज गाउँपालिकालाई खुल्ला दिसामुक्त गाउँपालिका घोषणा गरिसकिएको छ । त्यसका लागि लाखौ रूपैयाँ गाउँपालिकाले खर्चेको थियो । तर, अहिले पनि गौरीगञ्जका अधिकांश ग्रामीण क्षेत्रका व्यक्तिहरूले खुल्ला मैदानमा शौच गर्नुले घोषणा केवल घोषणामा मात्र सिमित भएको यो तथ्यांकले देखाएको छ ।

वार्ड नं. ४ का वडाध्यक्ष कुलप्रसाद गिरीका अनुसार चर्पी नभएका विपन्न तथा दलित घरधुरीलाई निःशुल्कमा र आर्थिक सम्पन्न भएका घरधुरीलाई आर्थिक हैसियत बुझेर पाँच सयदेखि एक हजार रूपैयाँमा रिङ्ग, पेना र पाइप वितरण गरेको वार्ड अध्यक्ष गिरीले बताए । ‘खुल्ला मैदानमा दिसा गर्ने घरधुरीको नामावली टाँस गरेका छौं । यसले केही सुधार ल्याउँछ कि भनेर वैज्ञानिक विधि अपनाएको हो ।’ –वडाध्यक्ष गिरीले भने– ‘जुन घरधुरीका मानिसले चर्पी बनाएको र चर्पीभित्र शौच गरेको भनेर प्रमाणित भएपछि नामावलीबाट उनीहरूको नाम काट्ने गरेका छौं ।’

सबै घरधुरीमा शौचालय निर्माणका लागि कार्यालयले छ लाख रूपैयाँ बजेट खर्च गरेको थियो । तर, निःशुल्कमा शौचालयका लागि रिङ्ग, पेना र पाइप वितरण गरे पनि उपयोगमा नआएको वडा अध्यक्ष गिरीले दुखेसो व्यक्त गरेका छन् । चर्पी निर्माण भए पनि घेराबेरा नभएका, चर्पीमा दाउराका लागि गोइठा, सुन्ठी, पराल राख्ने गरिएको पाइएको छ । विराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोडले गरेको एक सर्वेक्षण अनुसार गौरीगञ्ज गाउँपालिकामा एक हजार चार सय घरधुरीले बच्चाको दिसा बाहिर फ्याक्ने गर्छन् ।

त्यसैगरी प्रयोगमा नभएका चर्पी एक सय ७९ घरधुरी, एकल चर्पी हुन बाकी घरधुरी एक हजार एक सय २९ घरधुरी, हात धुने ठाउँ नभएको घरधुरी तीन हजार ३०, हात धुने सामग्री नभएका घरधुरी तीन हजार आठ सय ४० घरधुरी, र स्यानटरी प्याड बाहिर फ्याँक्ने घरधुरी चार हजार नौ सय ६१ छन् । विश्व स्वास्थ्य संगठनको विगतको रिपोर्ट अनुसार नेपालमा घरको भान्साको धुँवाबाट सिर्जित रोगहरूबाट बर्षेनि १७ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक रहेको छ ।

यसैबीच खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माणका लागि योजना कार्यशाला गोष्ठी गौरीगञ्जमा सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको पालिकास्तरीय कार्यक्रमको सहजीकरण विराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोडले गरेको थियो । अध्ययन केन्द्रका विनोद शर्माले गौरीगञ्जमा खानेपानी सरसफाई तथा स्वच्छता योजनाका लागि अपनाउनुपर्ने रणनीति, योजना र कार्यान्वयनका विषयमा सहभागीलाई जानकारी गराएका थिए । उनले गौरीगञ्जलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरे पनि सरसफाई तथा स्वच्छताको त्यो पहिलो चरण मात्र पार गरेको बताए । कुनै पनि फोहोर मानिसको शरीरमा प्रवेश नहोस् र त्यसलाई सही तरिकाबाट व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए ।

घरको भान्छाको धुँवाबाट सिर्जित रोगहरूबाट विश्व स्वास्थ्य संगठनको विगतको रिपोर्ट अनुसार नेपालमा बर्षेनि १७ हजार मानिसको मृत्यु हुने गरेको सहजकर्ता शर्माले बताए । चर्पी सँगै साबुन पानीले हात धुने, पानीको शुद्विकरण, पानीको धारा सफा, सुरक्षित खाना र पानी, भाँडा धोएपछि सुकाउने व्यवस्थित र सुरक्षित चाङको विषयमा उनले जानकारी गराएका थिए ।

कार्यक्रममा वयस्कको दिसाभन्दा बच्चाको दिसा बढी हानीकारक हुने र बच्चाको दिसामा ब्याक्टेरिया बढी हुने भएकोले बच्चाको दिसाको उचित व्यवस्थापन गर्न जरूरी रहेको बताइएको थियो । पानीलाई शुद्विकरण गरि पिउने मानिस ३ प्रतिशत मात्र भएको जानकारी दिँदै सहजकर्ता शर्माले हातलाई चर्पी जाँदा, खाना खानुअघि र पछि, फोहोर वस्तु फालिसके पछि साबुनपानीले हातलाई राम्री धुनुपर्ने बताएका थिए । कार्यक्रममा घरायसी सरसफाई, वातावरणीय सरसफाई, फोहोर सरसफाई, संस्थागत सरसफाईलाई विशेष ध्यान पु¥याउनुपर्ने बताउँदै सहजकर्ता शर्माले करेसाबारी, बगैंचा, घर बगैंचाको सुरक्षा र सौन्दर्यकरण गरी चिटिक्क घर बस्ती निर्माण गर्न सानो प्रयासले सफलता मिल्ने बताएका थिए ।

गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत गरेको कार्यक्रममा वार्ड नं. ३ का वडाध्यक्ष मखना महतो, वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरी, ५ का अध्यक्ष विजय सिंह, ६ का अध्यक्ष बद्रीनारयाण यादव, कार्यपालिका सदस्यहरू राधा अधिकारी, लीला गन्गाइ लगायतको सहभागिता रहेको थियो । यसप्रकारको पूर्ण सरसफाई अभियान झापाको गौरीगञ्जमा पहिलो पटक गर्न लागिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here