अधुरो काम पूरा गर्न किरात महोत्सव

0
286

भद्रपुर।

निर्माणाधीन भवनको अधुरो काम सम्पन्न गरी उद्घाटन गर्ने उद्देश्यले झापाको सदरमुकाम भद्रपुरमा किरात महोत्सव हुन लागेको छ ।

भद्रपुर–८ स्थित किरात कोलोनीमा रहेको किरात कल्याण समिति भद्रपुरले १०औं किरात महोत्सव आज शनिबारदेखि लगाउने भएको छ । किरात समुदायले मनाउने विशेष पर्वको उधौंलीको उपलक्ष्यमा किरात महोत्सवको आयोजना गर्दै आइरहेको छ ।

आफ्नो भेषभुषा, कला, संस्कृतिको जर्गेनासहित किरात सामुदायिक भवनको अधुरो निर्माण पूरा गर्ने उद्देश्यले १५ दिने महोत्सवको आयोजना गर्न लागेको समितिले शुक्रवार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । किरात महोत्सवबाट संकलित रकमबाट करिब दुई कठ्ठा जमिनमा किरात सामुदायिक भवनको निर्माण शुरु गरेको आयोजक समिति तथा भद्रपुर–८ नम्बर वडा अध्यक्ष गौरव सुब्बाले बताए ।

निर्माण शुरु भएपछि सांसद कोष, विभिन्न सरकारी निकाय र दाताबाट एक करोड ३० लाख संकलन गरेर भवन बनाए पनि सो भवनको अधुरो काम सम्पन्न नहुँदा उद्घाटन गर्न नसकेको उनले बताए । यस बर्षको किरात महोत्सवबाट संकलित रकमबाट तीन तले भवनको अधुरो काम पूरा गरी उद्घाटन गर्ने उनको भनाइ छ ।

२०६२ सालदेखि भद्रपुरमा किरात महोत्सवको आयोजना गर्दै आइरहेको समितिका संयोजक डिकबहादुर लिम्बूले जानकारी दिए । शनिबार किरात समुदायका अग्रज व्यक्तिबाट उद्घाटन गर्दै महोत्सव शुरु हुनेछ । महोत्सवमा विभिन्न प्रकारका स्टल, किरात समुदायको संस्कृतिसंग जोडिएका प्राचीन सामग्रीहरुको प्रदर्शनी, विभिन्न खेल तमासा, हाउजी आदि रहनेछन् ।

साथै नेपालका राष्ट्रिय कलाकार प्रमोद खरेल, हास्य कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस सुन्तली लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने संयोजक लिम्बूले बताए । महोत्सवमा चार लाखभन्दा बढी खर्च हुने सो रकम विभिन्न प्रायोजक संस्था, व्यापारी संघसंस्था, स्टल बिक्रीबाट संकलन गरिनेछ । महोत्सवबाट ५ लाखभन्दा बढी फाइदा हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here