बिर्तामोड ।

झापा जिल्ला सहकारी संघको २३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष गीता कुँवरले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, राष्ट्रिय सहकारी वैंकका लेखा संयोजक लक्ष्मी उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्यमा निर्वाचित घनश्याम अधिकारी, राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा निर्वाचित मिनराज कँडेल र राष्ट्रिय सहकारी महासंघको प्रदेश १ को सञ्चालक सदस्यमा निर्वाचित झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०७६ असार मसान्तसम्ममा संस्थामा ५ सय ४ संघ÷संस्था आवद्ध,संस्थाको शेयरपुँजी २ करोड ३० लाख १० हजार, निक्षेप १५ करोड १५ लाख ८३ हजार १ सय ५९ रुपैयाँ ५८ पैसा , कर्जा लगानी १३ करोड २९ लाख ५५ हजार ३ सय ९७ रुपैयाँ ४७ पैसा , संघको भद्रपुरमा ३ कठ्ठा १८ धुर र बिर्तामोडमा एक बिगाह ४ कठ्ठा १.७५ धुर गरी ६ करोड ५० लाख रुपैयाँ मूल्य वरावरको जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा लेखासमितिका संयोजक भलकाजी कठेतले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले संस्थाको विनीयम संसोधन गरेको थियो भने निर्वाचन निर्देशिका समेत पारित गरेको झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले बताए ।
संस्थाले संसोधित विनीयम सहकारी विभागको रजिष्टारले स्वीकृत गरेपछि संस्थाको नयाँ कार्यसमितिको निर्वाचन गरिने उनले बताए । संस्थाले कार्यसमितिको निर्वाचनका लागि अधिवक्ता देवेन्द्र भण्डारीको संयोजकत्वमा पत्रकार सन्तोष आचार्य , सहकारीकर्मी खोम वगाले सदस्य रहेको निर्वाचन समिति गठन गरिएको उनले बताए ।
कार्यक्रमको सञ्चालन झापा जिल्ला सहकारी संघका सचिव ढकालले गरेका थिए ।































