घुम्ती सेवाबाट खाद्यान्न बिक्री गर्दै कम्पनी

0
710

काठमाडौँ,

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न र इन्डक्सन चुलोको बिक्री गर्नका लागि घुम्ती सेवा सञ्चालन गरेको छ ।

उपत्यकाका उपभोक्ताको घरघरमा सेवा पु¥याउने उद्देश्यले घुम्ती सेवा सञ्चालन गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । घुम्ती सेवाका लागि एक भ्यान र एक ट्रकमा खाद्यान्न र इन्डक्सन चुलो लिएर उपत्यका विभिन्न ठाउँमा जाने गर्दछन् ।

नायब महाप्रबन्धक खनालले घुम्ती सेवाबाट उपभोक्ताले घर आगनमै खाद्यान्न किन्न पाएको र बजार जान झन्झट हटेको बताउनुभयो । ‘‘हामीले उपभोक्ताको हितलाई ध्यानमा राखेर घुम्ती सेवा सञ्चालन गरेका हौँ’’, उहाँले भन्नुभयो, ‘‘सेवाबाट उपभोक्ताले सहुलियत दरमा घर अगाडि खाद्यान्न पाइरहेका छन् ।’’

उहाँका अनुसार घुम्ती सेवा सञ्चालन गर्दा उपभोक्ताको आकर्षण बढेकाले थप दुई नयाँ भ्यान किन्ने तयारीमा रहेका छ । सार्वजनिक बिदाको दिनबाहेक सबै दिनमा घुम्ती सेवा सञ्चालन हुने गर्दछ । कुन ठाउँमा कहिले खाद्यान्न लिएर जाने भन्नेबारेमा जानकारी गराउन सर्वसाधारणलाई अघिल्लो दिन नै विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने नायब महाप्रबन्धक खनालले बताउनुभयो । घुम्ती सेवाबाट दैनिक ९० हजार बरावरको खाद्यान्न र इन्डक्सन चुलो बिक्री हुनेगरेको बताइएको छ ।

खाद्यान्नमा चामल, दाल, चिनी, गेडागुडी रहेका छन् । कम्पनीले अहिले रामशाहपथ, थापाथली र ललितपुरको नख्खुमा बिक्री केन्द्र राखी खाद्यान्न बिक्री गर्दै आइरहेको छ । नायब महाप्रबन्धक खनालले उपत्यकामा थप तीन ठाउँमा बिक्री केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुर, बुढानिलकण्ठ र कलङ्कीमा बिक्री केन्द्र स्थापना चाँडै गरिने छ । कम्पनीले चाडपर्वको समयमा सहुलियत दरमा खाद्यान्न, खसी, बोका र च्याङग्रा उपलब्ध गराउँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here