पार्थ मण्डल / भद्रपुर।

भद्रपुरस्थित मेची पुलहुँदै हुलाकी राजमार्ग जोड्ने नेपाल तर्फको एप्रोच रोड (कालोपत्रे सडक) निर्माण कार्य बल्ल सुरु भएको छ ।
करिब डेढ वर्षअघि ठेक्का लागि सकेका एप्रोच रोडभित्र पर्ने भौतिक संरचनासहित जमिनको मुआब्जा माग्दै स्थानीयवासीले अवरोध गरेका थिए ।
संर्घष समिति गठन गरी स्थानीयले अवरोध गरेपछि भद्रपुर नगरपालिका, ५ नम्बर वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय झापा र स्थानीय राजनीतिक दलको संयुक्त पहलमा स्थानीयले एप्रोच रोड बनाउन एक बुँदे निर्णयमा सहमति जनाएपछि शनिवारदेखि निर्माण कार्य सुरु भएको हो ।
निर्माण कम्पनीले झापा चोकदेखि निर्माण कार्य सुरु गरिसकेको भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए । मेची पुलदेखि पुरानो माछा हटिया, बसपार्क हुँदै झापाचोक जोडने हुलाकी राजमार्ग सम्मको कालोपत्रे सडक विस्तारका लागि हुलाकी राजमार्ग निर्देशनालय काठमाडौँले टेन्डर आव्हान गरी २०७५ असार २८ गते ठेक्का लगाएको हो ।
१२९० मिटर सडक निर्माणका लागि करिब साढे ५ करोडमा याक्थुम्हाङ निर्माण सेवा पाँचथरले ठेक्का लिएको हो । ठेक्का लागेको सडक साढे ७ मिटरको निर्माण हुने जनाइएको छ । हुलाकीले सडक विस्तार गर्दा दायाँबायाँ १५(१५ मिटर र थप ६(६ मिटर साइट ब्याक अप हुनुपर्छ भनी राजपत्रमै सूचना प्रकाशित गरिसकेको छ ।

सडक देखि २१ मिटर जमिन स्थानीयले छाड्नु पर्ने अवस्था सृजना भएपछि सो सडक निर्माणमा विवाद बढेको थियो । २१ मिटर जमिन छाड्दा पनि सरकारले उचित क्षतिपूर्ति नदिने भएपछि सडक आसपासका स्थानीय आन्दोलित बन्दा डेढ वर्षदेखि निर्माण कार्य ठप्प बनेको थियो । गत २०७५ साल माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मेची पुलको उद्घाटन गरे पनि हालसम्म पुल जोडने दुवै तर्फको एप्रोच रोड बनेको छैन ।
यस्तो भयो सहमति
जिल्ला प्रशासन कार्यालय झापामा माघ २४ गते भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठको उपस्थितिमा मेची पुलदेखि झापा चोक जोड्ने हुलाकी राजमार्ग निर्माण सम्बन्धमा सरोकारवाला र स्थानीय बिच भएको एक बुँदे सहमति अनुसार नगरपालिकाको पाँचौँ नगर सभाको निर्णय बमोजिम झापा चोकदेखि शोभा श्रेष्ठको घर सम्मको सडक निर्माण गरिने खण्डमा सडकको केन्द्रबाट दायाँ बायाँ २५(२५ फिटभित्र पर्ने भौतिक संरचनाको क्षतिपूर्तिको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने र सो सडक खण्डको निर्माण कार्य सुचारु गर्ने निर्णय गरिएको छ ।
उक्त बैठकमा भद्रपुरका मेयर श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर माधव पौडेल, लेखा अधिकृत हृदय नारायण शाह, झापा उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठ, संर्घष समितिका संयोजक इन्द्रकान्त झा, अनिलाल मेचे, जीवनकृष्ण घोष, जोसेफ श्रेष्ठ, मोहन गुप्ता, राजेन्द्र महतो, झोलाप्रसाद साह, दुर्गाप्रसाद गौतम लगायतले सहमतिमा हस्ताक्षर गरेका छन् ।
यस्तो छ नगरपालिकाको निर्णय
माघ १९ र २० गते बसेको भद्रपुर नगरपालिकाको पाँचौँ नगर सभाले पारित गरेको निर्णय अनुसार झापा चोक देखि मेची पुल जोडने सडक खण्ड गत आर्थिक वर्ष ०७५।०७६ मा ठेक्का लागि सडक निर्माण कार्य सञ्चालन गर्ने क्रममा स्थानीयले सङ्घर्ष समिति गठन गरी अवरोध सृजना गरेकोले निर्माण कार्य रोकिएको हुँदा सो क्षेत्रमा ५० फिट चौडाइ र थप सेड ब्याक ५-५ फिट गरी जम्मा ६० फिट कायम गरी हुलाकी परियोजना कार्यालयलाई सो अनुसार निर्माण गर्न जानकारी गराउने र शोभा श्रेष्ठको घर पश्चिम सिकन्दर मार्केट हुँदै बसपार्क छेउ, झापा चोक सम्म हुलाकी सडक कायम गर्न र सोको डिपिआर गरी हुलाकी सडक अधिकार क्षेत्रकै सडक निर्माण र मुआब्जाको व्यवस्थापन समेत गरिदिन हुन सङ्घीय सरकारमार्फत सम्बन्धित कार्यालयहरूमा अनुरोध गर्ने निर्णय भएको ५ नम्बर वडा अध्यक्ष कार्कीले जानकारी दिए ।































