लक्ष्मीपुर ।
अर्जुनधारा नगरपालिकामा युवराज पाण्डेको अध्यक्षतामा माछापालक कृषक समूह गठन गरिएको छ । पशुपंक्षी,मत्स्य तथा कछुवा विकास कोषको संयोजनमा भएको कार्यक्रममा नगरपालिकाका शाखा प्रमुख पदमलाल राईको अध्यक्षता भएको थियो ।
पाण्डेको अध्यक्षतामा गठन भएको सो समूहको सचिवमा डेगनाथ खतिवडा, कोषाध्यक्षमा जागिरमान राई, सदस्यहरुमा डम्वार चौधरी, किशोर बजगाई, राजु सापकोटा, तुलसा सेढाई, चेतराज सापकोटा र विकास खतिवडा रहेका छन् । २०३५, ३६ सालदेखि नै अर्जुनधारा नगरपालिकाभित्र माछा पालन भइरहेपनि व्यावसायिक र संगठित रुपमा कुनै पनि फर्म संचालन भएका थिएनन् ।
हाल दुईदर्जन बढि माछा फर्म रहेको नगरपालिकामा पहिलोपटक माछापालक कृषकहरु संगठित भएका हुन् । माछा पालक कृषक संगठित भएपछि बसेको समूहको पहिलो वैठकले अर्जुनधारा नगरपालिकालाई विज्ञ केन्द्रमार्फत माछा पकेट क्षेत्र(मत्स्यजोन) घोषणा गर्नको लागि प्रकृया अघि बढाउने, विधान निर्माण गर्ने, माछापालक कृषकको लागि सम्वन्धित निकायसंग तालिम माग गर्ने, मुलुकका व्यावसायिक माछा फर्मको अवलोकन भ्रमणमा आफ्ना सदस्यहरुलाई लैजाने, माछा ल्यावको व्यवस्थापन गर्ने, उत्पादन वजारीकरणको प्रवर्धन गर्ने लगायतका निर्णय गरिएको समूहका अध्यक्ष पाण्डेले जानकारी दिए ।
अहिलेसम्म झापामा हल्दीवारी गाउँपालिका, गौरादह नगरपालिका र कचनकवल गाउँपालिका माछा पकेट क्षेत्र घोषणा भइसकेका छन् । नेपाल सरकारको उपसचिवपदवाट सेवानिवृत्त भएका पाण्डे हाल अर्जुनधारा ५, लक्ष्मीपुरस्थित चाँदनी बहुमुखि कृषि फर्मका संचालक रहेका छन् । यसै ववर्षदेखि उनले माछापालन व्यवसाय शुरु गरेका हुन् । तीनवटा पोखरीबाट उत्पादन शुरु गरेका उनले पहिलो पटकममा सातहजार केजी माछा विक्रि गरिसकेका छन् ।































