धारापानीमा औद्योगिकग्राम स्थापना हुने : स्थानीयवासी खुशी

0
870

 डोटी, 

जिल्लाको दक्षिणी क्षेत्रको जोरायल गाउँपालिकामा औद्योगिक क्षेत्र बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् ।

मन्त्रिपरिषद् बैठकले डोटीको जोरायल गाउँपालिका–२ धारापानी क्षेत्रमा औद्योगिकग्राम स्थापना गर्ने निर्णय गरेपछि यहाँका स्थानीयवासीमा खुशीयाली छाएको हो । जोरायल गाउँपालिका–२ धारापानीका तीर्थ भण्डारीले भन्नुभयो, “सरकारले हाम्रो गाउँपालिकामा औद्योगिकग्राम खेल्न गरेको निर्णय स्वागतयोग्य छ, हामी खुशी भएका छौँ ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न १० स्थानीय तहलाई औद्योगिकग्राम घोषणा गर्न मन्त्रिपरिषद्मा केही समय पहिले प्रस्ताव पठाएको र सोमबार बसेको बैठकले पाँच स्थानीय तहलाई औद्योगिकग्राम बनाउने निर्णय गरेको थियो । त्यस्तै सरकारले यसै आर्थिक वर्षमा देशका ७० स्थानीय तहमा औद्योगिकग्राम घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

यसअघि प्रदेश १ मा एक, प्रदेश नं २ मा तीन, वाग्मती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा ११, प्रदेश नं ५ मा सात, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा तीन औद्योगिकग्राम घोषणा गरिसकेको छ । सबै स्थानीय तहमा औद्योगिकग्राम बनाउने योजना रहेको बताइएको छ ।

यसअघि सरकारले ३२ स्थानीय तहलाई औद्योगिकग्राम बनाउन घोषणा गरी रु २९ करोड ४४ लाख हस्तान्तरण गरिसकेको छ । जोरायलमा औद्योगिकग्राम स्थापना गरिए जिल्लाभरिका स्थानीय गाउँमै रोजगारी पाउनुका साथै औद्योगिक क्षेत्रमा जिल्लाले नै फड्को मार्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “औद्योगिक ग्राम खुले जिल्लाको विकासमा ठूलो सहयोग पुग्ने छ, सबैले घरैमा रोजगारी पाउनेछन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here