बागलुङ,
बागलुङ नगरपालिका–३ ले वडाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ । तीन ‘ह्वीलचियर’, पाँच ‘कमटट्वाइलेट’, दुई ‘ब्लाइण्ड स्टिक’ र चार ‘डिसेवल स्टिक’ प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा सघाउन सहायता सामग्री वितरण गरिएको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो । वडाले चालू आवमा रु ५० हजार बजेट सो कार्यमा विनियोजन गरेको थियो ।
सहायता सामग्रीको सहयोगबाट अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने, शौचालय जान नसक्ने र न्यून दृष्टि भएका व्यक्तिले लाभ लिएका छन् । वडा कार्यालयबाट सहायता सामग्री पाएपछि अपाङ्गता भएका व्यक्ति खुशी छन् ।































