झापा।
सरकारी छाप किर्ते गरेर अवैध रुपमा कारोबार गर्नेहरु धमाधम पक्राउ परिरहेका बेला सर्वोच्च अदालतको ‘लेटर प्याड’ नै किर्ते गरेर सार्वजनिक जग्गा अर्कालाई बेच्न लागेका तीन जना पक्राउ परेका छन् ।
‘लेटर प्याड’ नै किर्ते गरेर सार्वजनिक जग्गा प्रधुम्नराज पाण्डेको नाममा कायम गर्ने कार्यमा संलग्न रहेकामध्ये प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये बाराको महागढीमाई नगरपालिका–३का ४३ वर्षीय वहाव अन्सारी किर्ते कागजपत्रसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
अन्सारी गएको स्थानीय तहको निर्वाचनमा महागढीमाई नगरपालिका–३मा तत्कालीन एमाओवादीतर्फबाट वडाध्यक्षको उम्मेदवारमा उठेका थिए । स्थानीय तहमा माओवादीका नेतासमेत रहेका अन्सारी सार्वजनिक जग्गा पाण्डेको नाममा कायम गर्ने शुरुवाती वारेस अधिकृत समेत रहेको इप्रका सिमराले जनाएका छ । ठूलो भू–माफियाको संग्लनता रहेको सो किर्ते अभियानमा अन्सारीसहित ठूलो समूहको सहभागिता रहेको आशंका प्रहरीले गरेको छ ।
पक्राउ परेका अन्सारीलाई प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरेको छ भने पक्राउ परेका अन्य दुई जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । यसअघि माघ २० गते मालपोत कार्यालय सिमराले इप्रका सिमरालाई पत्र पठाएर प्रधुम्नराज पाण्डेले सर्वोच्च अदालतबाटै किर्ते पत्र बनाएर सार्वजनिक जग्गा भोगचलन गरिरहेकोले सर्वोच्चको अभिलेख शाखाको पत्र किर्ते भएको सर्वोच्च अदालतबाटै ठहर भइसकेकाले सो विषयमा छानबिन गरी कानून बमोजिम कारवाही गर्न मालपोतले प्रहरीलाई पत्र पठाएको थियो ।
इप्रका सिमराका प्रमुख तथा प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले प्रहरीले सरकारी कागजपत्र किर्ते गर्ने अन्यको पनि खोजी गरिरहेको बताए ।































