युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक

0
462

सम्पादकीय

चट्टानमा पनि सृजना हुन्छ भनिन्छ । सृजनाका लागि माटो, पानी, हावा र कर्मठता चाहिन्छ । तर, प्रकृतिले यी सबैको अनुपस्थितिमा पनि सृजना गर्न सक्छ जुन चट्टानमा उम्रिएको र हुर्किएको पीपलले प्रमाणित गर्छ । हाम्रा पूर्वजहरुले बाँच्नका लागि नभइ नहुने खाद्यवस्तको उत्पादनमा सर्वाधिक जोड दिएका थिए । त्यहीकारण पनि हुन सक्छ नेपाल कृषि प्रधान देश भनिएको । तर, आज कृषि प्रधानता हाम्रो विशेषताबाट अलग हुँदै गएको छ । युवाशक्तिको अभावमा घट्दो कृषि कर्मले परनिर्भरता बढाउँदैछ । प्रत्येक वर्ष परनिर्भरताको सूचक उकालो लागीरहेका बेला सरकार भने कृषि पेशालाई व्यावसायिक बनाउन उन्मुख छ ।

देशका सक्षम जनशक्ति आर्थिक विकासकै निम्ति विदेश पलायन हुँदै छन् । पछिल्लो समय त्यही समूहले भित्र्याउने विप्रेषणले मुलुकको अर्थतन्त्र धानेको छ । उद्योगीहरु निराश छन्, रहेका युवाशक्ति ऐन–कानून, प्रणाली र पद्धतिको चक्रब्यूहमा फस्न चाहिरहेका छैनन् । थोरै ऊर्जा बोकेका किसानहरु उत्पादित वस्तुले बजार नपाएर अनि पाउँदा पनि लागत मूल्य नबोकेर हैरान छन् । व्यावसायिकताका लागि अनौपचारिक ढंगले गरिएको चक्लाबन्दी र नगदे तथा बेमौसमी खेतीले कतै आशा जगाए पनि समग्रमा राष्ट्रिय जीवन गतिशील हुन सकेको छैन । यस्तै विषम परिस्थितिका बीच जसोतसो चलेको नेपाली जीवनमा आशा, भरोसा जगाउने कुशल र सक्षम नेतृत्व चाहिएको छ । जसले समाजमा व्याप्त निराशालाई हटाउन र विश्वासको सञ्चार गर्न सकोस् ।

अवसर र उपयुक्त वातावरण नपाएर विदेशिएको भन्ने नेपाली युवा शक्तिको मानसिकतालाई बिर्तामोडमा आएर करोड कमाउने भारतीय उदाहरणले बदल्नुपर्छ । सडकपेटीमा बदाम बेचेर चार महिनामा करोड कमाउने उनीहरुको सिप त दक्षता ‘पैंचो’ लिनु पर्छ । काँचो बदाम सडकमै भुटेर बेच्न प्रत्येक वर्ष भारत सुल्तानगढबाट आएका पच्चीस जना युवाले चार महिना मै वर्षभरिको खर्च जुटाउँछन् । यसले गरे हुन्छ र सृजना जहाँ जस्तै चट्टान फुटाएर पनि गर्न सकिन्छ भन्ने देखाएको छ । त्यही कारण उनीहरुको कर्मठता, लगन, सिप पैंचो लिएर भए पनि आफ्नै हावा, पानी र माटोमा रमाउने अग्रसरता देखाउनुपर्छ ।

उमेर, सामथ्र्य, आँट, सिप र पसिना विदेशको समृद्धिमा लगाउनु बुद्धिमानी होइन । यस्तो कर्मले क्षणिक लाभ त होला, तर कालान्तरमा यसले पराधीनता र परनिर्भरतालाई बढावा दिन्छ । यो अवस्था हाम्रा पूर्वजहरुको गौरवलाई अक्षुण्ण राख्न सकिने छैन । त्यसकारण विदेशिने होडमा रहेका युवाशक्तिलाई देशमै रोक्न र यस्तै अनेकन क्षमतामा रुपान्तरण गर्न सक्दा मात्र समृद्धिको ढोका खुल्न सक्छ । यसतर्फ सरकारको ध्यान जाओस् । जसले युवा वर्गलाई उत्प्रेरणा र ऊर्जा दुबै प्राप्त होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here