लारुम्वेटार पर्यटकीय केन्द्रको रुपमा विकास गरिदैं

0
861

दिपेन लावती / शान्तिनगर ।

झापाको बुद्धशान्ति–१ भोटेटारबाट करीव डेढ किलोमिटर उत्तर रोङ गाउँपालिका–४ को दक्षिणी भेग लारुम्वेटारलाई पर्यटकीय क्षेत्र बनाउन स्थानीय लागि परेका छन् । झट्ट हेर्दा उपत्यका जस्तो वरिपरी डाँडाले घेरिएको विचमा टापु जस्तो देखिने स्थान भौगोलिक हिसावले विकट छ ।

करिव २५ रोपनी क्षेत्रफलमा फैलिएको लारुम्वेटारमा ८÷९ घरको बसोवास छ । विकासका पूर्वाधार नपुगेकाले प्रचार–प्रसारमा नआएको सो स्थानको पर्यटन प्रर्वद्धनमा स्थानीय र गाउँपालिका जुट्न थालेका छन् । त्यहाँको स्थानीय विरिङ खोलाको नदिजन्य सामाग्रीको भरमा आफ्नो जिविकोपार्जन गर्दै आएका छन् ।

चुरे क्षेत्र रहेको र रोङ गाउँपालिकाले खोलाजन्य सामाग्री उत्खनन्मा रोक लगाएपछि उनिहरुको जिवनस्तर खस्किदो छ । हरियाली डाँडाकाडा, विरिङ खोलाको फराकिलो बगर र झोलुङ्गे पुल लगायतका स्थानको प्रचार–प्रसार गरि स्थानीयको आयआर्जनका लागि गाउँपालिकाले बैकल्पिक स्रोत खोजी गरिदिने अभियान शुरु गरेको छ । स्थानीयलाई कृषिजन्य सामाग्री उत्पादनसंगै उद्योगधन्दा खोली स्वरोजगार बनाउने हेतुले पर्यटन महोत्सव २०२० लगाउने तयारी गरेको छ ।

रोङ गाउँपालिकाका प्रबक्ता तथा ६ नम्वर वडाध्यक्ष मनिकुमार स्याङ्वो, ४ नम्वर वडाध्यक्ष सुर्य राई र वडासदस्य विमला राई र स्थानीयको भेलाले उक्त स्थानको प्रचार–प्रसारका लागि महोत्सवको आयोजना गर्ने तयारी गरिएको हो । पश्चिममा रोङ–१, पूर्वमा बुद्धशान्ति गाउँपालिका, दक्षिणमा अर्जुनधारा नगरपालिका रहेको सो स्थान टाप्पु जस्तो छ ।

गाउँपालिका प्रवक्त स्याङ्वोले सो स्थानको प्रचारप्रसार गरि विकास गर्ने हो भने पर्यटकहरुको प्रमुख केन्द्रको रुपमा विकास हुने बताए । उनले भने,–‘यहाँको स्थानीय विरिङ खोलामा निर्भर छन् । उनीहरुलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्र र उद्योग स्थापना गरी स्वरोजगार बनाउने लक्ष्य छ ।’ उनका अनुसार संघीय सरकारले औद्योगिक ग्राम बनाउन ७ स्थान छनौटमा परेको र त्यसमा रोङ पनि छानिएकाले लारुम्वेटारमा स्थापना गर्ने योजना बनाएका छौ ।

रोङ–४ का वडाध्यक्ष सुर्य राईले स्कुल डाँडादेखि लारुम्वेटारसम्म प्याराग्लाइडिङ खेलको तयारी गरिएको बताए । यसका साथै फराकिलो विरिङ खोलाको फराकिलो बगर छेउमा माछापालन र स्वीमिङ पुल बनाउने र आन्तरिक तथा बाह्य पर्यटक भित्राई यहाँको स्थानीयको आयआर्जनको स्रोत बनाउने बताए । वाटो, विजुलीको राम्रो प्रवन्ध गरि यस ठाउँलाई सुगम स्थानको रुपमा परिणत गर्न गाउँपालिकाले हरकसर बाँकी नराख्ने आश्वासन दिए । यसको ठाउँको विकास गर्न सके पर्यटकका लागि होमस्टेको परिकल्पना समेत गरेको उल्लेख गरे ।

यही फागुन ३ गतेबाट ७ गतेसम्म आयोजना गरिने महोत्सवले नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई सघाउ पु¥याउने आयोजकको विस्वास छ । स्थानीय बलबहादुर राईको नेतृत्वमा ३० सदस्यीय मूल समिति गठन गरिएको छ । यससंगै अन्य विभिन्न उपसमिति गठन गरिएको बताइएको छ । पाँच दिने महोत्सवमा अन्तर क्लवस्तरीय भलिवल प्रतियोगिता, लोपउन्मुख खेलकुद, विभिन्न जातजातीको सांस्कृतिक झाँकी र प्रत्येक दिन स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको सांगितिक, सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा गायिका मेलिना राई, विनोद खम्बू, ताराप्रकाश लिम्बू, उमेश राई(फुलन्देकी आमा), राकेश किँराती, मनिष रेस, महेन्द्र राई र दिपा तामाङको बेजोड प्रस्तुती रहनेछ । करिव १५ वटा बढी स्टल रहने महोत्सवमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने चिनारीसहित कृषि स्टलहरु रहने बताइएको छ ।

प्रत्येक दिन १० देखि १२ हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने र महोत्सव अवधिभर ६० हजार पर्यटकलाई भित्राउने आयोजकको लक्ष्य छ । महोन्सव सम्पन्न गर्न अनुमानित ७ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । विरिङ खोलाको झोलुङ्गे पुल, वरिपरीको हरियाली डाँडाकाडा, सुपारी खेती लगायतको दृष्यले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउनेछ । हाल महोत्सवको तयारी धमाधम चलिरहेको आयोजकले पूर्वाञ्चलकर्मीलाई जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here