लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेका बेला नेपाल पूर्वी प्रवेशद्वार काँकरभिट्टामा आइतबारबाट छैठांै ग्रामीण पर्यटन महोत्सव शुरु भएको छ ।
स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक यो नाकाबाट नेपाल भित्रिने गरेका छन् । भारतको सिक्किम, दार्जीलिङ लगायतका स्थान घुम्न आएका पर्यटकहरु पूर्वी नाका हँुदै नेपाल प्रवेश गर्ने गरेका छन् । भारतमा घुम्न आएका पर्यटकलाई नेपालका पर्यटकीयस्थलको भ्रमण गर्न प्रेरित गर्नका साथै नेपाल भ्रमण वर्षलाई सफल बनाउन पूर्वी नाकामा पर्यटन महोत्सवको आयोजना गरिएको बताइएको छ ।
यसैबीच महोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर १का मुख्यमन्त्री शेरधन राईले नेपाल एउटा सुन्दर देश भएर पनि संसारभर चिनाउन नसकेको बताए । मुख्यमन्त्री राईले सुन्दर र शान्त नेपाललाई आम नेपाली जनताले विश्वभर चिनाउन लाग्नुपर्ने बताए ।
विगतमा देशमा स्थिर सरकार नभएकै कारण नेपाललाई खुम्चाएर विश्व माझ चिनाउनु परेको उनको तर्क थियो । अहिले नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा निक्कै फराकिलो र वृहत् रुपमा आफ्नो पहिचान बनाउन सफल भएको उनले बताए । राजनीतिक स्थिरता, संकटकालीन अवस्थाबाट गु्रजिएको तथा सुशासन कायम गर्न नसक्दा हामीले विश्वमाझ जसरी नेपाललाई चिनाउनु पर्दथ्यो त्यो गर्न नसकेको उनले स्वीकार गरे ।
विश्वको सर्वाेच्च शिखर सगरमाथादेखि आठ हजार मिटरभन्दा माथिका धेरै अग्ला हिमाल समेत नेपालमै रहेको भन्दैं मुख्यमन्त्री राईले १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी बोल्ने संसारकै होचो उपत्यका अरुण नेपालमै रहेको, नेपालको होचो भाग १ नम्बर प्रदेशमा रहेको उल्लेख गरे । समृद्घ नेपाल सुखी नेपाली भन्ने वर्तमान सरकारको नारालाई सार्थक बनाउन हरेकक्षेत्र लाग्नुपर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री राईले नेपाल सरकारले अघि सारेको भ्रमण वर्ष २०२० सफल पार्न यस्ता महोत्सवको भूमिका महत्वपूर्ण हुने भएकाले महोत्सवलाई औपचारिकतामा मात्र सीमित पार्न नहुने बताए उनले नेपाल र प्रदेश नमबर १को पूर्वी ढोकामा आयोजना गरिएको महोत्सवले पर्यटनको विकासमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गरे । पर्यटन वर्ष सफल पार्नका निमित्त विदेशी पाहुनालाई समेत उपस्थित गराएर जसरी महोत्सवको उद्घाटन भयो, यसले पूर्वी विन्दुबाट नेपाललाई संसारभर चिनाउन सफल हुने मुख्यमन्त्री राईले विश्वास व्यक्त गरे ।
विशिष्ट अतिथि बेलायतको फोक्सटन सिटीका मेयर जेकी मोडले नेपाल र बेलायतबीचको सम्बन्धलाई बलियो पार्न र सुमधुर रुपमा अघि बढाउन नेपाल सरकारको सन् २०२०मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न वेलायतबाट १ लाख पर्यटक नेपाल पठाउने तयारी भएको बताए । कार्यक्रमलाई संविधानसभा सदस्य उषा गुरुङ, प्रदेश नम्बर १का प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, समाजवादी पार्टीका धनप्रसाद गुरुङलगायतले बोलेका थिए ।
सुविधासम्पन्न होटल, रमणीय पार्क, व्यवस्थित यातायातको सुविधा, आधुनिक प्रविधियुक्त चेकजाँच र पर्यटन प्रहरीको परिचालनले काँकरभिट्टा अब पर्यटकीय शहरको रुपमा विकसित हँुदै गएको छ । आयोजक संस्था ग्रीन जेनेरेशनका अध्यक्ष अर्जुन कार्कीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा डिल्लीराम घिमिरेले स्वागत गरेका थिए ।
कार्यक्रमको सञ्चालन तुलसा दंगाल र भूपाल शिवाकोटीले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा विभिन्न समुदायको जातीय पहिचान झल्किने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
महोत्सवमा विभिन्न जातजातिका संस्कृति र भेषभुषा झल्कने स्टलहरु छन् । त्यस्तै, स्टलमा ग्रामीण तथा शहरका अग्र्यानिक खाद्यवस्तुहरु समेत बिक्रीका लागि राखिएको छ । फागुन १ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य छ । २५ लाख रुपैयाँमा महोत्सव सम्पन्न गर्ने आयोजकले जनाएको छ । भारत, भूटान र नेपालका विभिन्न जिल्लाको समेत स्टल रहेका छन् । स्टल अवलोकन गर्न कुनै पनि शुल्क नलाग्ने आयोजकले जनाएको छ ।































