सुरेन्द्र भण्डारी/ बिर्तामोड।

सिङ्गो नगरलाई नै विषादिमुक्त नगर बनाउने अभियान बिर्तामोड नगरपालिकाले शुरु गरेसँगै यहाँका कृषक अग्र्यानिक खेतीतर्फ आकर्षित भएका छन् ।
अहिले बिर्तामोड नगरपालिकाको सहयोगमा ‘एक समूह, एक उत्पादन’ कार्यक्रम अन्तर्गत नगरका विभिन्न ठाउँमा व्यवसायिक रुपमा सामुहिक खेती शुरु गरिएको छ । तोरी, आलु, फापर, राजमा र सूर्यमुखी फूलको खेती बिर्तामोड नगरपालिकाका कृषकले अहिले व्यवसायिक रुपमा गरिरहेका छन् । उनीहरुले गरेको सामुहिक खेती पूर्ण रुपमा अग्र्यानिक भएको बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए । उनले भने– व्यवसायिक रुपमा सामुहिक खेती गर्दा थोरै लागतमा पनि धेरै उत्पादन गर्न सकिने नगरको अपेक्षा छ ।
अहिले बिर्तामोडका दुईवटा समूह हाम्रो कृषक र बद्रीवाडी कृषक समूहले पाँच÷पाँच विगाह क्षेत्रफलमा सामुहिक आलु खेती गरेका छन् । हाम्रो कृषक समूह बिर्तामोड नगरपालिका–७ र वद्रीवाडी कृषक समूहले बिर्तामोड–९मा सामुहिक आलु खेती गरिरहेका छन् । नगरले आलुको बीऊ अनुदानसँगै खेतीका लागि प्रतिविगाह एक हजार पाँच सय रुपैयाँ सहयोग प्रदान गरेपछि सामुहिक र अग्र्यानिक खेतीमा कृषक जुटेका हुन् ।
हाम्रो कृषक समूहका अध्यक्ष प्रदीप खनालका अनुसार पाँच विगाह क्षेत्रफलमा ९३ मन आलु रोपिएको छ । जसमा चार विगाह क्षेत्रफलमा नेपाल सरकारले सिफारिस गरेको कार्डिनल ६१ मन र एक विगाह क्षेत्रफलमा स्थानीय लालगुलाव प्रजातिको आलु रोपिएको छ ।
कृषक समूहमा रहेका मध्ये १२ जनाले सामुहिक आलु खेती गरेको खनालको भनाइ छ । नगरपालिकाले दुई लाख २५ हजार रुपैयाँ आलु खेतीका लागि अनुदान दिएपछि आलु खेती शुरु गरिएको हो– अध्यक्ष खनालले भने– प्रतिकठ्ठा १५ मन मात्रै आलु फल्यो भने पनि यो वर्ष हामीले १५ सय मन आलु उत्पादन गर्छाैं । प्रतिमन ३० रुपैयाँका दरले मात्रै आलु बिक्री गर्दा यो वर्ष आलु खेतीबाट मात्रै हाम्रो कृषक समूहले चार लाख ५० हजार रुपैयाँ आम्दानी गर्छ– अध्यक्ष खनालले भने– हाम्रो लक्ष्य उत्पादन गरिएको आलुलाई बीऊका रुपमा बिक्री गर्ने हो, यसो गर्दा दोब्बर नाफा हुन्छ ।
नगरको सहयोगमा अहिले ‘एक गाउँ–एक वाली’ कार्यक्रम अन्तर्गत दुई वटा समूहले १० विगाह क्षेत्रफलमा आलुसहित ५ वटा समूहले ९८ विगाह क्षेत्रफलमा सामुहिक तोरी खेती, २० विगाह क्षेत्रफलमा राजमा खेती, एउटा समूहले २२ विगाह क्षेत्रफलमा फापर र २ वटा समूहले ३० विगाह क्षेत्रफलमा सामुहिक सूर्यमुखी फूलको खेती गरिरहेका छन्– नगर कृषि शाखा प्रमुख कडरियाले भने ।

नगरको सहयोगमा समुदायस्तरमा अग्र्यानिक खेती शुरु गरिएपछि बिर्तामोडका अधिकांश कृषकले अहिले अग्र्यानिक खेती गरिरहेको बताउँछन्– बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी । उनी भन्छन् – गृहिणीले भान्सामा विष पकाउन थालेपछि नगरले यो अभियान थालेको हो, अहिले अधिकांश नगरवासीले हामीले शुरु गरेको अभियान बुझिसक्नुभयो, अभियान सफल बनाउन उहाँहरु आफैं लागीपर्नु भएको छ ।
बिर्तामोड नगरपालिका–७ निवासी होमनाथ घिमिरे रेखानगर कृषक समूहका अध्यक्ष हुन् । उनकै अगुवाइमा अहिले आफ्नो समूहभित्र सामुहिक तोरी खेती शुरु गरिएको छ । अग्र्यानिक खेती शुरु गरिएसँगै समूहमा आवद्ध सबै कृषकले आ–आफ्नो वारीमा समेत अग्र्यानिक तरकारी खेती गरिरहेको घिमिरेले बताए । मैले पनि कोभी, टमाटर, धनिया, रायो, आलु सहितका मौसमी तरकारी वाली लगाएको छु, सबै अग्र्यानिक छन्– उनले भने– उत्पादन कम भए पनि उत्पादित सबै तरकारी घरबाटै बिक्री हुन्छ ।
नगरमा व्यवसायिक र अग्र्यानिक खेती गर्ने कृषकमध्ये बिर्तामोड–९ निवासी लक्ष्मीदेवी अधिकारी पनि एक हुन् । उनले सयपत्री फूलको व्यवसायिक खेती गरिरहेकी छन् । फूलमा भविष्य देखेर अढाई वर्ष अघि फूल खेती शुरु गरेकी अधिकारीले अहिले वार्षिक पाँच लाख रुपैयाँभन्दा बढीको सयपत्री फूल र सयपत्री फूलबाट बनाइएका मालाको विक्री गर्छिन् । विषादिसहित फूल उत्पादन गर्न शुरु गरेसंगै अधिकारी नगरकै सफल उद्यमी महिलाका रुपमा चिनिएकी छन् ।
यता बिर्तामोड–९मा २२ विगाह क्षेत्रफलमा लगाएको फापर अहिले ढकमक्क फुलेको छ । फुलेको फापरका कारण त्यस ठाउँको बातावरण सुन्दर छ भने बाटो हिँड्ने जो कोही फुलेको फापरमा केही वेर रमाउने गरेको जनसेवा कृषक समूहका अध्यक्ष कर्णवहादुर मगर बताउँछन् । उनी भन्छन्– एकैपटक धेरै ठाउँमा फापर खेती गरेका कारण होला यहाँ आउने जो कोहीले फापर खेतीको प्रशंसा गर्ने गरेका छन् ।
बिर्तामोड नगरपालिकाले ‘एक समूह–एक उत्पादन’ कार्यक्रमका लागि यो वर्ष १९ लाख रुपैयाँ अनुदान रकम प्रदान गरेको र सामुहिक खेतीबाट कृषकले झण्डै दुई करोड ५० लाख रुपैयाँ आम्दानी गर्न सक्ने अपेक्षा गरिएको छ । तोरीबाट मात्रै कृषकले एक करोड रुपैयाँ आम्दानी गर्ने नगर कृषि शाखा प्रमुख कडरियाले बताए ।
९८ विगाह क्षेत्रफलमा लगाइएको तोरी १४ सय ७० मन, ३० विगाह क्षेत्रफलमा लगाइएको फापर ६ सय ६० मन, १० बिगाह क्षेत्रफलमा लगाइएको आलु ३ हजार मन, २० विगाहमा लगाइएको राजमा २ सय मन र ३० विगाह क्षेत्रफलमा लगाइएको सूर्यमुखी ९ सय मन उत्पादन हुने अपेक्षा नगरले राखेको छ ।































