भद्रपुर।

सरकारी जमिनमा बिना स्वीकृति माटो खन्दै गरेको अवस्थामा प्रहरीले एउटा जेसीभी र तीन वटा टिपर नियन्त्रणमा लिएको छ ।
भद्रपुर नगरपालिका–५स्थित गणेश मन्दिर पूर्व नगरपालिकाको ऐलानी जमिनमा जेसीभी प्रयोग गरी माटो खनी टिपरमा हालेर लैजाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय र भद्रपुर नगर प्रहरीको संयुक्त टोलीले ती सवारीसाधन नियन्त्रणमा लिएको हो ।
प्रहरीले को१क २१३३ नम्बरको जेसिभी, ना१ख ९४१०, ना१क ७३७४ र ना१क ९४११ नम्बरको टिपर नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए । शनिवार राति ८ बजेको समयमा ठेकेदारले जेसीभी प्रयोग गरी टिपरमा हालेर सरकारी जमिनको माटो जथाभाबी लगिरहेको स्थानीयले थाहा पाएपछि तत्काल भद्रपुर नगरपालिकालाई खबर गरेका थिए ।
नगरपालिकालाई सूचना आएपछि नगर प्रहरीले वडा प्रहरीसँग समन्वय गरेर घटनास्थल पुगेर ती सवारीसाधन नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका दुई वटा टिपर नगरपालिकामा राखिएको छ, भने जेसिभी र एउटा टिपर वडा प्रहरी कार्यालयमा राखिएको छ । ती सवारीसाधनलाई ठेकेदार भवकिशोर केसीले माटो खन्न प्रयोग गरेको स्थानीय बताउँछन् ।































