हात्तीपाइले रोग निवारणमा चुनौति

0
718

लक्ष्मी उप्रेती,

गतवर्ष झापा जिल्लामा सात लाख ४४ हजार तीन सय ५८ जनालाई हात्तीपाइले रोगविरुद्घको औषधि खुवाउने लक्ष्य भए पनि ७२ प्रतिशत वा छ लाख ४८ हजार पाँच सय ४३ जनाले मात्र औषधि सेवन गरे । यसपटक भने स्वास्थ्य कार्यालय झापाले जिल्लाका २ बर्षभन्दा माथि र ७० बर्षसम्मका आठ लाख २६ हजार पाँच जनालाई हात्तीपाइले रोगविरुद्घको औषधि खुवाउने लक्ष्यका साथ माघ २५ गते शनिबारदेखि अभियान शुरु गरेको छ ।

यो अभियान फागुन ५ गतेसम्म जारी रहने छ । जिल्लाका साात वटा गाउँ र आठ वटा नगर गरी कूल १५ वटा पालिका स्थानीय तहमा अभियान सञ्चालन गर्न र लक्ष्य पूरा गर्न जिल्लाभर छ सय ३१ जना स्वास्थ्य स्वयम्सेविका र चार सय १६ जना स्वास्थ्यकर्मीसहित कूल एक हजार ४७ जनशक्ति परिचालन गरिएको छ । सरकारले चालू आर्थिक वर्ष २०७६÷०७७ मा झापा जिल्लामा मात्र हात्तीपाइले रोग निवारणका लागि झण्डै अढाई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

सरकारले करोडौं रुपैयाँ खर्च गरेर हरेक वर्ष यस्तो अभियान सम्पन्न गरे पनि सबैले भने यो औषधि खाने गरेका छैनन् । विशेषगरी, ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा रहेको हात्तीपाइले रोगविरुद्धको औषधिलाई लिएर परेको भ्रमका कारण पनि ती क्षेत्रमा औषधि सेवन गर्नेको संख्या न्यून रहेको छ । सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाइदिँदा रोग निवारणमा चुनौति बढेको स्वास्थ्यकर्मी दिलीप सुवेदीको भनाई छ । हात्तीपाइले रोगको संक्रमणबाट प्रभावित जिल्ला झापामा औषधि नखाने प्रवृत्ति छ । साइड इफेक्ट हुन्छ भन्ने भ्रममा पर्दा सम्भ्रान्त र हुनेखानेले यो रोगविरुद्धको औषधि सेवन गर्न नमान्ने अभियानकर्मीहरुको भनाई छ । अहिले जान्ने बुझ्नेले पनि औषधि नखाइदिँदा रोगको पूर्ण रोकथाम हुन सकेको छैन् ।

सरकारले हात्तीपाइले रोग निवारणका लागि यस रोगविरुद्घको औषधि खुवाउने अभियान सञ्चालान गरे पनि सर्वसाधारणले औषधि नखाइदिनु सबैभन्दा ठूलो चुनौति भएको छ । अहिले पनि झापामा मात्र २५ देखि ३० प्रतिशतले यो औषधि खाने गरेका छैनन् । औषधि खानु हुँदैन भन्ने गलत धारणाका कारण यो अभियान सफल हुन नसकेको स्वास्थ्यकर्मीहरुको भनाई छ । नेपालमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न चुनौति देखिएको छ । कार्यक्रम कार्यान्वयनमा चुनौति भएका कारण अहिलेसम्म पनि नेपालका केही जिल्लाहरुबाट हात्तीपाइले रोग निवारण गर्न नसकिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

यसका बावजुद पनि झापा जिल्लामा यसका रोगीको संख्या कम हुँदै गएको दाबी सरकारी अधिकारीहरुको भनाई छ । सन् २००१ देखि २०१७ सम्म आइपुग्दा झापामा हात्तीपाइले रोगीको संख्या २ दशमलव ४ प्रतिशतमा झरेको सरकारी तथ्याङ्क छ । सन् २००१ को सर्वेक्षण अनुसार झापा जिल्लामा हात्तीपाइले रोगीको संख्या २४ प्रतिशत रहेको थियो भने २०१५ मा सर्वेक्षण गर्दा यो संख्या घटेर ४ दशमलव १६ प्रतिशतमा झर्यो । सन् २०१७ को सर्वेक्षणले झापामा हात्तीपाइले रोगीको संख्या २ दशमलव ४ प्रतिशत रहेको देखाएको छ । नेपालका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिममा रहेकोमा त्यसमध्ये करिब दुईतिहाई जनसंख्या अझै पनि हात्तीपाइले रोगको जोखिममा रहेको सरकारी अधिकारीहरुको भनाई छ । सन् २००३ बाट यो कार्यक्रम शुरु गरिए सँगै नेपालमा हात्तीपाइले रोगीहरुको विद्यमान दर १३ प्रतिशतबाट झरेर १ दशमलव ४७ प्रतिशतमा कायम भएको र हात्तीपाइले रोग निवारण गर्नका लागि नेपालबाट हात्तीपाइले रोगको दर एक प्रतिशतभन्दा कम हुन आवश्यक रहेको विज्ञहरुको भनाई छ ।

नेपालको कूल अपाङ्गतामध्ये करिब ३० हजार अपाङ्गता हात्तीपाइले रोगकै कारण हुने गरेका छन् । त्यसमा सबैभन्दा धेरै हाइड्रोसिलका विरामी रहेपछि हाइड्रोसिलका नेपाल सरकारले हाइड्रोसिलका विरामीको निःशुल्क शल्यक्रिया शुरु गर्दै आएको छ । हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । यसका लागि सरकारले प्रति विरामीका दरले अस्पताललाई छ हजार रुपैयाँ समेत उपलब्ध गराउँदै आएको छ । हात्तीपाइले रोग निवारण अन्तर्गत हाइड्रोसिल भएका विरामीहरुलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्ने सरकारको लक्ष्य भए पनि गत वर्ष झापा जिल्लामा हाइड्रोसिलका तीन सय ७२ जना फेला परेका थिए । गत वर्ष जिल्लामा फेला परेका कूल पाँच सय ४५ जनामा यो रोग फेला परेको थियो । सबैभन्दा बढी पनि हाइड्रोसिलका तीन सय ७२ जना थिए । त्यसैगरी खुट्टा सुनिएका ३० महिलासहित ७२ जना हात तथा स्तन सुनिएका महिलाहरु ३८ तथा ७२ पुरुषसहित कूल एक सय १० जना रहेका थिए ।

मेची अञ्चल अस्पतालका प्रमुख एवम् वरिष्ठ फिजिसीयन डाक्टर पिताम्बर ठाकुरका अनुसार लिम्फाटिक फाइलेरिया भनेर चिनिने हात्तीपाइले रोग सरुवा रोग हो । मसिनो धागो आकारको एक प्रकारको जुकाबाट यो रोग लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग लाग्छ । तीन प्रकारका परजीवीबाट लाग्ने हात्तीपाइले रोग नेपालमा भने उच्चेरेरिया बाँन्क्रोफ्टी परजीवीको संक्रमणबाटै हुने गरेको पाइएको छ । ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु गिर्खा भेटिनु र पछि अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु । महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने, खुट्टा सुन्निएर, हात्तीपाइले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुक्खा खोकी लाग्नु, दम बढ्नु, रगतमा इस्नोफिलको मात्रा बढ्नु र बिरामीले दैनिक क्रियाकलाप गर्न नसक्नु पछि अपाङ्ग समेत हुँदा सामाजिक र मानसिकरुपमा पनि असन्तुलित हुने हुनु हात्तीपाइले रोगका लक्षण रहेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राईको भनाई छ ।

सरकारले प्रत्येक वर्ष अभियान सञ्चालन गरे पनि हात्तीपाइले रोगविरुद्घको औषधि सेवन गर्नुहँुदैन भन्ने गलत धारणाका कारण निक्कै समस्या हुने र अभियान सफल हुन नसकेको सरकारी स्वास्थ्यकर्मीहरुको भनाई छ । र २ वर्षमुनिका बालबालिका, ७० वर्ष माथिका, गर्भवती, सात दिनका सुत्केरी, दीर्घरोगी र अन्य रोगको औषधि खाइरहेका विरामीले हात्तीपाइले रोगको औषधि खान हँुदैन । नौ लाख २० हजार आठ सय ९५ जनसंख्यामध्ये झापामा यस्ताको संख्या एक लाख १८ हजार दुई सय ९० रहेको सरकारी अभिलेख छ । मानिसले औषधिलाई बे–वास्ता गर्ने गरेको उनीहरु बताउछन् । स्वास्थ्य समस्याका रुपमा देखिएको हात्तीपाइले रोग निवारणका लागि नेपाल सरकारको कार्यक्रम अन्तर्गत हात्तीपाइले रोग निवारण अन्तर्गत हाइड्रोशिल भएका विरामीहरुलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्नेछ । मेची अञ्चल अस्पतालले अभियान अन्तर्गत हप्ताको दुइ दिन निःशुल्क शल्यक्रिया सञ्चालन गरेको डा. ठाकुरले बताए ।

सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने कार्यक्रम अन्तर्गत झापा, पाँचथर, इलाम, भोजपुर, धनकुटा, मोरङ्ग, उदयपुर, लमजुङ्ग, पर्वत, बागलुङ्ग कपिलवस्तु लगायतका २४ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान सञ्चालन गरिरहेको छ । सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोगको निवारण गर्ने लक्ष्य अन्तर्गत महाशाखाले यस वर्ष पनि देशभरका २४ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि ख्वाउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार हाल विश्वका करिब ५२ देशका करिब ८५ दशमलव छ करोड मानिस हात्तीपाइले रोगको जोखिममा रहेका छन् सन् २००० सम्म विश्वका करिब १२ करोड मानिस यस रोगबाट संक्रमित रहेकोमा करिब आठ करोड मानिसहरुको अंगभंग भएको छ । हालसम्म ४९ दशमलव नौ करोड मानिसहरुले पूर्णरुपमा उपचार पाएकोमा ६७ अर्ब मानिसलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइसकिएको छ । दक्षिण पूर्वी एसियाका १२ मध्ये नौ देशहरुमा यो रोगको जोखिम रहेकोमा संसारभर जोखिममा रहेका मध्ये करिब ६५ प्रतिशत मानिस यी नै नौ देशमा रहेको विशेषज्ञहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here