ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षकमा नियुक्त

0
926

काठमाडौँ,

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एक नम्बर प्रदेशका डिआइजी ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ।

ज्ञवालीले अर्का प्रतिस्पर्धी डिआइजी तारिणी लम्साललाई पछि पार्दै नेपाल प्रहरीको २७ औँ आइजीपी भएका हुन्। सोमबार बसेको बैठकले निर्णय लिन नसकेपछि मंगलबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवलीलाई आइजीपी बनाउने निर्णय गरेको हो।

ज्ञवालीलाई आइजीपी बनाउने विषयमा सोमबार गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको थियो। दुई नेताबीचको छलफलपछि वरियताको पहिलो नम्बरमा रहेका ज्ञवालीलाई आइजीपी बनाउने प्रस्ताव गृहमन्त्रालयले मन्त्रिपरषद्‍मा लगेको थियो।

२६औँ आइजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधि पूरा गरी मंगलबारदेखि अवकाश पाएसँगै मन्त्रिपरिषद्ले ज्ञवालीलाई नयाँ आइजीपी बनाएको हो। ज्ञवली अबको पाँच महिनासम्म उक्त पदमा रहनेछन्। असार अन्तिम साता उनी पनि ३० वर्षे सेवाअवधि पूरा गर्दै अवकाशमा जानेछन्।

आइजीपी खनालसहित तीन एआइजी र १८ डिआइजीले ३० वर्षे उमेर हदका कारण मंगलबारबाट अवकाश पाएका छन्। २०७४ चैतमा प्रतिस्पर्धी रमेश खरेललाई पछि पार्दै खनाल महानिरीक्षक बनेका थिए।

कसले पाए अवकाश ?

अवकाश पाउनेमा एआइजी पुष्कर कार्की, धीरु बस्न्यात र ठूले राई रहेका छन्। यस्तै, डिआइहरु राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेन्द्र पोखरेल, नारायणसिंह खड्का, सुरेशबिक्रम शाह, महेश बिक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिनेश अमात्य, कमल जिटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे, दानसिंह बोहोरा छन्। एसएसपी दिलिपसिंह बस्‍नेतले पनि अवकाश पाएका छन्।

आइजीपी खनालसँगै सबै २०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। सेवा अवधि सकिए पनि खनालले भने ६ महिना कार्यअवधि लम्ब्याउने प्रयास गरेका थिए। तर, गृहमन्त्री रामबहादुर थापाले उक्त कुरालाई अस्वीकार गरेपछि खनाल बिदा भएको हुन्।

नयाँ आइजीपीका लागि तीनजना डिआइजी प्रतिस्पर्धामा देखिएका थिए। यसअघि एआइजीबाट आइजीपी हुने गरेका थिए। तर, यो पटक आइजीपीसँगै सबै एआइजीले पनि अवकाश पाएपछि भएपछि डिआइजीबाटै सीधै आइजीपी चयन गरिएको हो। आइजीपीका लागि प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका डिआइजी तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका डिआइजी सूर्यप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा चलेको थियो। तर, मन्त्रिपरिषद्को बैठकले वरियता क्रमका आधारमा अगाडि रहेका ज्ञवालीलाई नयाँ आइजीपीमा नियुक्त गरेको हो।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here