अर्जुनधारामा दादुरा–रुबेला खोप अभियान सम्बन्धी अन्तरक्रिया

0
646

अर्जुनधारा ।

राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत आगामी फाल्गुन १० देखि नौ दिन सम्म सञ्चालन हुने दादुरा–रुबेला खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।

दादुरा–रुबेला रोग र अभियानका विषयमा जानकारी प्रदान गर्ने तथा प्रभावकारीरुपमा अभियान सञ्चालनका लागि योजना निर्माण गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक नगर स्वास्थ्य शाखाका संयोजक मुकुन्द बस्नेतले बताए ।

जनप्रतिनिधि, खोप समन्वय समिति र सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा रोग बारे शाखाकी सहसंयोजक दुर्गा चापागाईं र हाल नेपालमा दादुरा–रुबेला रोगको अवस्था, रोग लागेमा हुने जटिलता, रोग नियन्त्रण तथा निवारण कसरी गर्ने, अभियान सञ्चालनको उद्धेश्य र कुन उमेर समूहका बालबालिकालाई खोप दिइने, खोपको आवश्यकता, खोप अभियानमा समुदायको जिम्मेवारीलगायतको विषयमा संयोजक बस्नेतले सहजिकरण गरेका थिए ।

दादुरा–रुबेला रोग विरुद्ध प्रतिरोधात्मक शक्ति विकास गरि रोगको निवारणसँगै रोगको जोखिममा रहेका समूहलाई खोप प्रदान गर्न विशेष कार्यक्रममार्फत् देशैभर अभियान सञ्चालन हुन लागेको बताइएको छ । अभियान अन्र्तगत यस अघि दादुर–रुबेला खोप लिएका तथा नलिएका नौ देखि ५९ महिनासम्मका(५ वर्ष मुनिका) सबै बालबालिकालाई खोप लगाइन्छ ।

शाखाका अनुसार अभियान अन्र्तगत जम्मा छ हजार चार सय ९२ जना बालबालिकालाई दादुरा–रुबेलासँगै पोलियो रोग विरुद्धको खोप दिइने कार्यक्रम रहेको छ । कार्यक्रममा वडाध्यक्षहरु रघुनाथ खनाल, जीवकुमार भण्डारी, दुर्गाप्रसाद दाहाल, नवराम ढुंगाना, गोपीचन्द्र गौतम, पुष्पकुमार प्रसाईं र बलदेवसिंह गोम्देन, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतले जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन शाखाकी सहसंयोजक चापागाईंले गरेकी थिइन् ।

विश्वबाट पूर्णरुपमा निवारण हुन नसकेको दादुरा–रुबेला रोगविरुद्ध नियमित खोप तथा अभियानहरुमा बालबालिकाहरुलाई खोप दिइएका कारण हाल नेपालमा विगतको भन्दा दुवै रोगका रोगी ९५ प्रतिशतले घटेको तथ्याङ्का उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here