शिक्षित नै मान्दैनन् ट्राफिक नियम, ३० स्थानमा राजमार्गमै हाटबजार

0
1286

नरेन्द्र ढकाल / बिर्तामोड।

इटहरीकी रमिला थापा (नाम परिवर्तन) व्यूटी पार्लरमा कपाल स्ट्रेट गरेर स्कुटरमा घर फर्कंदै थिइन् । इटहरी चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले उनलाई रोके । अनि सोधे– म्याड्म खै हेल्मेट लगाउनुभएको ? उनले हतार–हतार जवाफ फर्काउँछिन्– मैले भर्खर कपाल स्टे«ट गरेकी छु, हेल्मेट लगाउँदा कपाल बिग्रन्छ बरु कति जरिवाना तिर्नुपर्छ, म तिर्न तयार छु ।

त्यस्तै झापाका कृष्ण भट्टराई(नाम परिर्वतन) लाई मोटरसाइकलको लेगार्डमा हेल्मेट झुण्ड्याएर सवार भइरहेका बेला ट्राफिक प्रहरीले रोक्छ । खै हेल्मेट लगाउनु भएको भनेर प्रश्न गर्नासाथ उनले जवाफ फर्काए– यहीं पसलमा गएको नजिकै छ, यतिमै त के हेल्मेट लगाउनु ?

उता मोरङ बिराटनगरकी सुस्मिता दाहाल (नाम परिर्वतन) हेल्मेट नलगाई स्कुटरमा जाँदै गर्दा ट्राफिक प्रहरीको चेकिङमा परिन् । उनले पनि हेल्मेट नलाएकाले ट्राफिक प्रहरीले हेल्मेट खै भनेर प्रश्न गर्दा व्यूटी पार्लर गएर कपाल बनाएको र कपाल बिग्रने भएकाले हेल्मेट नलगाएको जवाफ दिइन् ।

त्यस्तै धरानकी रश्मि राई (नाम परिर्वतन) ब्यूटी पार्लरमा जाँदा हेल्मेट नलगाई जाने गरेकी छन् । उनी पनि आफ्नो सौन्दर्य बिग्रने भएकाले हेल्मेट नगलाएको बताउँछिन् । बरु जरिवाना तिर्न तयार हुने, सौन्दर्य बिग्रने डरले हेल्मेट नलगाउनेको संख्या उच्च रहेको छ । आफ्नो सौन्दर्य ब्रिगने डरले ट्राफिक नियम उल्लंघन गर्ने, नजिकै जाने बहानामा हेल्मेट नलगाउने, भित्री सडकमा ट्राफिक नहुने भन्दै हेल्मेट नगलाउने प्रवृत्ति युवापुस्तामा धेरै रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक भीम दाहालले बताए । उनले भने– ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने जानकारहरुले नै आफ्नो ज्यानलाई भन्दा सौन्दर्यलाई जोड दिएर नियम उल्लंघन गरेको पाइयो । जरिवाना तिर्न राजी हुने तर नियम पालना नगर्नेको संख्या धेरै रहेको प्रहरी उपरीक्षक दाहालले बताए ।

नजिकै जाने, ट्राफिक छैन भन्दै नियम उल्लंघन गर्ने, हेल्मेट लगाए पनि क्लिप नलगाउने, ट्राफिकको आँखा छल्न मात्रै हेल्मेट लगाउनेहरुको दुर्घटना हुँदा मृत्यु हुने सम्भावना धेरै हुनेको गरेको प्रहरी उपरीक्षक दाहालको भनाइ छ । प्रदेश–१मा मोटरसाइकल दुर्घटनामा सबैभन्दा धेरैले ज्यान गुमाउने गरेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण तथा मानवीय त्रुटिका कारण हुने यस्ता दुर्घटनामा आफ्नै कारणले धेरैले अकालमा नै ज्यान गुमाउने गरेको प्रहरी उपरीक्षक दाहालको भनाइ छ ।

चालू आर्थिक वर्ष २०७६÷०७७को पुस मसान्तसम्ममा १ नं. प्रदेशमा सात सय ३२ दुर्घटना भएका छन् । जसमा एक सय ८० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन सय ४८ वटा मोटरसाइकल मात्रै परेको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । दुर्घटनामा ५८ जनाले ज्यान गुमाएका छन् । दुई सय ४७ जना गम्भीर घाइते र दुई सय ६५ जना सामान्य घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा ४५ जना चालकले ज्यान गुमाए भने मोटरसाइकलको पछाडि सवार १३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख दाहालले जानकारी दिए । ६ महिनाको अवधिमा भएको दुर्घटनामा दुई सय ८३ जना मोटरसाइकल चालक घाइते भएका छन् भने दुई सय २९ जना मोटरसाइकलको पछाडि सवार घाइते भएको जनाइएको छ ।

अधिकांश दुर्घटनामा मोटरसाइकल तथा स्कुटर चालकको गल्तीकै कारण मृत्यु हुने गरेको बताइएको छ । दुर्घटना न्यूनीकरणका लागि दुई पाङ्ग्रे सवारीका चालकलाई सडकमा नै ट्राफिक नियम सिकाए पनि कार्यान्वयन नहँुदा मृत्यु हुनेको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

शिक्षित व्यक्तिले नै ट्राफिक नियम पालना नगर्ने तर जरिवाना तिर्न तयार छु भन्नुले दुर्घटनालाई अझ बढाएको बताइएको छ । ट्राफिक प्रहरीले आफ्नो ज्यानको सुरक्षा गर्न आग्रह गरेको छ । मृत्यु हुनेको त भइहाल्छ, तर परिवारले भोग्नुपरेको पीडा दर्दनाक हुने विषयमा गम्भीर भएर सोच्न प्रहरी प्रमुख दाहालले सवारी चालकहरुलाई आग्रह गरेका छन् । ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्रै दुर्घटना न्यूनीकरण हुन नसक्ने उनले बताए ।

३० स्थानमा राजमार्गमै हाटबजार

झापासहित पूर्वका तीन जिल्लाका ३० स्थानमा राजमार्गमा नै हाटबजार लाग्ने गरेको छ ।

दिनानुदिन सवारी दुर्घटना बढिरहेका बेला राजमार्ग क्षेत्रमा नै लाग्ने हाटबजारका कारण दुर्घटनाको जोखिम बढेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक भीम दाहालले बताए । उनले ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि राजमार्गमा नै हाटबजार लाग्ने क्रम नरोकिएकाले दुर्घटनाको जोखिम बढाएको बताए ।

दाहालले झापाको भद्रपुर–५स्थित केचना हाट बुधबार र बिर्तामोड–३स्थित बिर्ताबजार सोमबार र बिहीबार लाग्ने गरेको जानकारी दिए । सडक नै अवरोध हुने गरी लाग्ने हाट बजार हटाउन स्थानीय सरकार अग्रसर हुनुपर्ने प्रहरीले जनाएको छ । झापाका दुई स्थानका साथै मोरङका ११ स्थानमा राजमार्ग नै अवरोध हुनेगरी हाटबजार लाग्ने गरेको छ ।

मोरङको बिराटनगरस्थित रोडशेष, विराटगर–४स्थित ढाट, बाँसबारी, टंकी, गोठगाउँ, सलकपुर, लालभित्ता सोमबारे, शनिहाट, राधिका स्कुल, झोराहाट लगायतका स्थानमा राजमार्गमा नै हाटबजार लाग्ने गरेको छ । उता सुनसरीको १७ स्थानमा सडकमा नै हाटबजार लाग्ने गरेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कृष्ण प्रधानले जानकारी दिए । उनका अनुसार दुहबी, फुटानी चौक, खनार चौक, पकली, नहर चोक, लभीपुर, लौकही, बराहक्षेत्र, तरहरा, भोक्राह, झुम्का, बुधचौक, भमरी लगायतका स्थानमा राजमार्गमै हाट लाग्ने गरेका छन् ।

राजमार्ग क्षेत्रमा निर्वाध रुपमा लाग्ने गरेका हाटबजारलाई अन्यत्र सार्ने विषयमा स्थानीय सरकारसँग समन्वय गरेर स्थानान्तरण गर्नका लागि पहल गरिरहेको प्रहरी निरीक्षक प्रधानले बताए । दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला यस्ता विषयमा समेत स्थानीय तहलाई सजग गराउँदै दुर्घटना कम गर्नका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालयले पहल शुरु गरेको बताइएको छ । राजमार्गमा नै हाटबजार लाग्ने गरेकाले सवारीको जाम हुने तथा दुर्घटनाको जोखिम बढ्ने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here