नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न : व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन

0
342

काठमाडौँ, 

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उहाँलाई दज्र्यानी चिह्नबाट सुशोभित गर्नुभयो ।

मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुने गरी उहाँलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।

उक्त समारोहमा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गर्नुभयो । प्रहरी सङ्गठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ सङ्केत गर्दै उहाँले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिनुभयो । उहाँले नेतृत्व परिवर्तन भए पनि कार्यसम्पादन सम्झौता उही रहेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिनुभयो ।

उहाँले प्रहरी अधिकारी व्यक्तिवादी भावना बढेकोतर्फ सङ्केत गर्दै आफूलाई सच्याउनु जरुरी छ भन्नुभयो । “माथिल्लो तहमा प्रतिष्पर्धात्मक भावना बढी भएको छ, उछिन्न दौडनेभन्दा व्यावसायिक काममा ध्यान दिनुपर्छ, व्यक्ति केन्द्रित दौडले व्यावसायिकतामा कतै न कतै सम्झौता भएको छ”, प्रहरी अधिकृतलाई इङ्कित गर्दै गृहसचिव न्यौपानेले भन्नुभयो ।

प्रहरी समायोजन र आपराधिक गतिविधि निस्तेज पार्न केही चुनौती रहेको स्वीकार गर्दै उहाँले त्यसमा सङ्गठनको व्यावसायिकता प्रदर्शन गर्दै सामूहिकरुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले हालै मात्रै प्रहरीसम्बन्धी दुई विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकाले अब छिट्टै आवश्यक प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

हरेक हप्ता गृहमन्त्रालयमा उच्च व्यवस्थापनको समीक्षा बैठक बस्ने जानकारी दिँदै उहाँले बैठकले सुरक्षाको क्षेत्रमा उत्पन्न हुने समस्या समाधानमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्नुपर्ने र अपराधलाई निस्तेज पार्नुपर्ने आजको आवश्यकता औँल्याउँदै उहाँले समृद्ध नेपाल निर्माणमा प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

गृहसचिव न्यौपानेले भन्नुभयो, “शान्ति सुरक्षा कायम गर्न चुक्यौँ भने समृद्ध राष्ट्र निर्माण अभियानमा असर पर्छ, यसतर्फ प्रहरी अधिकृतको ध्यानाकर्षण गराउनु चाहन्छु ।”

अपराधी नियन्त्रण र प्रहरी समायोजन वर्तमानका चुनौती : नवनियुक्त महानिरीक्षक ज्ञवाली

उक्त समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले अपराध नियन्त्रण र प्रहरी समायोजन वर्तमान समयमा प्रहरीका लागि चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौती सामना गर्न प्रहरी सङ्गठन तयार रहेको बताउनुभएको छ । मुलुक सङ्घीयतामा गए पनि कानूनतः सबै प्रक्रिया सङ्घीयतामा गइनसकेको उहाँको भनाइ थियो ।

संविधान कार्यान्वयन, नागरिकको अधिकार संरक्षण गर्न महानिरीक्षकको हैसियतमा आफू कटिबद्ध रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले गृहमन्त्रालयको मार्ग निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अवाञ्छित र विध्वंसात्मक गतिविधि निस्तेज गरी कानूनको पालनामा आफूले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले समृद्धि, समुन्नत र सुशासनको क्षितिजमा उदाउँदै गरेको मुलुकको छेकवारलाई परास्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आजको जनउत्तरदायी युगमा प्रहरीले नागरिकको मन जितेर काम गर्नुपर्ने आवश्यकतामा रहेको बताउँदै उहाँले प्रहरीको भेषमा कुनै अवाञ्छित गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरी कर्मचारीको मनोबल उच्च राख्नमा नै आफ्नो ध्यान जाने उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here