तटबन्धसँगै कृषि सडक निर्माण गरिँदै

0
602

बिर्तामोड,

बिरीङ नदीको कटान र डुबानबाट आजित बनेका डाँगीवारीबासीले अब समस्या झेल्नु नपर्ने भएको छ ।

जनताको तटबन्ध डिभिजन कार्यालय–१ गैंडेले जनसहभागितामा बिरीङ नदी नियन्त्रणका लागि तटबन्ध गरेसंगै डाँगीबारीबासीले कटान र डुबानको समस्या झेल्नु नपर्ने भएको हो । १५ करोड रुपैयाँको लागतमा साविक डाँगीवारी र सुरुङ्गा गाविसको सीमानाबाट बिरीङ नदी नियन्त्रणका लागि तटबन्ध गरिएसँगै बाह्रदशी गाउँपालिका–७ डाँगीवारी डुबान र कटानको समस्याबाट मुक्त हुने भएको हो ।

२०६४ साल यता बिरीङ नदीमा आएको बाढीका कारण बाह्रदशी गाउँपालिकामा दुई सय घरपरिवार विस्थापित भइसकेको र हजारौं विगाह जमिन बगरमा परिणत भएको बाह्रदशी गाउँपालिका–७का अध्यक्ष मित्रराज भट्टराईले जानकारी दिए । बिगतका दिन सम्झिँदा पनि कहाली लाग्छ– अध्यक्ष भट्टराईले भने– ‘अहिले जनताको तटबन्धले डाँगीवारी मात्र होइन सिङ्गो बाह्रदशीको उत्तरी क्षेत्रको भू–भाग सुरक्षित भएको छ ।’

जनताको सहभागितामा बाह्रदशी–७ र कनकाईको सीमानाबाटै तटबन्ध निर्माण गरिएको छ– बिरीङ खोला नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण पाठकले भने– जनसहभागितामा झण्डै १५ करोड रुपैयाँको लागतमा डाँगीवारी बजार पश्चिम देवराज कार्कीको घर नजिकसम्म बाँध–बाँधेसँगै डाँगीवारीवासी डुवान र कटानको समस्याबाट मुक्त भएका हुन् । स्थानीय उपभोक्ता समिति र सोझैं टेण्डरमार्फत पनि खोलामा तटबन्ध गरिएको अध्यक्ष पाठकको भनाइ छ । गोलोवस्ती, नेवारगाउँ, तुलसीवारी, चौधरी गाउँ, डाँगीवारी बजार पश्चिम झण्डै अढाई किलोमिटर खोलाको भू–भागमा तटवन्ध गरिएका कारण डुवान र कटानको समस्या हटेर गएको हो– अध्यक्ष पाठकले भने ।

अहिले खोलाको तटबन्धसंगै सोही भू–भागलाई उपयोग गर्दै कृषि सडक निर्माण गर्ने योजना अघि बढाइएको छ । जसका लागि प्रक्रिया शुरु भएको अध्यक्ष पाठकले बताए । उनले भने– पूर्व–पश्चिम राजमार्गदेखि राजगढसम्मकै खोलाको भू–भागमा तटबन्ध गर्दै खोला गाउँ पस्न नदिने र तटबन्ध गरिएको क्षेत्रलाई सडक बनाइनेछ ।

तटबन्ध गरिएको खोलाको भू–भागको फेदमा ९ मिटर जाली बिच्छ्याउँदै साढे तीन मिटर उचाइ बनाएर जालीमा ढुङ्गा भरिन्छ, यो ज्याँदै बलियो हुन्छ– अध्यक्ष पाठकले भने– बाँधको फेदमा २० मिटर र माथिल्लो उचाइको भागमा १२ मिटर चौडाइ हुने हुँदा कृषि सडकका लागि पर्याप्त हुन्छ ।

खोलाको भागतिर ढुङ्गाको जाली र बाँधको अर्काेतर्फ वृक्षरोपण गर्दै बाँधलाई बलियो बनाउने योजना अघि सारिएको अध्यक्ष पाठकले बताए । राजमार्गदेखि राजगढ बजार पश्चिमसम्म खोलाको किनारमा बाँधिने बाँधका लागि झण्डै दश लाख विरुवा आवश्यक रहेको अध्यक्ष पाठकले बताए । तटवन्धसंगै वृक्षरोपण गरिँदा वातावरण पनि राम्रो हुने र कृषि सडक समेत बलियो हुने उनको भनाइ छ ।

तटवन्ध गरिएको क्षेत्रमा वृक्षरोपणका लागि डिभिजनल बन कार्यालयमार्फत काम अघि बढाइएको अध्यक्षको भनाइ छ । उनी भन्छन्– बिरीङ खोलाको दुवैतर्फ तटवन्ध गरिएसँगै खोला एउटै बाटोमा हिँड्ने भएपछि यहाँको बगरमा परिणत भएको भू–भागलाई उर्वरभूमि बनाउन सकिन्छ । सरकारले वगरमा परिणत भएको जमिनमा खेती गर्न कृषकलाई प्रेरित गर्दै सिञ्चाई र मल वीऊ प्रदान गर्न सके यस क्षेत्रका कृषकको जीवनस्तरमाथि उठ्ने अपेक्षासहित आफूहरुले तटवन्धको काम अघि बढाएका हौं– अध्यक्ष पाठकले भने ।

समितिका उपाध्यक्ष महेशकुमार झाले खोला गाउँ पस्ने सम्भावित क्षेत्रमा तटबन्ध गरिसकिएको र बाँकी रहेको क्षेत्रमा पनि तटबन्धको काम भइरहेको बताए । डाँगीवारी क्षेत्रमा तटवन्धको काम ७५ प्रतिशत सकिएको बताउँदै यो वर्ष बाँकी काम सम्पन्न हुने उपाध्यक्ष झाले जानकारी दिए ।

विरीङ खोलामा बाँध निर्माण गरिएकै कारण डाँगीवारी बजार सुरक्षित भएको र यसले वाह्रदशीवासीलाई फाइदा पुगेको वाह्रदशी गाउँपालिका–७का वडासदस्य पूर्णवहादुर थापा बताउँछन् । उनी भन्छन्– यो क्षेत्रमा तटवन्ध नगरिएको भए अहिलेसम्म न हामी रहन्थ्यौं, न त डाँगीवारी बजार नै रहने थियो ।

२०७४ साल यता विरीङ नदीमा आएको बाढीका कारण त्यस क्षेत्रको दुई हजारभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको र १०औं विगाह जमिन भएका मानिस घरबारविहीन हुँदै अरुको जमिनमा आश्रय लिएर बसेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here