एक अर्ब १२ करोड बढीका पाँच विकास योजना उद्घाटन र शिलान्यास

0
1350

झापा।

प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा रहेका विभिन्न विकास योजनाको शिलान्यास र उद्घाटन गरेका छन् । आइतर गृह जिल्ला झापा आएका प्रधानमन्त्री ओलीले कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलकोे उद्घाटन गरे ।

प्रधानमन्त्री ओलीले सङ्घीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरेका हुन् । छ दशमलव २१ किमी लम्बाइको सडकको लागत रु चार करोड १६ लाख २२ हजार १५६ रहेको छ । सो सडकको निर्माण श्री रोताहा आरके जेभीले गरेको हो । त्यस्तै, दमकलाई मोरङको मधुमल्लासँग जोड्ने पुलको लम्बाई २५० मिटर रहेको छ । रु ३० करोड २२ लाख ९१ हजार ७५० लागत रहेको पुल शर्मा लामा स्वच्छन्द जेभीले निर्माण गरेको हो ।

प्रधानमन्त्री ओलीले दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गरेका छन् । उता दमक–चिसापानी–रवि कालोपत्र सडकको शिलान्यास गरे । दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको उनले शिलान्यास गरेका हुन् । विसं २०४७ देखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको काम अघि बढेको छ ।

सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवका अनुसार पहिलो चरणमा ६.२९ किमी कालोपत्र रु २२ करोड ५९ लाख ६४ हजार ६२७ लागतमा बन्नेछ । महालक्ष्मी र किराँतेश्वर जेभीसँग गत २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड आगामी २०७७ पुस २८ गते पूर्णरुपमा कालोपत्र हुने प्रमुख यादवले बताए । यस्तै १५.२६ किमी दोस्रो खण्डको रु ५४ करोड ४४ लाख ८७ हजार ६३९ को लागतमा लुम्बिनी र गणपति जेभीले र ११.३० किमी तेस्रो खण्डको सडकको रु ५९ करोड १५ लाख ३५ हजार ८३४ लागतमा बन्ने जनाइएको छ ।

दमकमा विभिन्न सडकको उद्घाटन र शिलान्यासपछि बोल्दै प्रधानमन्त्री केपी ओलीले देशमा कोही पनि भोकै मर्नुपर्ने अवस्था नआउने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल उर्वर भूमी रहेको भन्दै नेपालजस्तो उर्वर देशमा पशुपन्छी पनि भोकै मर्ने अवस्था नआउने बताए । उनले आफूले दुई लाख रुपैयाँ बराबरको चामल किनेर भण्डारण गरेको भन्दै आवश्यक परेमा वितरण गरिनेसमेत स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले जस्ताको छानो लगाउन जनतालाई सरकारले सहयोग गर्ने भन्दै देशमा कसैको घर पनि फुस र खरको छानोको नहुने बताए । सुकुम्बासीलाई पनि सरकारले उचित बसोबासको व्यवस्था मिलाउने प्रधानमन्त्री ओलीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here