सम्बन्ध दाजुभाइको

0
5664

दिपेन्द्र राउत,

दाजुको आज फूलमाला भयो ! विवाह फागुनमा अरे भाइको मनमा खुशीको सीमा नरहन सक्छ । भाइको मनमा खुशी त थियो, तर मनमा चिन्ता बढेको महशुस मैले गरेँ । ला ! दाजुको विवाह ! भाउजु आउनु हुन्छ धेरै खुशी थोरै दुःख ! २५ वर्षदेखि दाजुभाइ सँगै सुतेको बालापनमा झगडा गरेको खाना खान बस्दा दाजुलाई मासुको छाला मन नपर्ने छाला मलाई मेरो भागमा हालिदिने, सिमीको सब्जी पकाउँदा सिमीको दाना मलाई मन नपर्ने दाजुको भागमा हाली दिने, दाजु–भाइ कयौं घण्टा सँगै खेलेको सम्झना अहिले पनि मेरो दिमागमा ताजै रहेको छ ।

दाजु–भाइको सम्बन्ध भनेको रामायणमा देखाए जस्तो राम लक्ष्मणको जस्तो हुनुपर्छ भन्ने मेरो सोचाई दिमागमा गढेको थियो । दाजुको विवाहमा म खुशी हुनुपर्ने कि दुःखी छु म मेरो मनलाई सोधिरहेको छु । म मस्तिस्कबाट सोची रहेको छु किन म दुःखी ? आखिर के हो दाजु–भाइको सम्बन्ध । यसो सोच्छु मनमा गुन्छु । सन्तानको नाममा हामी मात्र दुई दाजु–भाइ । हामी त दुई दाजु–भाइ, तर हाम्रो समाजमा हेर्ने हो भने कयौं यस्ता दाजु–भाइ छन् जसलाई हेर्दा दाजु–भाइ भन्न गर्व लाग्छ भने कयौं दाजु–भाइको सम्बन्ध शत्रुको सम्बन्धभन्दा बढी दुष्ट रहेको पाउन सकिन्छ । हरेक दाजुभाइको जन्मान्तर दुई तीन वर्ष फरक भएता पनि हेर्दा सँगैको लाग्ने हुन्छ । बालापनमा स्कूल सँगसँगै खेल्दा, सँगै हरेक क्रियाकलाप सँगसँगै गर्ने भएको हँुदा पनि दाजु–भाइको सम्बन्ध गाढा रहेको हुन्छ । कयौं बुबाआमालाई पनि गर्व लाग्छ मेरा दुईवटा छोरा छन् भनेर । हाम्रो समाजमा हेर्ने हो भने पहिलो सन्तान छोरा भएमा बाबुआमा दंग पर्ने अवस्था छ । अनि अर्को सन्तान जे भए पनि हुने छोरी भए राम्रो छोरा भए झन्, दुई भाइ भन्ने प्रचलन रहेको छ । समाजमा हेर्ने हो भने छोरीभन्दा छोरा जन्माउने इच्छा बढिरहेको छ ।

सानोछदा दुई दाजु–भाइ, बा–आमा पनि दंग आफन्त पनि दंग, दाजु–भाइको केही छिन झगडा, केही छिन मिलन यस्तै गर्दै दिनचर्या बितिरहेको हुन्छ । के दाजु–भाइको सम्बन्ध कालान्तरसम्म गाढा भएर रहेको छ त ? के दाजुभाइको सम्बन्ध विवाहपश्चात पनि हिजोको जस्तै छ त ? दाजु–भाइ एउटै बा–आमाका सन्तान भएर रहेका छन् त ? दाजुले भाइलाई, भाइले दाजुलाई गर्ने सम्मान, सहयोग गरेका छन् त ? यसको उत्तर हाम्रो समाज हेर्ने हो भने पाउन सकिन्छ । देख्न सकिन्छ । सानोछदा मिलेका दाजु–भाइ समय सँगै विचार, सोच परिवर्तन हुँदै आएको पाउन सकिन्छ । विवाह पश्चात भने झनै परिवर्तन भएको देख्ने गरेका छौं हाम्रो समाजमा । बाबुआमा सँगसँगै रहँदा दाजु–भाइको मेलमिलाप देखिन्छ भने बाबुआमाको मृत्युपश्चात त दाजु–भाइको सम्बन्ध शत्रुको भन्दा पनि नराम्रो भएको पाउने गरेका छौं ।

कारण के होला भनेर सोच्यो भने धनसम्पत्ति नै मुख्य कारण रहेको पाउने गर्छौं । हिजो दुःख–सुख सँगै भोगेको दाजु–भाइ आज आफूमात्र सुख भोग्न लालायित रहेको पाउन सक्छौं । दाजुले भाइलाई भाइले दाजुलाई कसरी पैत्रिक सम्पत्तिमा ठग्न पाइन्छ, कसरी आफूले बढी लिन सकिन्छ भन्ने सोच आजको समाजको दाजुभाइको बन्दै गएको छ । हरेक घरमा आफ्नै संस्कार हुन्छ , चालचलन हुन्छ त्यही संस्कारले नै परिवारलाई मर्यादित बनाएको हुन्छ । परिवार एकढिक्का बनाउनका लागि महिलाको खास भूमिका रहन्छ ।

विवाह पश्चात भने झनै महिलाको कारणले दाजु–भाइको सम्बन्ध बिग्रन सक्छ या राम्रो बन्न सक्छ । समाज आफन्त, दाजुभाइको सम्बन्धभन्दा पनि बढी पैसाको सम्बन्धलाई महत्व दिँदै आएको छ । आज म यो समाज हेर्दा अचम्म लाग्छ कि एउटा बाबु मेरो दुई भाइ छोरा भनेर गर्व गरिरहँदा दुईवटै सन्तानलाई समान हैसियतले लालनपालन गरिरहँदा दुई सन्तानपछि तिनै बाबुको सम्पत्तिमा लडाई गर्न बाध्य हुन्छन्, त्यो बाबुको सम्पत्ति आफूले बढी पाउनुपर्ने दाबी गरिरहेको हुन्छ । दाजुभाइ एकआपसमा मुद्दा–मामिलामा तल्लिन रहेका छन् । दाजुभाइको सम्बन्ध भनेको बाबुको सम्पत्ति खाने मात्र हो र ! आज तिनै बाबुआमा दाजु–भाइको सम्बन्ध देखेर वाक्क लाग्ने भएका छन् ।

हिजो एकै ठाउँमा राखेर हुर्काएका सन्तानले आज तिनै बाबुआमालाई बाँड्ने भएका छन् । बाबुआमाको सम्पत्तिको अंशवण्डा त गरे तर बाबुआमाको समेत अंशवण्डा गर्ने भएका छन् सन्तान । छोराछोरी हुर्काउन कुनै कसरत नछोडेका बाबुआमा आज तिनै सन्तानले बाबुआमालाई पालेको छु भनेको सुन्दा, बरु वृद्घाश्रममा गएर बस्न बाध्य भएका छन् । बाबुआमालाई भन्दा बढी महत्व सम्पत्तिलाई दिने आजका सन्तान देख्दा बाबुआमा विवश छन्, लाचार छन् । एउटै आमाको दूध चुसेका एउटै बाबुको काखमा हुर्किएका एउटै थालमा खाना खाएर बढेका दाजु–भाइको मानसपटल हेर्दा कुनै छोराले जीवनका धेरै सफलता हाँसिल गर्दछन् भने कुनै छोराले कम सफलता हाँसिल गरेका हुन्छन् । तर, पनि बाबुआमाका लागि सन्तान बराबरै हुन् भन्ने ठान्नु पर्छ ।

जीवन भनेको चक्र हो । दाजुभाइ भनेको शक्ति हो । त्यसैले दाजु–भाइको सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ । साथ सहयोगको भावना हुनुपर्छ एकले अर्कालाई सम्मान र माया गर्नुपर्छ । सम्पत्तिसँग दाजु–भाइको सम्बन्ध तुलना नगरौं । सम्पत्ति भन्ने जीवनमा कमाए पनि नकमाए पनि दाजु–भाइको सम्बन्ध भनेको बाबुआमाले बनाएका हुन् । दाजु–भाइको सम्बन्ध भनेको बाबुआमाको विश्वास भरोसा र शक्ति हो त्यसैले यो सम्बन्धलाई जीवन्त राखौं । पद, प्रतिष्ठा र पावर जति नै उच्च भए पनि दाजु–भाइको सम्बन्ध भनेको दाजु–भाइ नै हो । दाजुले भाइलाई भाइले दाजुलाई गर्ने व्यवहारमा कहिलै फरक नल्याऔं आफ्नो योग्यता, धन, बुद्घि, सम्मान, शुद्घ चरित्र र परिवारप्रति दयाभाव बढाउनुपर्छ । दाजु–भाइको संयुक्त सोचले नै परिवारको संयुक्त रक्षा हुन्छ । संयुक्त ऊर्जाको जन्म हुन्छ । दुःख–कष्ट नष्ट हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here