रेड हर्ष इलामले उचाल्यो कचनकवल गोल्डकपको उपाधि

0
805

भद्रपुर ।

तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि रेड हर्ष फुटबल क्लब इलामले उचालेको छ ।
कचनकवल गाउँपालिका ६ स्थित बनियानी खेल मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्याइज युनाइटेड ललितपुरलाई शून्यको विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै रेड हर्ष इलामले उपाधि उचालेको हो ।

उपाधि उचालेसँगै रेड हर्ष इलामले नगद एक लाख ५० हजारसहित शिल्ड तथा प्रमाणपत्र पाएका छन् । उपविजेतामा चित्त बुझाएका चर्च ब्याइजले नगद एक लाखसहित शिल्ड तथा प्रमाणपत्र पाएका छन् । उपाधि आफ्नो पोल्टामा पार्न पहिलो हाफमा दुवै टिमले आक्रामक पारी खेलेका थिए । पहिलो हाफ गोलरहित बन्यो ।

दोस्रो हाफको ४६ औ मिनेटमा रेड हर्ष इलामले गोल गर्दै अग्रता लिए । इलामको तर्फबाट किस्मत राईले गोल गरे । खेलको ६९ औ मिनेटमा इलामले थप एक गोल गरे । इलामका तर्फबाट मनिष थापाले गोल गरे । प्रतियोगिताको म्यान द सिरिज चर्च ब्याइजका रोशन सुब्बा, उत्कृष्ट गोलकिपर इलामका सौरभ सुवेदी र उत्कृष्ट गोलकर्ता इलामका किस्मत राई घोषित भए । उनीहरूलाई ट्रफि प्रदान गरिएको थियो ।

बनियानी युवा क्लबका अध्यक्ष हरि बस्नेतको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा प्रदेश सांसद वसन्त बानियाँ, कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, ६ नम्बर वडा अध्यक्ष कुलबहादुर कार्की लगायतले मन्तव्य राख्दै खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकामा आधुनिक स्तरको रङ्गशाला स्थापना गर्नु पर्ने बताएका छन् ।

स्वागत मन्तव्य क्लबका उपाध्यक्ष दिलबहादुर कार्कीले राखेको कार्यक्रमको सञ्चालन क्लबका सचिव शिवप्रसाद गुरुङले गरेका थिए । यता प्रतियोगिता सफल बनाउने विभिन्न सहयोगी दाताहरूलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो ।

भ्रमण वर्षमा नेपालकै होचो भूभाग कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा प्रतियोगिताको आयोजना गरिएको क्लबका सल्लाहकार संयोजक रत्नकुमार बुढाथोकीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here