अलैंचीको सूचना केन्द्र निर्माण तीव्र

0
1583

बिर्तामोड।

बहुमूल्य नगदे बाली अलैंची सम्बन्धी सबैखाले जानकारी सहज ढंगले उपलब्ध गराउन सक्ने गरी झापाको बिर्तामोडमा निर्माण शुरु गरिएको अलैंची सूचना केन्द्रको निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

नेपाल अलैंची व्यवसायी महासंघको व्यवस्थापनमा सञ्चालन हुने सूचना केन्द्र तथा महासंघको सचिवालयको पहिलो तलाको ढलाइ भएको छ । अलैंची व्यवसायीहरुकै आर्थिक सहयोगमा बिर्तामोड–७ को हर्कलाल मार्गमा खरिद गरिएको दुई कठ्ठा दुई धुर जग्गामा भवन निर्माण भइरहेको संघका महासचिव सुवास भट्टराईले जानकारी दिए ।

भूइँतलामा सभाहल र सचिवालय तथा पहिलो तलामा व्यवस्थित सूचना केन्द्र सञ्चालन गर्न निर्माणाधीन भवनको भूइँतलाको सम्पूर्ण काम चाँडै सक्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले जानकारी दिए ।

भवन निर्माणका लागि हालसम्म व्यवसायीहरुबाटै आर्थिक सहयोग लिइएको बताउँदै ढुंगानाले व्यवस्थित र प्रविधिसम्पन्न सूचना केन्द्र सञ्चालनका लागि कृषि मन्त्रालयले पनि चासो दिएको महासंघका महासचिव भट्टराईले जानकारी दिए । मन्त्रालयले सो भवनलाई अलैंचीको अनुसन्धान केन्द्रको रुपमा विकास गर्न समेत सुझाव दिएको र त्यसका लागि मन्त्रालयले सहयोग गर्ने आश्वासन आफूहरुले पाएको भट्टराईले बताए ।

पूर्वी पहाडी जिल्लामा ठूलो परिमाणमा उत्पादन हुने अलैंची सम्बन्धी पर्याप्त जानकारी प्राप्त गर्न नसक्दा अलैंची कृषकहरुले विभिन्न समस्या व्यहोर्नु परिरहेको बताउँदै कार्यकारी अधिकृत ढुंगानाले सूचना केन्द्र पूर्णरुपमा सञ्चालनमा आएपछि किसान तथा व्यवसायीको सूचना सम्बन्धी समस्या समाधान हुने बताए ।

सो भवनको दोस्रो तलासम्मको लागत स्टिमेट दुई करोड रुपैयाँको रहेको बताइएको छ । महासंघको संस्थापक अध्यक्ष राजेन्द्रकुमार घिमिरेको पहलमा जग्गा खरिद भएपछि निवर्तमान अध्यक्ष निर्मल भट्टराई र वर्तमान अध्यक्ष राजकुमार कार्कीको विशेष पहलमा भवन निर्माणले सार्थकता पाएको ढुंगानाले बताए ।

अग्रज अलैंची व्यवसायी दिनेशकुमार मित्तलको संयोजकत्वमा गठित भवन निर्माण समितिले निर्माण गरिरहेको सो भवनको सोमबार नै प्रतिनिधि सभा सदस्य तथा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेल लगायतले अवलोकन गरी सहयोगको आश्वासन दिएको ढुंगानाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here