सुरेन्द्र भण्डारी / झापा।

झापामा धानपछि दोस्रो धेरै खेती हुने बालिका रुपमा रुपमा मकैलाई लिइन्छ । उत्पादनका हिसाबले समेत राम्रो हुने भएपछि झापाका अधिकांश कृषक यो समयमा मकै खेती गर्छन् । अझ झापामा मकै जोन कार्यक्रम लागू भएपछि मकै खेती गर्ने कृषकको संख्या बढ्दो छ ।
मकैखीबाटै मालामाल हुने भएपछि अहिले दक्षिणी झापाको झापा गाउँपालिकाका कृषक व्यवसायिक रुपमा मकै खेतीमा जुटेका छन् । सरकारले कनकाई नगरपालिका र झापा गाउँपालिकामा मकै जोन घोषणा गरेपछि मकै खेतीमा कृषकको रुची बढेर गएको हो । मकै जोन कार्यक्रम अन्तरगत अहिले कनकाई र झापा गाउँपालिकामा ५ सय विगाह क्षेत्रफलमा व्यवसायिक मकै खेती गरिएको छ ।
झापा गाउँपालिकाको ६ वटा वडामा झण्डै ८० प्रतिशत क्षेत्रफलमा मकै खेती गरिएको छ । एक विगाह क्षेत्रफलमा यहाँका कृषकले एक लाख देखि एक लाख ५० हजार रुपैयाँसम्म मकै बेचेर आम्दानी गर्ने गरेको झापा गाउँपालिका – ३ निवासी देवकुमार गणेशले बताउनुभयो । उहाँले भन्नुभयो – यहाँ मकैबाटै मालामाल हुने किसान धेरै छन् । अन्य वालीको तुलनामा मकै खेतीबाट धेरै आम्दानी हुनेभएपछि यहाँका कृषक अहिले व्यवसायिक मकै खेतीमा सक्रिय छन् ।’
गणेशले पनि उन्नतजातको मकै खेती गर्नुभएको छ । उहाँले वर्णसंकर (हाइव्रेड) मकै लगाउनु भएको छ । आफूले झण्डै एक हेक्टर क्षेत्रफलमा मकै खेती खेती गरेको गणेशको भनाई छ ।
विगतका वर्षदेखि नै आफूले मकै खेती गर्दै आएको र गाउँपालिकाले अहिले कृषकलाई मकै खेतीका लागि प्रोत्साहन गरेपछि थप उत्साह मिलेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ – अहिले झापाका अधिकांश कृषक मकै खेतीमान व्यस्त छन्, झापामा वडा नम्वर १ देखि ६ सम्म व्यवसायिक मकै खेती हुँदै आएको छ । यहाँका ८० प्रतिशत भू– भागमा मकै खेती देख्न सकिन्छ ।
उनीजस्तै स्थानीय गणितप्रसाद गणेशले पनि मकै खेती सुरु गरेको ८÷१० वर्ष नै भयो । उहाँले पनि मकैखेतीबाटै मनग्य आम्दानी गर्दै आउनुभएको छ । एक विगाहमा एक सय ४० मन मकै उत्पादन गर्ने गणेशले अहिले छैसठी जीरो सात प्रजातिको हाइव्रेड(वर्णशंकर ) मकै खेती गर्नुभएको छ ।

स्थानीय प्रजातिको मकैमा भन्दा हाइव्रेड मकै खेतीमा राम्रो आम्दानी हुन्छ उहाँले भन्नुभयो – एक विगाहमा खर्च कटाएर पनि एक लाख रुपैयाँ नाफा हुन्छ । उहाँले अहिले एक विगाह क्षेत्रफलमा हाइव्रेड मकै खेती गरिरहनु भएको छ ।
धेरै क्षेत्रफलमा र व्यवसायिक मकै खेती गर्ने कृषक मध्मे पदम सुवेदी पनि एक हो । उहाँले अहिले तीन विगाह क्षेत्रफलमा मकै खेती गरिरहनु भएको छ । उहाँको पनि आम्दानी कमैबाट प्रशस्त हुने गरेको बताइएको छ ।
उन्नत जातको मकैको बीऊ नेपालमा नपाइने र मकैको बीऊ खरिदमा धेरै पैसा जाने भएकाले नेपालमै उन्नत जातको मकैको बीऊ तयार गरेर कृषकलाई सरकारले उपलव्ध गराउने हो भने मकै खेती गर्ने कृषकले निरास बन्नु पर्ने अवस्था सृजना हुने थिएन । अहिले मकैको बील खरिदका लागि भारतीय वजारमा भर पर्नु परेको उहाँको भनाई छ ।
झापा गाउँपालिकाले कृषकका लागि विभिन्न शीर्षकमा वजेट विनियोजन गर्दै मकै खेतीका लागि समेत प्रोत्साहन गरेको छ । जसका कराण झापा गाउँपालिकाका कृषकले अहिले तोरी र गहुँ खेती भन्दा धेरै क्षेत्रफलमा मकै खेती गरिरहेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘झापाको सबैभन्दा धेरै मकै उत्पादन हुने क्षेत्र झापा गाउँपालिका नै हो, अझ झापा गाउँपालिका मकै जोन घोषणासँगै कृषकमा मकै खेती प्रति उत्साह छाएको छ ।’
अध्यक्ष साहका अनुसार झापाका कृषक मकै खेतीका लागि अहिले आत्मनिर्भर बन्दै गएका छन् । मकै जोनले किसानको लागत मूल्य घटाउने तथा उत्पादन वृद्धिमा सहयोग गरेकाले गाउँपालिकाका अन्य वडामा पनि मकै जोन विस्तारका लागि पहल गरिरहेको उहाँको भनाई छ । मकै जोन सञ्चालनमा आएपछि उन्नत जातको मकै उत्पादन, समूहमा मकै खेती सुरु भएको झापा गाउँपालिकाका वडा नम्वर १ का अध्यक्ष राजकुमार साहाले बताउनुभयो । मकै भण्डारण केन्द्र निर्माण गर्न सके कृषकलाई थप फाइदा हुने वडा अध्यक्ष साहको भनाई छ ।
झापा गाउँपालिका – ६ मा ५० विघा क्षेत्रफलमा मकै खेती हुँदै आएको बताइएको छ । झापा गाउँपालिकाको प्रत्येक वडामा १ हजार विघा जमिनमा मकै खेती गर्न सकिने बताइन्छ ।
सरकारले मकै खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न जोन कार्यक्रम लागू भएको स्थानमा अनुसन्धान, माटो तथा बाली संरक्षण शिविर, आकस्मिक बाली संरक्षण सेवा, प्रविधि प्रदर्शन, कस्टम हायरिङ सेन्टर स्थापना, साना सिँचाइ, उद्यमशीलता तथा क्षमता अभिवृद्धि तालिम, प्रचारप्रसारलगायत विभिन्न १२ वटा शीर्षकमा बजेट विनियोजन गरिएको छ ।
उत्पादनका लागि उर्भर भूमि मानिने झापा र कनकाई गाउँपालिकामा मात्रै मकै जोन सञ्चालनका लागि चालू वर्ष संघीय सरकारबाट १ करोड २४ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन भएको झापा जिल्ला जोन परियोजना कार्यान्वयन इकाइका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षबाटै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा मकै जोन कार्यक्रम सञ्चालनमा छ ।झापा गाउँपालिका– ६ र कनकाई नगरपालिका–५ मा गरी ५ सय हेक्टर क्षेत्रफलमा मकै जोन कार्यक्रम सञ्चालनमा रहेको सुवेदीको भनाई छ ।
झापामा प्रत्येक वर्ष २ लाख ८ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । झापामा बसन्ते मकै ३१ हजार हेक्टर र हिउँदे मकै ८ हजार हेक्टर र बर्खे मकै ९ सय हेक्टरमा उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र झापाको तथ्यांकमा उल्लेख छ ।
नेपालमा ९ लाख ५८ हजार हेक्टर जमिनमा मकै खेती गर्न सकिने सरकारी तथ्याङ्क छ । गत वर्ष उत्पादन भएको ४ टन हाइब्रिड मकैमध्ये झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले नमूना एकीकृत खेतीमार्फत २.२ टन मकै उत्पादन गरेको थियो ।
देशभरमा चार टन उत्पादन भएको रामपुर १० जातको बीउमध्ये समूहले मात्र दुई टन उत्पादन गरेको एकीकृत खेतीका अध्यक्ष वेधनिधि चापागाईंले जानकारी दिनुभयो । बाँकी २.५ टन मकै लुम्बिनी सीड उत्पादन कम्पनीले गरेको थियो ।
नेपालमा वार्षिक १० हजार टन हाइब्रिड मकैको बीउ आवश्यक पर्दै आएपनि नेपालको उत्पादन चार टनमात्र रहेको बाली अनुसन्धान कार्यक्रम रामपुरको तथ्यांकमा उल्लेख छ । बाँकी बहुराष्ट्रिय कम्पनीका मकैको बीऊ नेपाल भित्रिने राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा. केशवबाबु कोइरालाले बताउनुभयो ।































