न्याय माग्दै बिद्यार्थीको साङ्लो प्रदर्शन

0
1141

भद्रपुर।

छात्राको झुण्डिएको अवस्थामा शङ्कास्पद शव फेला परेको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न विद्यार्थीले माग गरेका छन् ।

दक्षिणी झापाको कचनकवल–६स्थित बनियानी चोकमा विद्यार्थीले वृहत् बिद्यार्थी साङ्लो प्रदर्शन गर्दै न्यायको माग गरेका हुन् । कचनकवल गाउँपालिका–२ बस्ने लक्ष्मीप्रसाद देवकोटा माविमा कक्षा ६मा अध्ययनरत् १४ बर्षीया छात्रा विष्णुमाया कार्कीले झुण्डिएर आत्महत्या नगरेको र उनको हत्या भएको भन्दै गाउँपालिकाभरिका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले झापाको प्रहरी, प्रशासन समक्ष न्यायका लागि दबाब दिन बृहत् विद्यार्थी साङ्लो प्रदर्शन गरेका हुन् । दुई हजारभन्दा बढी सहभागी विद्यार्थीहरूले हातमा हात मिलाएर साङ्लो प्रदर्शन गरेका थिए ।

नेपाल शिक्षक महासंघ कचनकवलको नेतृत्वमा विद्यार्थीले पथरिया बजारदेखि बनियानी चौकसम्म, पाठामारीदेखि बनियानी चौकसम्म, बालुवाडीदेखि बनियानी चौकसम्म साङ्लो प्रदर्शन गरी न्यायका लागि दबाब दिएका थिए । बिद्यार्थी साङ्लो प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै भैरव राजवंशीले छात्रा विष्णुमायाको हत्या भएको भन्दै घटनाको छानबिन गरी हत्यारालाई कानूनी दायरामा ल्याउन माग गरेका थिए ।

यता मृतक छात्रा विष्णुमायाका परिवारजनको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकोले आइतबार गाउँपालिकाभरिका सम्पूर्ण शिक्षक र बिद्यार्थीले आफ्नो एक दिनको खाजा खर्च बापतको रकम जम्मा गरी पीडित परिवारलाई हस्तान्तरण गर्ने नेपाल शिक्षक महासंघ कचनकवलका रत्नकुमार बुढाथोकीले जानकारी दिए ।

छात्रा विष्णुमायाको शव झुण्डिएको अवस्थामा फागुन ५ गते सोमबार बिहान स्थानीयले चिया बगानको नालामा फेला पारेका थिए । उनको शवको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको स्थानीयको दाबी छ ।

यता प्रहरी कार्यालय झापाले घटनाको सूक्ष्म अनुसन्धान शुरु गरिसकेको जनाएको छ । ‘मृतक किशोरीको परिवारजन र स्थानीयसँग घटनाको विषयमा अनुसन्धान गरिरहेका छौं’– जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले भने– ‘आइतबारसम्म पोस्टमार्टमको रिपोर्ट आउने कुरो छ, रिपोर्ट आएपछि घटनाको सत्यता बाहिर आउँछ, ल्याएर छाड्छौं ।’

यसैबीच कार्कीको आत्महत्या नभई हत्या भएको हुन सक्ने भन्दै नेपाल विद्यार्थी संघ झापाले जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापनपत्र बुझाएको छ ।

किशोरी कार्कीको घटनाको सत्य–तथ्य छानविन गरी हत्यारा खोजी कानूनी कारबाहीको माग राख्दै नेविसंघका जिल्ला सभापति राजेन्द्र उप्रेतीको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरलाई घटनाको विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।

विद्यार्थी नेताहरूले हत्यारा उम्कन सक्ने भन्दै तत्काल खोजी गरी कानूनी दायरामा ल्याउन माग गरेका थिए । यता ज्ञापनपत्र बुझ्दै प्रजिअ रानाले किशोरीको हत्या भए वा नभएको जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जानकारी आएको बताउँदै हत्या प्रमाणित भए हत्यारालाई कानूनी कारबाही हुने विश्वास दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here