आफू मरेर यात्रुलाई बचाउने चालकद्वयका शालिक चार वर्षदेखि थन्किए

0
441

बाँके,

एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भन्नुभएको थियो, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ ।’ उहाँका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा प¥यो । कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा सो कम्पनीको जहाज २०७२ साल फागुन १४ गत दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सबै यात्रु सकुशल रहे, तर क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले ज्यान गुमाउनुभयो । नेपालगञ्जबाट जुम्लाका लागि उडेको सो जहाजको इञ्जिन एक्कासि फेल भएपछि फोर्स ल्यान्डिङ गर्ने क्रममा भएको सो दुर्घटनाबाट यात्रुलाई पुनःजन्म दिँदै चालकद्वयले चिलखाँयामै आफ्नो जीवन बिसाउनु परेको थियो ।

‘प्याक–७५० एक्सएल’ सिंगल इञ्जिन जहाज उडेको ३० मिनेटपछि दैलेखको हाउडेलेक आसपास पुग्दा प्राविधिक समस्या आएर इञ्जिनले पूर्णरुपमा काम गर्न छोड्यो । क्याप्टेन न्यौपानेले इञ्जिनलाई पुनः सञ्चालन गर्ने प्रयास सम्भव भएन । जहाज ग्लाइड (बेलुनजस्तै उडाएर) गरेर नजिकै फोर्स ल्यान्डिङका लागि उपयुक्त ठाउँ खोजियो ।

कालीकोटको चियाखाँयामा फोर्स ल्यान्डिङ गराउँदा भिरालो जमीन र काल्नासहितको गराका कारण विमान भित्तामा ठोक्किएर दुर्घटनामा प¥यो । इञ्जिनमा समस्या भएपछि ‘इमर्जेन्सी पोर्सिडियर’अन्तर्गत विमानलाई करिब पाँच मिनेट ग्लाइड गरेर आठ नटिकल माइल दूरी पार गराउन सफल भए पनि पाइलटद्वयले आफ्नो मृत्युलाई भने जित्न सक्नुभएन ।

विमानको अगाडिको भाग ठोक्किएपछि क्याप्टेन न्यौपाने र को–पाइलट राना ककपिटमै किच्चिनुभयो । क्याप्टेन न्यौपानको तत्कालै र को–पाइलट रानाको उद्धारमा ढिलाइ हुँदा करिब डेढ घण्टापछि निधन भएको थियो । चालक द्वयलेआफू मरेर पनि जहाजमा सवार एक नाबालकसहित नौको ज्यान जोगाउन सफल हुनुभयो ।

जहाजको इञ्जिनभित्र रहेका छ वटा बेरिङमध्ये पहिलो नम्बरको बेरिङ ड्यामेज हुँदा इञ्जिन फेल भएको तत्कालीन छानबिन आयोगको प्रतिवेदनले देखाएको छ । ‘आफू मरेर अरुलाई बचाउने न्यौपाने’ले पाइलट कोर्स र सिनियर क्याप्टेनको तालीम अमेरिकामा लिनुभएको थियो । यात्रुलाई जीवन दान दिनुभएका न्यौपाने र रानाले वीर पदक पाउनुभयो ।

चालकद्वयकै सम्मानमा नेपालगञ्ज–२० मा रहेको राँझा चोकलाई पाइलटचोकका रुपमा नामकरण गरियो । उपमहानगरपालिकाको सहयोगमा क्याप्टेन दिनेश प्रतिष्ठानले राँझा चोक पश्चिमतर्फ शालिक निर्माण गर्ने तयारी ग¥यो । राँझा चोक पाइलट चोकमा रुपान्तरण भएपछि शिलान्यास पनि भयो । महिना नबित्दै शिलान्यास गरिएको ठाउँबाट एकाएक बोर्ड हटाइयो ।

उपमहानगरपालिकाले बाटिका, प्रतीक्षालयसहित क्याप्टेनद्वयको शालिक राख्नका लागि १० धुर जग्गा उपलब्ध गराएको छ । चालक दिनेशका बुबा मानदत्त न्यौपानेले भन्नुभयो, “दुःखमा रहेका हामीलाई त्यतिबेला झुठो आश्वासन दिइयो । अहिले राँझा चोकमा दुई पाइलटको शालिक राखेर नामकरण गर्ने विषयमा राजनीति गर्न खोजिएको, हामीसँग पैसा असुल्न खोजियो ।”

नेपालगञ्ज–१२ मुक्तिपुर निवासी क्याप्टेन दिनेश र पाल्पा निवासी को–पाइलट रानाको शालिक राख्ने विषय केही समस्या देखिएको दिनेशका बुबा मानदत्तले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई शालिक मात्र राख्न दिए हुन्छ, नाम राँझा चोक नै भए पनि हामीलाई गुनासो छैन ।” शालिक निर्माणमा भएको ढिलाइप्रति घरपरिवार, शुभेच्छुक र आफन्तले गुनासो गरेका छन् ।

आफ्नो पेशाप्रति इमान्दारिता देखाइ बहादुरीपूर्वक जहाजमा रहेका सबै यात्रुलाई सुरक्षित राखेर आफूले वीरगति प्राप्त गर्ने चालक र सहचालकको योगदानलाई राजनीतिसँग जोडेर विवाद निम्त्याउन खोजेको बुबा मानदत्तको आरोप छ । उहाँले भन्नुभयो, “किरिया खर्च भनेर त्यतिबेला एयरलाइन्सबाट रु एक लाख पाएका थियौँ, त्यसपछि कुनै क्षतिपूर्ति पाएका छैनौँ ।”

चालकद्वयका शालिक अहिले पनि त्यसै थन्किएका छन् । “करिब रु सात लाख खर्चेर निर्माण गरिएका शालिक थन्किएका छन्”, मानदत्तले भन्नुभयो, “बाटिकाको नाम जे भए पनि शालिक राख्न पाए हामीलाई सन्तोष हुने थियो । जसले अरुको ज्यान बचाएर आफ्नो जीवनलाई विश्राम दिए उनैको अपमान गरिएको छ ।”

बाटिका बनाउने भनिएको शालिक निर्माणस्थललाई हाल सद्भाव बाटिका लेखिएको छ । २०७३ जेठ १५ गते नेपाल सरकारले चालकद्वयलाई शहीद घोषणा गरी मरणोपरान्त वीर पदकले सम्मान गरेको थियो भने २०७२ साल चैत ४ गते पाइलट चोक नामकरण भयो । जहाज उडाउन थालेको आठ वर्षमै न्यौपानेले दुर्घटनामा ज्यान गुमाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here