पहिचान जोगाउन जुटे सन्थाल

0
826

आत्माराम राजवंशी
गौरीगञ्ज, झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्दै आएका सन्थाल जाति आफ्नो भाषा, लिपि, संस्कार र संस्कृति संकटमा परेको भन्दै यसलाई जगेर्ना गर्न एकजुट भएका छन् ।


गौरीगञ्ज–२ बाघाहाचौधरीमा सोमवार आयोजित कार्यक्रममा पूर्वी नेपालको झापा, मोरङ, सुनसरीसहित भारतको झारखण्डबाट आएका सन्थालहरूले आफ्नो भाषा, संस्कार र संस्कृतिलाई जगेर्ना गर्न अभियान चलाएका हुन् ।
परम्पराकालदेखि चलिआएको भाषा संस्कृति र पहिचान नयाँ पुस्ताहरूले अंगिकार नगर्दा लोप हुने अवस्थामा पुगेको भन्दै सचेतनाका लागि यस्तो अभियान थालिएको भारत झारखण्डका सन्थाल समुदायका अभियन्ता साल्खन मुर्मूले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साल्खनले सन्थाल समुदायको बाहुल्य रहेको क्षेत्रहरूमा आफ्नो भाषा, संस्कृतिलाई संरक्षण गर्न अभियान शुरू गर्नुपर्ने आवश्यक रहेकोले सोही अनुरूप झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा सचेतना अभियान सञ्चालन गरेको बताए । सन्थाल समुदायको ठाउँ विशेष अनुसार रहन–सहन, संस्कृति मनाउने विधि, पहिरन र अतिथि सत्कारको प्रक्रियाहरू नयाँ पुस्ताले फरक–फरक तरिकाबाट मनाउन थाले पछि यसलाई एकरूपतामा ढाल्न अभियानले सहयोग पु¥याउने अभियान टोलीका प्रमुख बुद्धिलाल सोरेनले बताए ।
सन्थाल समुदाय लोपोन्मुख समुदाय भएको र यो समुदाय गरिबीको रेखामुनि भएकोले उनीहरूसँग भएको सिपको पहिचान गरी सरकारले संरक्षण गर्नुपर्ने गौरीगञ्ज कार्यपालिका सदस्य जेठा मुर्मूको भनाइ थियो । पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लाहरूमा बसोवास गर्दै आएका सन्थाल समुदायमा पछिल्लो समय विस्थापित हुने क्रम बढ्दो छ ।
२०६८को जनगणना अनुसार नेपालमा सन्थाल जातिको संख्या ५१ हजार ७ सय ३५ रहेको छ । तर, हाल यो जनसंख्या घट्नुको साथै उनीहरूमा अशिक्षा, वेरोजगार र नागरिकताविहीन लगायतका समस्याले भारततर्फ पलायन भएको सन्थाल समुदायका अगुवाहरू बताउँछन् । एक रिपोर्ट अनुसार नेपालमा सन्थाल जातिका करिब ५ हजार मानिसहरू अनागरिक छन् । उनीहरूका बुबाआमाको जन्मसिद्ध नागरिकता भएकाले नेपालमा जन्मिएता पनि अनागरिक छन् ।
कार्यक्रममा सन्थाल समुदायको जाहेर थान र माझी थान स्थापना गरेर थानहरूमा उक्त समुदायका शहिदहरूको स्मृतिमा तस्वीरहरू राखिएका थिए ।
थानहरूमा शहीदहरू सिद्व मुर्मू, कानु मुर्मू, साल्खन मुर्मू र तिल्का मुर्मूलगायतका तस्वीरहरू राखिएका थिए । समाज उत्थानका लागि विशेष योगदान पु¥याएको भन्दै उनीहरुको फोटो राखिएको बताइएको छ ।
सन्थालको भाषा, लिपि
झापाको बाह्रदशी गाउँपालिकाका–२ राजगढका शिबु मुर्मूले सन्थाली भाषाको वर्णमाला (ओल माला) लेखेका छन् । बाह्रदशी सन्थाल समाजको प्रकाशनमा छापिएको वर्णमाला नयाँ पुस्तालाई सन्थाल भाषा र लिपिको जानकारीको लागि र पाठ्यक्रम निर्माणका लागि सहयोग पु¥याउने वर्णमालाका लेखक मुर्मूले बताए ।
सन्थाल जातिको मुख्य चार पर्व
१. सोहराय पर्व ः सन्थाल जातिले प्रत्येक वर्षको माघे पूर्णिमामा यो पर्व मनाउँछन् । आफ्ना चेलीवेटी, आफन्त, नातेदारहरूलाई बोलाई नाचगान गर्दै ६ दिनसम्म यो पर्व मनाउने चलन छ । यो पर्वको अन्तिम दिन अर्थात् छैठांै दिन शिकार खेल्ने चलन छ । क्षमता अनुसार माछा, मासु लगायत विभिन्न परिकार बनाइ गाउँका सबै छरछिमेक एकै स्थानमा भेला भई खाने चलन छ ।
२. बाहा पर्व ः यो पर्व फागू पूर्णिमाको दुई दिन अघिदेखि पूजा गर्ने चलन छ । सखुवाको बोटमा देउताको बास हुने पुर्खाहरूको जनविश्वास अनुरूप सखुवाको फूललाई पूजा गरिन्छ । महिलाहरू बसेर गीत गाएर देउता पुकार्ने चलन यस पर्वमा रहेको छ ।
३. एरअ पर्व ः प्रत्येक वर्षको असार ८ गते बीऊ राख्ने दिन अर्थात् भूमिराजको पूजा गर्ने चलन एरअ पर्व हो । यो पर्वमा गाउँ समाजका मानिसहरु भेला भई परेवा, कुखुरा उडाउँछन् । तोकिएको दिनमा जोहरथानमा गई सबै भेला भएर पुजारीले पूजा गर्छन् र प्रसादको रूपमा मासु र चामललाई एकैठाउँमा मिसाई खिचडी पकाएर सबैलाई प्रसादको रूपमा वितरण गर्ने चलन रहेको छ ।
४. जान्थड पर्व ः कात्तिक पूर्णिमाको दिनलाई नयाँ वाली भित्र्याउने दिनको रूपमा यो पर्व मनाइन्छ । यो जातिले नयाँ वाली धान र दूधको प्रसाद बनाएर जाहेर थान र माझी थानमा चढाई नयाँ वाली घर भित्र्याउने चलनलाई पर्वको रूपमा मनाउने गर्छन् । प्रत्येक घरमा कुलदेवतालाई नयाँ वाली चढाई पूजा गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here