बच्चा बोकेकी महिलालाई प्रहरीले लाठ्ठी प्रहार गरेपछि…

0
1187

झापा ।

प्रहरी मेरो साथी नारा नेपाल प्रहरीमा निकै चलेको छ । तर, बेला–बेला प्रहरी आफ्नै कारण विवादमा पर्ने गरेको छ । नेपाल प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको चौतर्फि आलोचना शुरु भएको छ ।

नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले अर्की महिलालाई लाठीचार्ज गरेका हुन् । स्रोतका अनुसार पौडेलले बिहीबार दिउँसो आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई लाठी हानेका हुन् । भिडियोमा देखिएका बेला उनी बच्चासहित छिन् । पौडेल महानगरीय प्रहरी वृत्त, भैंसेपाटीका इञ्चार्जको रुपमा कार्यरत छन् ।

अर्काको घरमा छिरेर हुलहुज्जत र तोडफोड गरेपछि सामान्य बल प्रयोग गरिएको पौडेलले बताए । श्रेष्ठले आफूहरुलाई लाठीचार्ज गर्नुले प्रहरीको नियत प्रष्ट पारेको बताएकी छन् । यसैबीच घटनामा संलग्न प्रहरी माथि छानबिन शुरु भएको बताइएको छ । प्रहरीले बच्चा बोकेकी महिलालाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

घटना कसरी शुरु भयो ?

महानगरीय प्रहरी परिसर, ललितपुरमा गत भदौमा खत्रीले तीन महिलाले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएका थिए । मोबाइलसमेत लुटेर लगेको उनको दाबी थियो ।
त्यस क्रममा शाह र खत्रीको सम्बन्ध सतहमा आयो र अनुसन्धानले अर्को मोड लियो । यो विषय प्रहरीमा पुग्नु अगावै शाहले सामाजिक सञ्जालमा त्यसबारे अभिव्यक्ति दिँदै आएकी थिइन् ।
शाहले खत्री आफ्नो श्रीमान भएको र दुई दशकदेखि सँगै बसेको दाबी गरिन् । त्यसैले नाता प्रमाणित गरिदिनुपर्ने उनको माग थियो । तर, खत्रीले द्वन्द्वको समयमा शाह आफ्नो एक जना सूचक मात्र भएको दाबी गरेका छन् । त्यसबाहेक कुनै सम्बन्ध नरहेको उनको दाबी छ ।

ललितपुर प्रहरीले दुवै पक्षलाई राखेर ६ पटकसम्म छलफल गरायो । महिलाले खत्रीलाई छोराछोरी पढाउन २० लाख रुपैयाँ पनि दिएको दाबी गरेकी छन् । त्यो पनि फिर्ता पाउनुपर्ने उनको दाबी छ । कानूनतः नाता प्रमाणितका लागि अदालत जानुपर्छ । यद्यपि, दुई पक्षबीच छलफलबाट कुनै निकास ननिस्किएपछि प्रहरीले घटनामा चासो दिन छाडेको थियो ।

अन्तिममा प्रहरीले शाहलाई कुनै वकिलको सहयोग लिएर अदालत वा महिला आयोगमा जान सुझायो । त्यसपछि खत्रीको घरमा आफूलाई मानवअधिकारकर्मी बताउने विभिन्न व्यक्तिले नियमितजसो धर्ना दिन थालेका थिए । बिहीबार पनि यही क्रममा महिलाको एक हुल युट्युबरसहित धर्ना दिन पुगेको प्रहरीले जनाएको छ ।
खत्रीले प्रहरीमा खबर गरेपछि इन्स्पेक्टर पौडेल नेतृत्वको टोली उनको घरमा पुगेको थियो । त्यसक्रममा उनले बल प्रयोग गरेका हुन् । बच्चासहित बसेकी महिलालाई लाठी हानेपछि अहिले प्रहरीको आलोचना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here