दमक,
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को ३३ औँ कार्यालय दमक कार्यालयको शुक्रबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । २०७५ साल पुस महिनाबाट दमकमा काउन्टर सञ्चालन गरेपनि औपचारिक उद्घाटन भने शुक्रबार भएको हो ।
बहुउद्देश्यीयको रुपमा रहेको संस्थाले हालसम्म बैङ्किङ व्यवसाय बाहेक डेरी व्यवसाय, एकीकृत नमुना कृषि फर्म र सहकारी पसल व्यवसाय सञ्चालनमा ल्याएको छ । जिल्लाभरी ३८ वटा बैङ्किङ शाखा सञ्चालनमा रहेको एनएमसीका माघ मसान्तसम्म ८० हजार पाँच सयभन्दा बढी सदस्य रहेको कार्यक्रममा जानकारी दिइएको छ ।
प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ८ सय ८० करोडको वासलात अंक रहेको र चार वटा ठूला व्यवसाय एनएमसीले सञ्चालन गरिरहेको र ती व्यवसायहरुमध्ये मातृ व्यवसायको रुपमा बैंकिङ व्यवसाय नै रहेको अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । शुरुवाती चरणमा डेरी व्यवसायमा घाटा भएपनि किसानसँगको सम्बन्ध र संस्थाको सामाजिक दायित्वको कारणले डेरी उद्योग बन्द नगरी घाटामै सञ्चालन गरिएको र हाल आएर डेरी व्यवसायले नाफा दिन थालेकोले संस्था थप बजबुत भएको अध्यक्ष उप्रेतीको भनाई थियो । एनएमसी डेरीको कारण दुग्धजन्य उत्पादनमा हाल झापा जिल्लाले गुणात्मक फड्को मारेको जानकारी दिइयो ।
प्रमुख अतिथिको रुपमा बोल्दै प्रदेश सभा सभा सदस्य अर्जुन राईले सहकारी सञ्चालकहरुको नियतको कारण दमक क्षेत्रमै सञ्चालनमा रहेका केही सहकारीमा निक्षेप फिर्ता दिन नसकेको गुनासो आफूहरुसँग आइरहेको बताए । ‘तपाईँहरु अभियन्ताहरु हुनुहुन्छ, राज्यले पनि तीनखम्बे अर्थनीति लिएर सहकारीलाई सहयोग गरिरहेको छ, नियम कानुनमा कुनै सुधार ल्याउनु पर्ने वा थप सहकारीमैत्री कानुन बनाउन आवश्यक रहेमा सुझाव दिनुहोस्’ राईले भने ।
उद्योग वाणिज्य संघ दमकका कार्यवाहक अध्यक्ष गोपाल गुरागार्इँले दमक क्षेत्रमा सहकारीहरुले व्यवसायीहरुको निक्षेप रकम समेत फिर्ता गर्न नसकेको हिसाब किताब हिनामिना गरिरहेको अवस्थामा एनएमसी जस्तो विश्वसनीय संस्था दमकमा आउनु खुसीको कुरा भएको बताए ।
कार्यव्रmममा झापा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष तुलाराम न्यौपाने, साधारण सदस्य फडिन्द्रमणि खतिवडा, सहकारीकर्मी चन्द्रा खड्का भट्टराई लगायतले बोलेका थिए । एनएमसी दमक कार्यालयगत उपसमिति संयोजक प्रेम भट्टराईको सभापतित्वमा भएको कार्यव्रmमको सञ्चालन कार्यालय प्रमुख राजकुमार गरेका थिए । २०५० सालमा स्थापना भएको एनएमसीले गत वर्ष नेपाल सरकारबाट दुई लाख रुपिायाँसहितको वर्ष उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको थियो ।































