बिर्तामोडमा बहुसाँस्कृतिक पर्यटन महोत्सव

0
886

बिर्तामोड।

नेपाल भ्रमण वर्ष २०२० को प्रवद्धन गर्ने उद्धेश्यले झापामा वहुसाँस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव हुने भएको छ ।

झापामा वढीभन्दा वढी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्धेश्यले ग्लोवल मल्टीकल्चरल अर्गनाइजेशन नेपाल काठमाडौंको आयोजनामा आगामी फागुन २३ गतेदेखि तीनदिने वहुसाँस्कृतिक आध्यात्मिक पर्यटन महोत्सवको आयोजना गरिएको विर्तामोडमा शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

फागुन २३ गते शुक्रवार कनकाई नदीको किनारमा पाँच हजार भन्दा वढीको सहभागितामा गंगा आरती गरी महोत्सवको शुभारम्भ गरिने ग्लोवल मल्टीकल्चरल अर्गनाइजेशन नेपालका अध्यक्ष एलपी वुढाथोकीले जानकारी दिए ।

त्यस्तै विर्तामोडको सुगम पेट्रोलपम्प छेउको खुलाचौरमा फागुन २४ र २५ गते राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा ख्याती कमाएका व्यक्तिलाई सम्मान , विभिन्न जातजातिका झाँकी , नृत्यलगायतका विविध कार्यक्रम गरी महोत्सव समापन गरिने उनले जानकारी दिए । कनकाई नदीको किनारमा हुने गंगा आरती सहित महोत्सवको शुभारम्भ प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने र उक्त कार्यक्रममा सबै धर्म सम्प्रदायका गुरुहरुले प्रवचन समेत गर्ने बताइएको छ ।

त्यस्तै सुगम पेट्रोलपम्प छेउको खुलाचौरमा हुने महोत्सवको उद्घाटन प्रदेश–१ का आन्तरिक तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्ने अध्यक्ष बुढाथोकीले जानकारी दिए । महोत्सवमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायलाई राष्ट्रिय प्रतिभा पुरस्कार, गायक प्रितम आर्चाय र गायिका मेनुका पौडेललाई अन्तराष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । महोत्सवमा मल्टिट्यालेन्ट पुरस्कार,ज्येष्ठ नागरिक पुरस्कार, वरिष्ठ गायन, साहित्यकार, वाद्यवाधक, नाट्य, सामाजिक संघ संस्था, मुक्ति कला, सञ्चारक्षेत्र लगायतका विविध क्षेत्रमा पुरस्कार प्रदान गरिने समेत बताइएको छ ।

महोत्सव सफल पार्न बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको संयोजकत्वमा महोत्सव आयोजक मूल समिति गठन गरिएको कार्यक्रममा जानकारी दिइयो । समितिको सहसंयोजकमा ध्रुवप्रसाद शिवाकोटी, सचिव माधव कल्पित, सह–सचिव कञ्चना ढकाल (सिटौला) र गोपाल खनाल रहेका छन् ।

सदस्यहरुमा उमा शिवाकोटी, शंकर भट्टराई, सजेश शिवाकोटी, नारायण चिमरिया, राजु न्यौपाने, बलराम कार्की, सुवास भट्टराई, घनश्याम चौधरी, देवी गिरी, लक्ष्मी गौतम, पदम प्रसाई, मिजास पोख्रेल, सुस्मा पौडेल, गजेन्द्र पौडेल, राजकुमार साह र देवीभक्त श्रेष्ठ रहेका छन् ।

ग्लोवल मल्टीकल्चरल अर्गनाइजेशन नेपालका अध्यक्ष एलपी वुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कुमार भट्टराई, ध्रुवप्रसाद शिवाकोटी, सल्लाहकार प्राज्ञ पवन राजवंशीले बोल्दै महोत्सव सफल बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । महोत्सवमा दैनिक पाँच हजार दर्शक आउने अपेक्षा गरिएको बताइएको छ । पत्रकार सम्मेलनको सञ्चालन माधव कल्पितले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here