झापामै पहिलो पटक कचनकवलमा एसइई अभ्यास परीक्षा

0
831

भद्रपुर,

झापा जिल्लामै पहिलो पटक कचनकवल गाउँपालिकाले एसइई तयारी ( अभ्यास) परीक्षा सञ्चालनमा ल्याएको छ। जिल्लाको १५ वटा स्थानीय तहमध्ये कचनकचवले आगामी चैत ६ गते हुन गइरहेको एसइई परीक्षालाई लक्षित गर्दै आइतबारदेखि गाउँपालिकाभरिबाट एसइई परीक्षामा सामेल हुन विद्यार्थीका लागि अभ्यास परीक्षा सञ्चालनमा ल्याएको हो।

शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पहिलो पटक यस्तो परीक्षा सञ्चालनमा ल्याएको शाखा प्रमुख छवि बस्नेतले जानकारी दिए। उनका अनुसार एसइई अभ्यास परीक्षाका लागि शाखाले दुई वटा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्दैछ।

सामुदायिक तथा निजी गरी १० वटा विद्यालयबाट छात्रछात्रा गरी ५ सय ६५ विद्यार्थी परीक्षामा सामेल भएका छन्। ‘लक्ष्मी मावि बनियानी र पथरीया मावि पथरीयामा सरकारले तोकेको एसइई परीक्षा तालिका अनुसार नै अभ्यास परीक्षा सञ्चालन गरेका छौं,’ उनले भने, ‘फागुन २५ गतेसम्म सञ्चालन हुने परीक्षाको प्रश्नपत्र झापाका विज्ञ शिक्षकले तयार पारेको हो। उत्तर पुस्तिका एसइई परीक्षामा दिइने जस्तै छपाएर दिएका छौं।’ ‘एसइई परीक्षामा सामेल हुने विद्यार्थीका लागि शाखाले गत माघ २५ गते विद्यालयस्तरमै एक पटक यस्तो किसिमको परीक्षा लिइसकेको छ।

यो परीक्षा दोस्रो पटक गरिएको हो’, उनले भने। ‘केन्द्रबाट लिइने परीक्षा यस्तै हो भनेर विद्यार्थीको आत्मविश्वास र हौसला बढाउनुका साथै राम्रो परीक्षाफल आउने उद्देश्यले यस्तो किसिमको परीक्षा आयोजना गरेका हौं,’ उनले भने, ‘यो परीक्षाले विद्यार्थीले उत्तर पुस्तिका कसरी भर्ने? केन्द्रको पहिचानसँगै परीक्षा वातावरण कस्तो हुने, मनमा भएको डर र त्रास हटाउने उद्देश्य पनि हो।’ लक्ष्मी माविमा (क) र (ख) दुई वटा केन्द्र तोकिएको छ। ९क० केन्द्रमा लक्ष्मी माविका १०१ जना विद्यार्थी र (ख) केन्द्रमा जानकी मावि, कचनकवल अंग्रेजी मावि, विद्या निकेतन अंग्रेजी माविका गरी १७७ जना विद्यार्थी परीक्षामा सामेल भएका छन्, भने पथरीया माविको केन्द्रमा पथरीयासहित महेन्द्र मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, मोती मावि, स्विडेन अंग्रेजी मावि, विद्या वाणी अंग्रेजी मावि र शिव माविका गरी २ सय ८७ जना विद्यार्थी परीक्षामा सामेल भएका छन्।

‘गाउँ पालिकाको शिक्षा नीति तथा कार्यक्रममा अभ्यास परीक्षाको कार्यक्रम परेको थिएन। गाउँपालिकासँगको सहकार्यमा विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यो कार्यक्रम लागु गरेका हौं,’ उनले भने। यो परीक्षामा सम्पन्न गर्न करिब ५६ हजार खर्च हुने उनले बताए। गाउँपालिकाले ल्याएको यस्तो परीक्षा कार्यक्रमबाट विद्यार्थीको मनोबल उच्च भएको लक्ष्मी माविका केन्द्र अध्यक्ष सुभद्रा अधिकारीले बताइन्।

परीक्षामा वातावरण कस्तो हुने जिज्ञासा मेटाउने अवसर सहभागी विद्यार्थीले पाएको उनले बताइन्। शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत गाउँपालिकाले ल्याएको यस्तो किसिमको कार्यक्रमले गाउँपालिकाभरिका विद्यार्थीको शैक्षिक गुणस्तरमा पक्कै सुधार आउने कचनकवल माविका प्रधानाध्यापक खगेन्द्र पाण्डेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here