अर्जुनधारा ।

‘शहीदहरुको सम्मान, महिला खेलाडीहरुको प्रोत्साहन’ भन्ने नारा सहित प्रदेश १ स्तरिय सुखानी शहीद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिता बुधबारदेखि झापाको अर्जुनधारामा सुरु भएको छ ।
सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालको आयोजना र झापा जिल्ला फुटबल संघको प्राविद्यिक सहयोगमा सञ्चालन भएको प्रतियोगिताको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेले उद्घाटन गरेका थिए ।
प्रतियोगिता मूल आयोजक समितिका संयोजक एवम् प्रतिष्ठानका सदस्य वृख प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत सुखानी शहीद स्मृति उद्यानका अध्यक्ष टंक बरालले र कार्यक्रमको सञ्चालन व्यवस्थापक पुष्पलाल तिवारीले गरेका थिए ।

झापा अर्जुनधारा–९ स्थित नमूना खेलमैदानमा भएको उद्घाटन खेलमा इलाम जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै कनकाई नगर खेलकुद विकास समिति झापा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कनकाईको जीतका लागि खेल सुरु भएको १३औँ मिनेटमा कुसुम खतिवडाले र दोस्रो हाफको २७औं मिनेटमा ममता राउतले १–१ गोल गरेका थिए । खेलको वुमन अफ दी म्याच घोषित कुसुम खतिवडालाई प्रतिष्ठानका उपाध्यक्षद्धय अर्जुन राई र टंक भट्टराईले नगद ३ हजारसहित ट्रफी प्रदान गरेका थिए ।
बिहीबारको खेल पाँचथर जिल्ला फुटबल संघ र पारिजात महिला फुटबल क्लब झापाबीच हुने बताइएको छ ।


























