झापा ।

सञ्चारविज्ञ तथा मिडिया शोधकर्ता लक्ष्मणदत्त पन्तले इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स अवार्ड पाएका छन्। भारतको बेंग्लोरमा आयोजित १४ औं ग्लोबल कम्युनिकेसन कनक्लेभमा पब्लिक रिलेसन काउन्सिल अफइन्डियाले शुक्रबार पन्तलाई सो अवार्ड प्रदान गरेको हो।
विश्वभरीबाट भेलाभएका सञ्चारकर्मी, जनसम्पर्क तथा मिडियाविज्ञहरुको उपस्थितीमा प्रदान गरिएको उक्त अवार्ड अन्तराष्ट्रियसञ्चार क्षेत्रको उत्कृष्ट अवार्ड मानिन्छ।
पन्तले सञ्चार, मिडिया विकास तथा अनुसन्धानका क्षेत्रमा अन्तराष्ट्रिय रुपमा पुर्याएको योगदानका लागि काउन्सिलले उक्त अवार्ड दिएको हो।
बैतडीको दशरथचन्द नगरपालिका नागार्जुनमा जन्मेका पन्त विगत दुईदशक भन्दा बढी समय देखि पत्रकारिता, मिडिया विकास र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा काम गरिरहेका छन्। करिब एकदर्जन पुस्तकका लेखक, नेपाल, भारत, चीन, मलेशिया, श्रीलंका, बंगलादेश र फिनल्याण्डका विश्वविद्यालयहरुमा पत्रकारिता शिक्षण र सोधमा संलग्न पन्तका अन्तराष्ट्रिय जर्नलहरुमा मिडिया सम्बधी शोधमूलक लेखहरु समेत प्रकाशित भएका छन्।
पन्त विश्वप्रसिद्ध एकेडेमिक प्रकाशन गृह आइजीआई ग्लोबलको मिडिया सिरिज पुस्तकहरुको सल्लाहकार सम्पादक समेत हुन्। मानव अधिकार क्षेत्र तथा संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा एकदशक सञ्चारविज्ञ तथा सल्लाहकारका रुपमा सेवा प्रदान गरिसकेका पन्त हाल मिडिया एक्सन नेपालका अध्यक्ष एवं टिभीटुडेका वरिष्ठ सम्वाददाता हुन्। ११वर्ष अघिदेखि विश्वव्यापी रुपमा प्रदान गरिंदै आएको उक्त अवार्ड पाउने पन्त पहिलो नेपाली हुन्।































