एसईईः अभिभावक–विद्यार्थीको दायित्व

0
834

पूर्णबहादुर कटुवाल,

हरेक वर्ष कक्षा १० को अन्त्यमा सञ्चालन हुने राष्ट्रियस्तरको परीक्षा (माध्यमिक शिक्षा परीक्षा कक्षा(१०) यस वर्ष विहीवारबाट शुरु हुँदैछ । विगतमा एसएलसी परीक्षाको नामबाट सञ्चालन हुँदै आएको सो परीक्षा नयाँ शैक्षिक संरचना अनुसार ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशन हुने र प्रादेशिकस्तरबाट परीक्षा सञ्चालन हुने गरेको छ । नतिजा प्रकाशन र परीक्षा सञ्चालनको जिम्मेवारीमा परिवर्तन भए पनि कक्षा १०को अन्त्यमा लिइने माध्यमिक तहको परीक्षाको स्तर र महत्वमा कुनै कमी आएको छैन । फरक यति मात्र हो कि विगतमा एसएलसी परीक्षालाई फलामे ढोकाको संज्ञा दिइ गलत अफवाह पैmलाई परीक्षार्थी र आम अभिभावकमा मनोवैज्ञानिक त्रास सिर्जना गरिन्थ्यो ।

तर, परीक्षा नियमित प्रक्रिया हो र विद्यार्थीले कति ज्ञान आर्जन गरे भन्ने मापन गर्नको लागि लिइने परीक्षालाई समान्य, सहज र नियमित प्रकृयाका रुपमा वुझ्न पछिल्लो परीक्षा प्रणालीले मद्दत गरेको छ । हाम्रो वुझाइ पनि परीक्षालाई डरलाग्दो रुपमा नलिनु भन्ने सन्देश नै अहिले परीक्षा प्रणालीले दिएको छ ।

जनपरीक्षाको नतिजा प्रकाशनलाई अंकको सट्टा अक्षर प्रणालीमा लगिएको छ, विद्यार्थी र अभिभावकको बुझाई र जिम्मेवारी केही शिथिलता देखिएको छ । परीक्षाको ओज र महत्व घटेको छैन किनकी ज्ञान मापन गर्ने आधार मात्र फरक भएको छ । तर, अहिले कक्षा १० को परीक्षा र नतिजा प्रकाशनको नयाँ व्यवस्थालाई सहज मात्र बुझ्नु पर्नेमा विद्यार्थी र अभिभावकको वुझाई यतिमा मात्र सीमित देखिएन । एसईई उत्तीर्ण गर्न मेहनत साथ अध्ययन अध्यापन नै नगरे पनि हुने भन्ने एक किसिमको गलत मानसिकता पनि विकसित भएको देखिएको छ । पढ्न शुरु गरेपछि फेल नै नहुने भएकोले मेहनत नै गर्नुपर्दैन भन्ने गलत सोचको विकास भएको छ । विद्यार्थी र अभिभावकले यतिसम्म पनि लिने गरेको पाइन्छ कि कक्षा १० मा सेन्टअफ परीक्षा नै नहुने, विद्यालयहरुले लिने परीक्षामा फेल नै नहुने, एसईईको रिजल्टमा प्रथम प्रथम, द्वितीय वा तृतीय श्रेणी नै नहुने, परीक्षामा सामेल हुने बित्तिकै निश्चित समयपछि माथिल्लो कक्षामा पढ्न पाइने भन्ने जस्ता गलत सोचाइको विकास भएको छ । यो गलत सोचाइ र बुझाईले समग्र शिक्षा प्रणाली नै कमजोर हुने संकेत देखिएको छ ।

विषयवस्तुको अध्ययन र ज्ञान आर्जन केवल परीक्षा र नतिजासंँग मात्र जोड्नु हुँदैन । हामी यही जोडाइमा रहन थाल्यौं । फलतः परीक्षा प्रणालीमा ल्याइएको सहज वातावरणलाई एउटा विद्यार्थीको सिङ्गो भविष्य र जीवनसँग जोड्न थालेर गल्ती पनि गर्न शुरु गरेका छौं । वास्तवमा कुनै पनि परीक्षा परीक्षार्थी फेल वा पास हुँदैन, विद्यार्थीको समूहमा अर्थात् तोकिएको श्रेणीभित्र समान ज्ञान भएकाहरुलाई एक ठाउँमा राखिन्छ । अहिले धेरैजसो अभिभावक विद्यार्थीको सोचाइ विद्यालय जाने र शैक्षिक सत्र मात्र पूरा गर्ने भन्ने देखिएको छ ।

यही गलत सोचाइका कारण दुई तीन वर्ष यता माथिल्लो कक्षा अर्थात् कक्षा ११÷१२ मा विद्यार्थी भर्नाको स्थितिमा परिवर्तन आएको छ । विषयगत जीपीए र ग्रेड कमजोर हुने विद्यार्थीहरु माथिल्लो कक्षामा आफूले सोचेको र चाहेजस्तो विषय अध्ययन गर्न पाइरहेका छैनन् । प्राविधिक विषय अध्ययन गर्न इच्छा राख्ने विद्यार्थी नै कक्षा १० को परीक्षामा कमजोर जीपीए प्राप्त गरेकोले यस्तो अवस्था सिर्जना भएको हो । माथिल्लो तहमा गणित, अंग्रेजी, विज्ञान वा व्यवस्थापन समूहका विषय अध्ययन गर्ने चाहना विद्यार्थीहरु नै तल्लो स्तरममा कमजोर जीपीए प्राप्त गरेका कारण पछाडि परिरहेका छन् । विद्यार्थी र कतिपय बुझ्ने अभिभावकहरुले नै कक्षा १० सम्मको पठनपाठनमा गलत सोचको कारण विद्यार्थीको भविष्य नै उनीहरुको सोच विपरीत देखिएको छ ।

विद्यालयहरुमा कुनै पनि विद्यार्थीले त्यही मोडलको पाठ्यक्रमको आधारमा अध्ययन गरेको हुन्छ । शिक्षकले पनि त्यही पाठ्यक्रमकै आधारमा अध्यापन गरेको हुन्छ । सिकाइ व्यवहारिक, वैज्ञानिक र सहज बनाउनु शिक्षण सिकाइको मूल उद्देश्य पनि हो । तर, सिकाइलाई कमजोर बनाउने अभिप्राय परिवर्तित कुनै शैक्षणिक गतिविधिको हँुदैन र होइन पनि ।
अभिभावकहरुले आफ्ना छोराछोरीप्रति सकारात्मक सोचाइ वृद्धि गर्नुपर्छ । अध्ययन अध्यापनमा आफ्नो छोराछोरीप्रति बढी नै जिम्मेवार हुन आवश्यक छ । अहिलेको अभिभावकको पुस्ता भनेको सकारात्मक र बढी सुझवुझ राख्ने पुस्ता हो । आफ्ना बालबच्चाले नतिजाको विषयलाई लिएर अध्ययन कार्यलाई कमजोर बनाउन कोशिस गरे भने अभिभावकले त्यसलाई गम्भीर रुपमा सोच्नैपर्छ । यो प्रतिष्पर्धात्मक युग हो । प्रतिष्पर्धा नगरी कुनै पनि व्यक्तिले भावी जीवनलाई सक्षम र सवल बनाउन सम्भव छैन । किताबी ज्ञान, पास, फेल एउटा पाटो हो भने जीवनको करियर बनाउने अर्कै पाटो हो । तसर्थ, प्रतिष्पर्धी मानवसाधन उत्पादन गर्न नतिजाको जोडघटाउलाई मात्र बुझ्न हुँदैन । केवल सक्षम व्यक्ति मात्र भावी दिनमा सफल जीवन निर्माण गर्न सक्छ । यो सफल जीवन निर्माण गर्न अभिभावकको गहन दायित्व भएकोले जिम्मेवारी वहन गर्नुपर्छ ।

कक्षा १० सम्म अध्ययन गरिसकेपछि विद्यार्थीले पनि आफ्नो भविश्यको वारेमा सकारात्मक सोचको वानीको विकास गर्नुपर्ने हुन्छ । एसईई परीक्षामा सामेल हुँदैमा कक्षा ११मा अध्ययन गर्नु मात्र होइन । त्यो तहमा पनि आफूले सोचेजस्तो विषय अध्ययन गर्न पाउनु पनि हो । हो, नतिजा मा त पास वा फेल को कुरा भएन तर दीर्घकालीन प्रभाव भनेको सफल जीवनको सवाल पनि हो । तसर्थ, उच्च जीपीए को अपेक्षा विद्यार्थीले राख्नुपर्छ । यो अपेक्षाको लागि पनि गहन अध्ययनको जरुरी पर्छ । गहन अध्ययनले ज्ञान अभिवृद्धि गर्छ यो ज्ञान अभिवृद्धि गरी प्रतिष्पर्धी व्यक्तित्वको विकास गर्नु अवसर हो– एसईईको यो सहज वातावरण । फलामे ढोकाको पुरातन मान्यतालाई तोडेर सहज वातावरणमा असल नागरिक वन्ने सुनौलो अवसरलाई हरेक विद्यार्थीले आत्मसात गर्नुपर्छ ।

अहिलेको पठनपाठन, अतिरिक्त कृयाकलापका अवसरहरु, परीक्षाको प्रणाली, नतिजा व्यवस्थापन आदी सवै इकाइहरु विद्यार्थीलाई सहज मनोवैज्ञानिक वातावरणमा सक्षम नागरिक बनाउने आधारहरु हुन् । यी आधारहरुलाई हरेक विद्यार्थीले सहज र सकारात्मक रुपमा ग्रहण गर्दै आफ्नो पठनपाठन कार्यलाई व्यवहारिक, प्रतिष्पर्धी र जीवनोपयोगी वनाउन कोशिस गर्नुपर्छ । ज्ञान आर्जन गर्ने चरणमा विद्यार्थी रहेको अवस्थामा नतिजा विश्लेषणको जरुरत पर्दैन । आम विद्यार्थीले आफू सक्षम र सफलताको सिंढीमा उक्लनको लागि एसईई मात्र नभई हरेक परीक्षामा आफूलाई एउटा कुशल यात्रुको रुपमा लिन सक्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here