स्वास्थ्य बिमा विश्वासयोग्य बनोस्

0
1059

सम्पादकीय

स्वास्थ्य मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो । स्वस्थ रहेको खण्डमा मात्रै मानिसले परिश्रम गर्न सक्छ । शारीरिक वा मानसिक कुनै पनि श्रम गर्न स्वस्थ शरीर आवश्यक छ । यसैले गर्दा मानिस सक्रिय हुन्छ र आय–आर्जनको बाटो सुनिश्चित हुन्छ । पछिल्लो समय स्वास्थ्य प्रदायक संस्थाहरु खुल्ने क्रम बढेसँगै आम जनताको स्वास्थ्य सेवाको पहुँच पनि बढेको छ । सामान्य उपचारका लागि ठूला शहर र भारतका विभिन्न उपचार केन्द्रमा पुग्नु पर्ने अनिवार्यतालाई अहिले नेपालमै सञ्चालन भएका स्वास्थ्य केन्द्र, अस्पतालहरुले केही हदसम्म कम गरेका छन् । झापा जिल्ला स्वास्थ र शिक्षाका लागि समृद्ध जिल्ला भइसकेको छ । त्यसमा पनि बिर्तामोड यी दुबै सेवासुविधाको केन्द्र नै बनिएको छ ।

मानिसको अत्यावश्यक आवश्यकता भएको स्वास्थ्य सेवा प्रदायक संस्थाहरु तुलनात्मक रुपमा सुविधासम्पन्न छन् । अझ जटिल प्रकारका रोगहरुको उपचार पनि यतै हुन थालेपछि अकालमा मृत्युवरण गर्नुपर्ने बाध्यता पनि टर्दै गएको छ । तर, त्यसका लागि गर्नुपर्ने खर्च भने आम मानिसको क्षमताभन्दा टाढाको छ । यस्तोमा राज्यका तर्फबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेर थोरै भए पनि राहत दिने प्रयास भएको छ । सरकार जनताको संरक्षक भएका कारण जनताको जिउ–धनको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य नै हो । त्यही कर्तव्य निर्वाह गर्ने क्रममा सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । जसले सर्वसाधारणलाई तत्काल उपचार पाउने अवस्थामा पु¥याएको छ ।

निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले ल्याइएको छ । सरकारको यो कार्यक्रम झापामा प्रभावकारी भएको बिमा क्षेत्रको जिम्मेवारी लिएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । बोर्डकी झापा शाखा प्रमुख लक्ष्मी कँडेलले झापामा यो कार्यक्रम प्रभावकारी भएको दावी गरेकी छन् । उनले झापामा बिमा गराउनेहरुमध्ये महिलाको संख्या धेरै रहेको समेत बताएकी छन् । यो तथ्यांकले महिलामा स्वास्थ्यप्रतिको सजगता र चेतनाबृद्धि भएको देखाउँछ । बोर्डले स्वास्थ्य बिमा गराउनेमध्ये दमक नगरपालिका पहिलो र बिर्तामोड दोस्रो रहेको जनाएको छ । यसले स्वास्थ्य सम्बन्धी चेतना जाग्रत भएको देखाउँछ तर ती संस्थाहरुले दिने सेवाको गुणस्तरीयता र विश्वसनीयताको मूल्यांकन पनि गरिनुपर्दछ ।

अहिले झापाका केही सरकारी र धेरै निजी अस्पतालहरुले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा प्रदान गरिरहेका छन् । कतै बिरामीको चाप बढी हुन जाँदा तिनले प्रवाह गर्ने सेवाको गुणस्तरमा कमी हुने हो कि आशंका पनि गर्न थालिएको छ । सरकारी अस्पतालले विरामीलाई सोझै निजी अस्पताल पठाउँदा विरामीको चाप बढेको निजी अस्पतालहरुको गुनासो आउन थालेको छ । सरकारले सञ्चालन गरेको अस्पतालले विश्वासयोग्य र गुणस्तरीय सेवाको प्रत्याभूति गराउनुपर्दछ । बिमा कार्यक्रमका विरामीहरुलाई परीक्षण मात्रै गराएर सेवा प्रवाह गरेको ठहरिन्न । कथम्कदाचित विरामीको आशा–निराशामा बदलियो भने अथवा विश्वास–अविश्वास बनियो भने सरकारको अभियान ‘झारा टार्ने’ हुनसक्छ, जो कसैका लागि पनि हितकर हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here