प्रकोप नियन्त्रणका लागि सतर्कता बढाउन आग्रह

0
543

काँकरभिट्टा ।

कोरोनाको बढ्दो प्रकोप नियन्त्रणका लागि सतर्कता बढाउन आग्रह गर्दै नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले जिल्ला प्रशासन कार्यालय र भारतसँग सीमानाका जोडिएका केही गाउँ/नगरपालिकामा सतर्कता पत्र बुझाएको छ ।

कांग्रेस केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभागको निर्देशन बमोजिम जिल्लास्थित सूचना सञ्चार तथा प्रचार विभागले झापाका प्रमुख जिल्ला अधिकारी र मेचीनगर नगरपालिकाका प्रमुखलाई सतर्कता पत्र बुझाएको हो ।
नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापामा पुगेको प्रचार विभाग सदस्यहरु र नेपाली कांग्रेसका कार्यकर्ताहरुको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानालाई सतर्कता पत्र बुझाएको हो ।

प्रचार विभाग सचिव राजेन्द्र गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेस झापाका सदस्यहरु विजय रिजाल, लता चापागाई, तोया गड्तौला, क्षेत्रीय सभापति गणेश पोखरेल, प्रदेश क्षेत्रीय सभापति नविन विमली, महिला संघ ३ नं क्षेत्रीय सभापति शर्मिला अधिकारी, नेपाल प्रेस यु्नियन झापा अध्यक्ष इन्दु पूर्वेली, भद्रपुर नगर उपसभापति ज्ञानु चौहान लगायत क्षेत्र तथा भातृ संस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी उदयवहादुर राना मगरले सिमाना जोडिएका कारण अन्य जिल्लाको तुलनामा झापामा बढी सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै कोरोना संक्रमणको जोखिमबाट बच्न मेचीनगर चेकपोस्ट स्थापना गरिएको, झापा÷गौरीगञ्ज गाउँपालिका, भद्रपुर विमानस्थल लगायतका सात स्थानमा हेल्पडेक्स राखिएको, झापाको कलबलगुरीस्थित प्रशिक्षण केन्द्रमा ३२ सिट क्षमताको क्वारेन्टाइन स्थापनाको तयारी भइरहेको, आइसोलेशनका लागि मेचीनगर र अर्जुनधारा नगरपालिकामा प्रयास थालिएको जानकारी दिदै सरकारसँगै हातेमालो गरेर कोरोना जोखिम न्युनिकरणका लागि संगठित हुन आह्वान गर्नुभयो ।

यसैबीच प्रचार विभाग प्रमुख हुमागाईको नेतृत्वमा रहेको सो टोलीले मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य र उपप्रमुख मिना उप्रेतीलाई पनि संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा संविधानसभा सदस्य उषा गुरुङ, नेपाली कांग्रेस जिल्ला सदस्यहरु पुष्पराज पौडेल, टेकबहादुर लिम्बू, तेजप्रसाद चम्लागाई, क्षेत्रीय सभापति मणि उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

सतर्कता पत्र बुझ्दै मेचीनगर नगरपालिकाका मेयर आचार्यले आइसोलेसनका लागि घर तयारी अवस्थामा राखिएको, सीमानाकामा गर्नुपर्ने आवश्यक पूर्व तयारी गरिएको, सचेतनाका लागि हेण्डविल, पोष्टर, माइकिङलाई तीब्र बनाइएको र दुइदिनभित्रमा क्वारेन्टाइन तयारी अवस्थामा राखिने जानकारी दिनुभयो ।

केन्द्रीय विभागीय प्रमुख विश्वप्रकाश शर्मा र झापा प्रमुख कृष्ण हुमागाईद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा आपतकालीन अवस्थामा बाहेक सीमानाका बन्द गर्न, आपतकालीन अवस्थामा हुने आवागमनमा स्वास्थ्य परिक्षण गर्न, परिक्षणमा खटिने स्वास्थ्यकर्मीहरुलाई विशेष सुविधा र प्रोत्साहन गर्न, मेची अञ्चल अस्पताल, निजी तथा सरकारी र स्वास्थ्य केन्द्रलाई जोखिम समनाका लागि तयार राख्दै जिल्लास्तरीय समन्वय संयन्त्र निर्माण गरी आइसोलेशन वार्ड बनाउन आग्रह गरिएको छ ।

पन्ध्रवटै गाउँ÷नगरमा क्वारेन्टाइन स्थापना, सतर्कताका लागि सूचना सम्प्रेषण, सुपथ मूल्यमा मास्कको प्रवन्ध गर्न आग्रह गर्दै सतर्कता पत्रमा बजारमा बढेको कालोवजारी नियन्त्रण, नियमित बजार अनुगमन, जोखिम सामनाका लागि सरकारको रणनीति आत्मसात गर्दै राजनीतिक आग्रह–पूर्वाग्रहबाट माथि उठेर कोरोनाको जोखिम सामनाका लागि संगठित हुन आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here