देशकै नमूना सहकारी झापामा

0
1814

सुरेन्द्र भण्डारी / बिर्तामोड।

झापामा सञ्चालित केही सहकारी संस्था देशमै नमूना सहकारी संस्थाका रुपमा स्थापित भएका छन् । महिलाको एकल स्वामित्वमा खुलेका सहकारी संस्थाले पनि देशमै उदाहरणीय काम गर्दै आएको छ ।

जिल्ला सहकारी संघ झापाको तथ्याङ्क अनुसार झापामा ९ सय १४ वटा सहकारी संस्था दर्ता भएका छन् । सहकारीमा अहिले ३ लाख ९९ हजार सात सय ७४ शेयर सदस्य रहेको जिल्ला सहकारी संघ झापाको तथ्याङ्कमा उल्लेख छ ।

झण्डै ४५ अर्ब रुपैयाँमाथि कारोवार गर्दै आएका सहकारीमध्ये सहारा नेपाल सहकारी संस्था एसियामै सबैभन्दा धेरै सदस्य भएको सहकारी रहेको जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालले जानकारी दिए । जसका कारण एसियाली ऋण महासंघ ‘एक्यू’ले सहारा नेपाल सहकारी संस्थालाई यस अघि क्वीमी अवार्ड प्रदान गरेको ढकालको भनाइ छ ।

वित्तीय कारोवारका हिसावले समेत देशकै दोस्रो ठूलो सहकारी संस्था पनि झापामै रहेको सचिव ढकालले बताए । उनका अनुसार सहारा नेपाल र नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) देशकै कारोवारका हिसावले दोस्रो ठूला सहकारी हुन् ।

झण्डै चार हजारलाई प्रत्यक्ष रोजगारी दिएका सहकारीले अप्रत्यक्ष रुपमा लाखौंलाई रोजगारी दिएको छ । तिनमा १५ हजार स्वयम्सेवी सदस्य रहेको सचिव ढकालको भनाइ छ ।

झापामा देशमै उदाहरणीय काम गर्ने दर्जनौं सहकारी रहेको बताइन्छ । जसमध्ये गौरादह नगरपालिकामा रहेको महारानीझोडा साना किसान कृषि सहकारी संस्था लिमिटेड १३० बिगाह क्षेत्रफलमा सामुहिक खेती गरेर देशकै उदाहरणीय सहकारी संस्थाका रुपमा चिनिएको छ । गौरादह–५स्थित महारानी झोडा कृषि सहकारी संस्थाले धान, गहुँ, मकै, कोदोलगायत मौसम अनुसार सहकारी खेती गर्दै आएको छ ।

त्यस्तै बिज प्रशोधन केन्द्र, अग्र्यानिक मल, मकैको हाइब्रिड, दूध संकलन केन्द्र, पशु बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । संस्थाका कार्यकारी प्रमुख चिरञ्जीवी भण्डारीले कृषिमा मात्रै संस्थागत लगानी ६ करोड रहेको बताए । सदस्यको सहभागितामा कृषिका विविध कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

महारानीझोडा साना किसान कृषि सहकारीमा एक हजार नौ सय ७९ जना महिला मात्रै सदस्य छन् । उक्त संस्थाले ४६ करोडको कारोबार गर्दै आएको छ । ‘कृषिलाई प्रविधि र बजारसँग जोड्न हामीले अभियान चलाएका छौं’– उनले भने । सहकारी खेतीमा जग्गा मिसाउने सदस्यले निश्चित पैसा पाउँछन् । उत्पादनको केही हिस्सा पनि उनीहरूले पाउँछन् । उक्त जग्गामा श्रम गरेमा श्रमको पनि पैसा पाउने व्यवस्था छ । संस्थाका कार्यकारी प्रमुख भण्डारीले जग्गा नभएका सदस्यलाई पनि भूमि व्यवस्थापन गरेर कृषि उत्पादनमा प्रेरित गर्ने अभियान शुरु गरेको बताए । वि.सं. २०५५ मा साना किसान विकास आयोजनाको नाममा प्रारम्भ गरेको सहकारी संस्था वि.सं. २०५९ मा मात्र सहकारीमा दर्ता भएर महारानीझोडा साना किसान सहकारी भएको थियो ।

यता सतासी महिला मौरीपालन सहकारी संस्थाका व्यवस्थापक देवी दाहालले वर्षमा ६० हजार केजी मह उत्पादन गर्दै आएको बताइन् ।

पाँच सय २३ सदस्यमध्ये एक सय ५० सदस्यले मौरी पाल्छन् । सबै सदस्यसँग गरी ३ हजार गोला मौरी छन् । व्यवस्थापक दाहालले सदस्यलाई धरौटीमा मौरी पाल्न लगाउने गरेको बताइन् । ‘माहुरी बिस्तार गरी उत्पादन बढाउन हामी धरौटीमा गोला दिन्छौं’– उनले भनिन् ।

त्यस्तै झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले पछिल्लो समय ५० करोडभन्दा बढीको लगानीमा ‘नमूना कृषि परियोजना’ शुरु गरेको छ ।

आउँदो पाँच वर्षभित्रको लक्ष्य राखेर सहकारीले परियोजना शुरु गरेको हो । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग साझेदारीमा कृषि क्षेत्रसँग सम्बन्धित जानकारीका लागि प्रयोगात्मक तालिम समेत दिने उद्देश्यले परियोजना सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

गत वर्षदेखि शुरु भएको परियोजनामा हालसम्म साढे १० करोड लगानी भएको छ । ‘माछा, फलफूल, गाई, बाख्रा पालन, तरकारीलगायत कृषिका सबै क्षेत्रको विकासका लागि लाइभ ट्रेनिङ सञ्चालन गर्नेे योजना रहेको उप्रेतीले बताए । सहकारीले उक्त परियोजनाका लागि १६ बिगाह जग्गा खरिद गरिसकेको छ । आसपासको जग्गा खरिद गर्ने योजना अघि सारेको बताइएको छ ।

सहकारीले डेरी उद्योग समेत सञ्चालन गरेको छ । डेरीमा १५ करोड लगानी रहेको सहकारीमा अध्यक्ष रामचन्द्र उप्रेतीको भनाइ छ । चार हजार किसानले उक्त डेरीमा प्रत्यक्ष रूपमा दूध बिक्री गर्दै आएका छन् । डेरीमा दैनिक १२÷१३ हजार लिटर दूध आउने गरेको उप्रेतीले बताए । दूधको कारोबार गर्ने किसानले संरक्षित पुँजी कोषमार्फत कारोबारका आधारमा थप पैसा समेत पाउने गरेका छन् ।

गत वर्षदेखि डेरीतर्फ किसानले वर्षभरीमा दूध र पैसाको अनुपातको आधारमा जोडेर भाग गरी संरक्षित पुँजी कोषको रकम फिर्ता गर्न शुरु गरिएको कार्यकारी प्रमुख उप्रेतीले जानकारी दिए । डेरीले उत्पादन गरेको दूध तथा दूधजन्य वस्तु झापा, मोरङ, सुनसरीमा बिक्री हुँदै आएको छ ।

अध्यक्ष उप्रेतीका अनुसार सहकारी सुपथ पसल सञ्चालन गर्दै आएको बताए । अध्यक्ष उप्रेतीले यो वर्ष पाँचवटा सहकारी पसलको सञ्चालन प्रक्रिया अघि बढेको र आउँदो पाँच वर्षभित्र ५० वटा पसल पु¥याउने लक्ष्य लिएको जानकारी दिए ।
त्यस्तै विराट–अर्जुन उपभोक्ता सहकारी संस्था र सताक्षी बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ उपभोक्ता पसल सञ्चालन गरेको छ । पूर्वार्ध कृषि सहकारी संस्थाले डेरी, मेची कृषक बहुउद्देश्यीय सहकारी सस्थाले पोष्ट हार्वेट सेवा केन्द्र सञ्चालन गरेको छ ।

जहाँ वीऊ विजन समेत पाइन्छ । त्यस्तै शुभ चिया, हल्दिवारी साना किसान पृथ्वीनगरले चिया मिल सञ्चालन गरेका छन् भने वाह्रदशी गाउँपालिकाको वडा नम्वर–७ डाँगीवारी रहेको जुनतारा महिला कृषि सहकारी संस्थाले तोरीको तेल र मसलाजन्य सामग्री उत्पादन गर्दै आएको छ । यता श्रीकृष्ण सुपारी सहकारी संस्थाले सुपारी उत्पादन तथा प्रशोधन, मेची सहकारी संस्था दमकले आवास परियोजना सञ्चालन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here