तुलसीप्रसाद निरौला / विर्तामोड ।

तपाईं आफूले प्रयोग गरेको प्लास्टिकका बोतल, बट्टा र भाडाहरु प्रयोग गरेपछि के गर्नुहुन्छ ? त्यसै मिल्काइदिनुहुन्छ होला , होइन । तर , झापा अर्जुनधाराका सामाजिक अभियान्ता तथा गायक गणेश ढुङ्गाना भने मानिसले प्रयोग गरेर मिल्काएका प्लास्टिकका बोतल, बट्टा र भाडाहरु संकलन गरेर अनाथआश्रम वनाउन लागीपरेका छन् ।
अर्जुनधारा वडा नं ११ बुट्टाबारी बजार स्टाफ चोक निवासी ढुङ्गानाले गत असोज २५ गतेदेखि मानिसले प्रयोग गरेर मिल्काएका प्लास्टिकका बोतल, बट्टा , भाडा , प्लास्टिकका झोला , अस्पतालजन्य प्लास्टिकका सामग्री संकलन गर्न शुरु गरेको बताए ।
हरेक दिन बिहान ५ बजे घरबाट निस्किएर ९ वजेसम्म प्लास्टिकका बोतल, बट्टा र भाडा , प्लास्टिकका झोला , अस्पतालजन्य प्लास्टिकका सामग्री बटुल्ने र ती सामग्री आफ्नै घरको आँगनमा थुपार्ने गरेको ढुङ्गानाले बताए ।
एक्लै हरेक दिन प्लास्टिक खोज्दै आफ्नो घर र दोकान सामुन्ने फोहोर ढलमा हात घुसारेर प्लास्टिक बटुलेको देख्दा सुरुसुरुमा स्थानीयले आफूलाई पागलको संज्ञा दिएपनि अहिले आफ्नो उद्देश्य र अभियानबारेमा विस्तारै सबैलाई बुझाएपछि उनीहरुले प्रशंसक बनेर अभियानमा साथ दिने प्रतिवद्धदा समेत जनाएको ढुङ्गानाले बताए ।
प्लास्टिकका सामग्री संकलन गर्दा एकातिर शहर बजार सफा भएको छ भने अर्कातिर ती सामग्री विक्री गरेर मनग्य आम्दानी समेत गर्न सकिने उनको भनाइ छ । सामाजिक कार्यमा सक्रिय ढुङ्गानाले अर्जुनधारा–६ मा चन्दा मागेर दुर्गा मन्दिर निर्माण गरेको , अर्जुनधारा–६ मै रहेको अपांग वाल शिक्षा सरोकार केन्द्रमा आश्रित अशक्त र असहाय वालवालिकाका लागि भरणपोषणको सामग्री जुटाइरहेको बताए ।
पर्यटन प्रवर्धनका लागि झापादेखि ताप्लेजुङको पाथिभरा देवीको मन्दिरसम्म पैदल यात्रागरेका ढुङ्गानाले आफ्नै स्वर, सङ्गीत र शब्दमा भूकम्पले बासै उठायो र पाउँपाथिभरा उत्तरगङ्गा बोलका दुई गीतिएल्बम बजारमा ल्याएको जानकारी दिए ।
तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेना नेपालको प्रथम डिभिजनको एफ कम्पनीमा लडाकु समेत रहेका ढुङ्गानाले शान्ति प्रक्रिया अनुसार सेना समायोजन क्रममा आफुले पाउने सुविधा सबै शहिद परिवारको कोषमा जम्मा गरेर रित्तो हात घर फर्किएको बताए ।
अर्जुनधारा , विर्तामोड , काँकरभिट्टा, सुरुङ्गा भद्रपुर लगायतका क्षेत्रमा गएर ती सामग्री संकलन गर्ने गरिएको र ती सामग्री विक्रीवाट आएको रकमले अनाथआश्रम निर्माण गर्ने लक्ष्य लिएको उनले बताए ।
अनाथआश्रम निर्माण गर्न अन्य खर्च जुटाउनका लागी अनाथआश्रम निर्माण कोष स्थापना गरेर अनाथआश्रम निर्माणको तयारी थाल्ने उनले वताए । यसैवीच उनले संकलन गरेको प्लास्टिकका सामग्री विक्रीबाट संकलित १० हजार रुपैयाँ एक कार्यक्रमका वीच शुक्रवार हस्तान्तरण गरेका छन् ।
ढुङ्गानाले उक्त रकम नेपाल आदिवासी जनजाती महासंघ अर्जुनधाराका अध्यक्ष जगत रानामगर , बुट्टाबारी व्यवसायी संघका अध्यक्ष डिल्ली चापागाईं, सालवारी मिलडाँडा युवा परिवारका अध्यक्ष किरण जवेगूलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना , अर्जुनधारा ८ का वडासदस्य सेवन्त ढकाल , अर्जुनधारा ११ का वडासदस्य मोहनकुमार योगी , पाउ पाथीभरा उत्तरगंगा मन्दिर समितिका सचिव यामनाथ बराल , समाजसेवी रामकुमार कन्दङ्वा , गायक हस्त परियार , मातृका संग्रौला लगायतले ढुङ्गानाले शुरु गरेको सरसफाई अभियानको प्रसंशा गर्दै अनाथआश्रम निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै अर्जुनधारा १० का वडाध्यक्ष वलदेव गोम्देन , विर्तामोड–६ का वडाध्यक्ष सूर्य कन्दङ्वा , जुनकिरी सार्वजनिक आधारभूत विद्यालयका प्रधानाध्यापक रञ्जित परियार , विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीलगायलले समेत ढुङ्गानाले शुरु गरेको सरसफाई अभियानको प्रसंशा गर्दै अनाथआश्रम निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । उनले अनाथआश्रम निर्माणमा सहयोग गर्न सवैलाई आग्रह समेत गरेका छन् ।





























