बिर्तामोड ।

सरकारले शुक्रबार देखि कैदीबन्दीलाई भेट गर्न पूर्णरूपमा बन्द गरेको छ। कैदीबन्दीलाई यसअघि आफन्त र वकिलले भेटघाट गर्दै आएका थिए।
कोरोना भाइसरको संक्रमण फैलन नदिन भेटघाटको कार्यक्रम बन्द गरिएको प्रहरीले जनाएको छ । शुक्रबारदेखि लागू हुनेगरी कैदीबन्दीलाई कसैले पनि भेट्न नपाउने कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए।
देशभरका कारागारमा २५ हजार १ सय ३७ जना कैदी रहेको सापकोटाले बताए । सबै कारागारहरूमा विभागले परिपत्र गरेर यसबारे जानकारी गराएको छ। कारागारभित्रै रहेका कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत कैदीबन्दीसँग केही दूरीमा रहन भनिएको छ।
यसैबीच इलाका प्रहरी कार्यालय अनरमनीले शनिबारबाट इलाकमा रहेका थुनुवाहरुलाई भेट्न नदिने भएको छ । कोरोना भाइसले विश्वका विभिन्न मुलुकमा महामारीको रुप लिइरहेका बेला पूर्व सावधानी आप्नाउदैं थुनुवा भेटघाटमा रोक लगाइएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
प्रहरीले अनारमनी प्रहरी कार्यालयमा आउने सबैलाई अनिर्वाय मास्क प्रयोग गर्न तथा साबुन पानीले हात धुन आग्रह गर्दै आएको छ ।





























