बिर्तामोड ।

मेची पेट्रोलियम डिलर्स एशोसिएसन झापाले पेट्रोलियम पदार्थ अभाव हुने गलत हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।
कोरोना भाइरसका कारण सरकारले नाकाबन्द गर्ने र पेट्रोलियम पदार्थ अभाव हुने भन्दै उपभोक्ताहरुले अनावश्यक रुपमा पेट्रोलियम पदार्थ सञ्चित गर्न थालेपछि मेची पेट्रोलियम डिलर्स एशोसिएसन झापाका अध्यक्ष नविन कोइरालाले गलत हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
उनले मेचीका झापासहित इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा आवश्यक पर्ने सबै पेट्रोलियम पदार्थ पर्याप्त रहेको बताए । अध्यक्ष कोइरालाका अनुसार शुक्रबार राती मात्रै चार लाख लिटर डिजेल र दुई लाख लिटर पेट्रोल आयत भएको छ ।
पूर्वी नाका कांकरभिट्टाबाट निर्वाध रुपमा पेट्रोलियम पदार्थ आयत भइरहेका बेला गलत हल्लाको पछि नलाग्न उनले सबैलाई अनुरोध गरेका छन् ।
सरकारले अत्यावश्यक बाहेकका सेवा अन्य सेवा बन्द गर्न आग्रह गरेको भन्दै पेट्रोलियम पदार्थ अत्यावश्यक सेवामा पर्ने भएकाले उपभोक्तालाई गलत हल्लाको पछि नलाग्न अध्यक्ष कोइरालाले आग्रह गरे । उनले घरमा पेट्रोलियम पदार्थ भण्डारण गर्दा आगलागीको जोखिम बढ्ने तर्फ सजग हुन सुझाव दिएका छन् ।































